इतिहासबाट हामीले कहिले सिक्ने ?

मणि शर्मा
Read Time = 18 mins

प्रधानमन्त्री पुष्पकमल दाहालले इण्डियाको महाकालेश्वर हुँदै पशुपतिनाथ र अहिले कैलाश मानसरोवरको तीर्थयात्रा गरेका छन् । के उनले अन्तर्मनदेखि सनातन धर्ममाथि आफ्नो आस्था बढाउँदै लगेका हुन् वा सनातन धर्मावलम्बीको भोटलाई आकर्षण गर्न र मोदीलाई खुशी पार्न नाटक मञ्चन गरेका हुन् ? दाहालको छेपारे शैलीका कारण उनीमाथि विश्वास गर्ने ठाउँ छैन । उनकै पार्टीका दीनानाथ शर्मा शिक्षामन्त्री हुँदा शब्दकोषबाट ॐ र संयुक्त अक्षर हटाउने निर्णय भयो जसलाई प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा उप्रेतीलगायत पाठ्यक्रम विकास बोर्ड, त्रिभुवन विश्वविद्यालयलगायतले समर्थन गरे ।

दाहालको कैलाश मानसरोवर यात्रामा उनले ध्यान लगाएर कुनै ध्वनि सुने कि सुनेनन् ? सुरुमा सुन्दा हवाईजहाजको ध्वनि जस्तो सुनिने तर ध्यान दिए यो ध्वनि ॐ उच्चारण भएको सुनिन्छ । शिवजीले यो ब्रहृमाण्डको सृष्टि गर्नुभयो । उहाँबाट निस्केको ध्वनि ॐ तीन अक्षरले बनेको छ अ, उ र म । शिवजीले सृष्टि गर्दा ब्रहृमा, विष्णु र महेशको सृष्टि गर्नुभयो र यो अक्षर ती ब्रहृमा, विष्णु र महेशको प्रतीक हो । सनातन धर्मको जुनसुकै मन्त्र पढ्दा ॐ सबैभन्दा पहिला आउँछ । ॐ ले आत्माको अभिव्यक्तिको चार अवस्थालाई बुझाउँछ, जसलाई चतुष्पाद भनिन्छ ।

जाग्रत, स्वप्न, सुषुप्त र तुरिय । जाग्रत अवस्थाको आत्मालाई वैश्वानर भनिन्छ । यो ब्युँझिएको अवस्था हो जसमा केवल बाहृय संसारको अनुभूति हुन्छ । स्वप्न आत्माको तेजस हो जहाँ भौतिक संंसारभन्दा बाहिरको अनुभूति गर्न सकिन्छ, जहाँ मन प्रफुल्ल रहन्छ । सुषुप्त अवस्थालाई मनको प्राज्ञ भनिन्छ जसलाई प्रगाढ निद्राको रूपमा लिन सकिन्छ जहाँ इच्छा लोप हुन्छ र अन्तर्यामी ज्ञानको अनभूति हुन्छ । तुरीय अवस्था नै ॐ को अन्तिम स्वरूप हो, जहाँ शान्त तथा परम ज्ञान प्राप्त हुन्छ ।

संयुक्त अक्षरको आफ्नै महत्व छ तर सरकारले यसलाई पनि हटाउने निर्णय गरेको छ । ११ कक्षाको पुस्तकबाट उच्चारणमा ई, ऊ, ऋ, ऐ, औ, ज्ञ, ण, श र ष हटाइएको छ । संयुक्त अक्षर श्री, त्र, क्ष, त्र र ज्ञ पनि हटाइएको छ ।

ऋग्वेद, यजुर्वेद र उपनिषदहरूमा ॐ का बारेमा भनिएको छ । मण्डूक उपनिषदमा भनिएको छ, संसारमा भूत, भविष्यत र वर्तमान कालमा र यसभन्दा पनि पर जो सदैव सधैं विद्यमान छ त्यो ॐ हो । ॐ यो ब्रहृमाण्डमा सृष्टिकालदेखि थियो जब कुनै अक्षर वा शब्द नै थिएन । जैन धर्मले यसलाई मानेको छ । सिख धर्मका संस्थापक गुरु नानकले भनेका छन्, एक ॐकार सतनाम अर्थात् ॐकार नै अटल सत्य हो । बौद्ध धर्ममा भनिएको छ ॐ मणि पद्मे हुम् अर्थात् ॐ त्यस्तो मणि हो जो कमलमाथि विराजमान छ । यो मन्त्र तिब्बतबाट आएको हो । यो मन्त्र बज्रयानको तन्त्रवादको हो । तन्त्रवाद अनुसार तीन नाडीहरू छन् जो सुषुम्ना नाडीको दुवैतिर समानान्तर रूपले चल्छ ।

सुषुम्ना नाडी नितम्बबाट मस्तिष्कतिर जान्छ । यसलाई करङको हाड भनिन्छ । सुषुम्नाको भित्रको नाडीलाई बज्रख्या भनिन्छ र यसका बीचको नाडीलाई चित्रिणी भनिन्छ । प्राचीन तन्त्रवादको जानकार डिलवालपोलियो अनुसार ‘बज्र जसको अर्को नाम मणि हो त्यो पुरुषको लिंगको रहस्यमय नाम हो । ठीक त्यसरी नै योनीको साहित्यिक नाम पद्म हो ।’ सुषुम्ना नाडीमा कमल नारीत्वको स्थानमा छ । तन्त्रवाद अनुसार यो प्रत्येक मनुष्यको भित्र छ । सुषम्नाको सबैभन्दा माथिल्लो भागलाई सहस्त्र दल पद्म भनिन्छ । यो चेतनाको उच्च निवास हो । तन्त्रवादमा पुरुषतत्व सहस्त्र दल पद्ममा नारीत्वका साथ विराजमान छ ।

जब कुण्डलिनी शक्ति त्यहाँ पुग्छ तब पुरुषतत्व नारीतत्वमा विलीन भएर एकाकार हुन्छ । प्रत्येक पुरुषभित्र नारी विराजमान छ । ॐ बौद्ध धर्मको तन्त्र शाखाको शब्द पनि हो । तान्त्रिक क्रियाहरूमा यसको प्रयोग हुन्छ । के ॐ लाई हटाएर वा यसको गलत उच्चारण गरेर तन्त्र सिद्ध गर्न सकिन्छ ? ॐ को उच्चारण एकाग्रचित्त भएर गरे यसले मुटुको ढुकढुकी र रक्त सञ्चारलाई व्यवस्थित गर्छ । भागवत गीतामा भनिएको छ, जुन व्यक्तिले ॐ को उच्चारण गरेर प्राण त्याग गर्छ उसले परमगति प्राप्त गर्छ ।

संयुक्त अक्षरको आफ्नै महत्व छ तर सरकारले यसलाई पनि हटाउने निर्णय गरेको छ । ११ कक्षाको पुस्तकबाट उच्चारणमा ई, ऊ, ऋ, ऐ, औ, ज्ञ, ण, श र ष हटाइएको छ । संयुक्त अक्षर श्री, त्र, क्ष, त्र र ज्ञ पनि हटाइएको छ । स्वर वर्ण स्वतन्त्र वर्ण हो । यसको उच्चारणमा मुखबाट वायु घर्षणपूर्वक बाहिर आउँछ । व्यञ्जन वर्णमा स्वर वर्ण न मिसाए यो पूर्ण हुँदैन जस्तै क् र अ मिलेपछि क हुन्छ । यहाँ प्रायः सबै नेपाली शिक्षकहरूलाई शुद्ध उच्चारण गर्न आउँदैन । हाम्रा अक्षरहरूको उच्चारण गर्दा अक्षर अनुसार कण्ठ, तालु, मूर्धा, दन्त र ओष्ठ यी पाँचवटाको प्रयोग हुने गर्दछ तर शिक्षकहरूले यसलाई व्यवहारमा ल्याउन जान्दैनन् ।

गणतन्त्र आएपछि हाम्रो मौलिकतामा एक एक गरेर प्रहार भइरहेको छ । सबै जातजाति, धर्म समुदाय मिलेर बसेको यो देशलाई जात, धर्म आदिमा विभाजन गरियो । सनातन धर्ममाथि कठोर प्रहार गरियो, हाम्रो संस्कृति मास्न कुनै कसर छोडिएन, देशको मियो राजसंस्थालाई फालियो र अब नेपाली भाषामाथि प्रहार भइरहेको छ । यसको कर्ता माओवादी हो भने सहयोगी कांग्रेस, एमालेलगायत दलहरू हुन् ।

अदालतमा मुद्दा परेर कारण देखाऊ आदेश जारी भएपछि ॐ लाई शब्दकोमा समावेश गरिएको स्पष्टीकरण दिइरहेका छन् तर शब्दकोषमा ॐ लाई ओं गरिएको गुगलले देखाउँछ । कुनै पनि अक्षर वा शब्दलाई के आफूखुशी गर्न पाइन्छ ?

अधिवक्ता स्वागत नेपालले यो मुद्दा अदालतमा लगेपछि बल्ल आमजनताले थाहा पाए राज्य कसरी हाम्रो भाषामाथि आक्रमण गरिरहेको छ भनेर । नेपाली जनता राज्यले जतिसुकै अत्याचार गरे पनि, जतिसुकै राष्ट्रघात गरे तापनि, जतिसुकै भ्रष्टाचार गरे पनि एकैछिन उफ्रिन्छन् वा चूप लाग्छन् र पछि सेलाउँछन् । यसैको फाइदा राज्यले पटक-पटक लिइरहेको छ । यसको नेतृत्वमा माओवादी छ भने अरू दलहरू यसका मतियार हुन् ।

कुनै पनि भाषा भाषाको रूप लिनु अगावै एउटा बोली हुन्छ । जब बोलीसँगै ठूलो संख्यामा बोल्ने, बुझ्ने वर्ग शब्दभण्डार, व्याकरण, साहित्य, लेखक, कवि लामो कालखण्डसम्म जोडिन्छन् तब भाषा बन्छ । प्राचीन कालमा लौकिक बोलीहरू र वैदिक भाषालाई परिष्कार गरी पाणिनीले संस्कृतको व्याकरण रचना गरे । नियम त बन्यो तर उच्चारण कसरी गर्ने ? विश्वामित्रको सन्धि विच्छेद गरेर विश्व र अमित्र बनाए जसको अर्थ विश्वको शत्रु हुन्छ । वीर योद्धा तथा महान् ऋषि कसरी विश्वको शत्रु भए त ?

परिणामतः पाणिनीले दश सूत्रहरूको प्रयोग गरेर सिद्ध गरे विश्वामित्रको अर्थ विश्वको मित्र हुन्छ तर गणतन्त्रवादी विद्वानहरूले विश्वामित्रलाई विश्वको शत्रु बनाउन बेर छैन । माओवादीबाट केही असम्भव छैन । साथ दिने कांग्र्रेस र एमाले लगायतका दलहरू छँदै छन् । यदि हामी चूप लागेर बस्यौं भने न नेपाल रहनेछ, न नेपाली रहनेछन्, न हाम्रो भाषा रहनेछ र न धर्म, न संस्कृति र न मौलिकता ।

कुनै पनि भाषा भाषाको रूप लिनु अगावै एउटा बोली हुन्छ । जब बोलीसँगै ठूलो संख्यामा बोल्ने, बुझ्ने वर्ग शब्दभण्डार, व्याकरण, साहित्य, लेखक, कवि लामो कालखण्डसम्म जोडिन्छन् तब भाषा बन्छ । प्राचीन कालमा वैदिक भाषालाई परिष्कार गरी पाणिनीले संस्कृतको व्याकरण रचना गरे ।

पलासी (इण्डिया) को युद्ध जितेपछि लर्ड क्लाइभले विजय जुलुस निकाल्ने निर्णय गरे । विजय जुलुस हेर्न हज्जारौंको संख्यामा इण्डियन जनता सडकमा दायाँबायाँ उपस्थित थिए । हज्जारौं इण्डियनहरूको बीचबाट जब त्यो विजय जुलुस निस्कयो तब लर्ड क्लाइभलाई एउटा विचार चम्क्यो र ऊ आतंकित भएर शरीरको रौं ठाडा भए । जस्तो उसले मनमा कल्पना गरेको थियो त्यस्तो विरोध र आक्रमण केही भएन । विजय जुलुस शान्तिपूर्वक सम्पन्न भयो । लर्ड क्लाइभलाई अत्यन्त आश्चर्य भयो ।

उसले दोस्रो दिन आफ्ना जासुसलाई बोलाएर आदेश दिए (विजय जुलुसमा मस्त ब्रिटिश सैनिक जब इण्डियनहरूको बीचबाट गइरहेका थिए तब उनीहरूको मनमा ब्रिटिश सैनिकसँग प्रतिशोध लिने भावना थियो कि थिएन ? यदि उनीहरूको मनमा प्रतिशोध लिने भावना जागृत भएको भए ब्रिटिश सैनिकहरूसँग किन प्रतिशोध लिएनन् ? किन उनीहरूले ब्रिटिश सैनिकमाथि कार्बाही गरेनन् ? क्लाइभले विभिन्न वर्गका मानिससँग जानकारी एकत्रित गरी साँझ ब्यारेकमा आफूलाई रिपोर्ट दिन अराए । सबै जासुसले आदेशको पालना गर्दै सबै वर्गका मानिससँग जानकारी प्राप्त गरी साँझ ब्यारेकमा गएर लर्ड क्लाइभलाई जुन जानकारी दिए त्यो सुनेर क्लाइभ छक्क परे ।

सबैको रिपोर्टको सारांश एउटै थियो कि सबै इण्डियनको मनमा ब्रिटिश सैनिकसँग प्रतिशोध लिने प्रबल भावना जागृत भएको थियो तर प्रत्येकले भने म एक्लैले के गर्न सक्थेँ र ? मलाई कत्ति पनि विश्वास थिएन कि मैले ब्रिटिश सैनिकमाथि कुनै कारबाही गरे मलाई अरूले साथ दिन्छन् भनेर । त्यसैले म चूप बसेँ । सबै इण्डियनहरूको यही एउटा भनाइ थियो । नेपाली जनतामा अहिले यस्तै भावना प्रबल भएकाले राज्यबाट हुने कुनै गलत कामको विद्रोह भइरहेको छैन । छिटपुट विरोधले सरकारको रौं पनि हल्लिँदैन भनेर नेताहरू ढुक्क छन् । त्यसबेला विजय जुलुसको विरोध गरेर इण्डियन जनताले विद्रोह गरेको भए बंंगालमा मात्र सिमित अंग्रेजले इण्डियालाई आफ्नो गुलाम बनाउन सक्ने थिएन ।

पुष्यमित्र शुंग एउटा ब्राहृमण थिए । मगधमा त्यस बेला बौद्ध सम्राट बृहद्रथ थिए । उनले हिन्दुहरूलाई जबरदस्ती बौद्ध बनाउने अभियान चलाएका थिए । जो उनको आदेशकोे पालना गर्दैन्थ्यो उसलाई तत्काल मृत्युदण्ड दिन्थे । एक दिन पुष्यमित्रको घरमा बृहद्रथको सैनिकहरू आएर उनका मातापितालाई बौद्ध धर्म ग्रहण गर्न भने तर उनीहरूले नमानेपछि सैनिकहरूले उनीहरूको हत्या गरे । आफ्ना मातापिताको हत्या भएको देखेर बालक पुष्यमित्र वनतिर भागे । उनी जवान हुभ । एकदिन राजा बृहद्रथ शिकारमा वनमा आए । एक्कासि एउटा बाघले उनीमाथि आक्रमण गर्न हाम फाल्यो तर बीचमा एउटा बलियो युवक आएर बाघको दाँतमा हात राखेर दुई टुक्रा पारेर राजाको ज्यान जोगाइदिए ।
बृहद्रथले उनको परिचय माग्दा म एउटा ब्राहृमण हुँ भनेर परिचय दिए, नाम पुष्यमित्र । राजाले उसलाई सहायक प्रधानसेनापति बनाए । उसको वीरता र शौर्य देखेर राजाले उसलाई प्रधान सेनापतिमा बढुवा गरे । अलेक्जेन्डर इण्डियाबाट फर्के पनि यवनहरू ठूलो संख्यामा त्यहीँ थिएँ । पुष्यमित्रले यवनहरूले मगधमाथि आक्रमण गर्न लागेको सूचना पाएर युद्धको तयारी गरे । तर राजा बृहद्रथले कसको आदेशले युद्धको घोषणा गरेको भनेर उनलाई हप्काए । मगध बौद्ध साम्राज्य हो यहाँ हिंसा बर्जित छ भने राजाले । पुष्यमित्रले मेरो आदेशले युद्धको घोषणा गरेको भनेर बृहद्रथको घाँटी काटे ।

सेनाहरूले सम्राट पुष्यमित्रको जयको नारा लगाए । पुष्यमित्रले मेरो जयको नारा पछि लगाउनु । मेरो लागि मेरो देश ठूलो हो । देशको अगाडि न बृहद्रथ ठूलो हो न पुष्यमित्र । पहिला यवनहरूलाई युद्धमा पराजित गरेर देशलाई जोगाऔं । युुद्धमा यवनहरू हारेर भागे, पुष्यमित्र राजा बने र उनले पुनः सनातन धर्म सापेक्ष राष्ट्र स्थापना गरेर सनातन धर्मको रक्षाका लागि काम गरे र राज्य विस्तार गरे । हामी नेपालीहरूले माथिका घटनाबाट शिक्षा लिने कि नलिने ? राष्ट्र र सनातन धर्म पहिला कि यी भ्रष्ट नेता र यिनीहरूको व्यवस्था पहिला निर्णय नेपाली जनताको ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?