एमसिसी परियोजनाको अवस्थाबारे चासो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसिसी) को अनुदानमा नेपालले अघि बढाएको प्रसारण लाइन निर्माणमा सरकारतर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ ।

कुल तीन सय १५ किलोमिटर लामो (नाङ्लेभारे-रातमाटे-हेटौंडा-दमौली-न्यु बुटवल) प्रसारण लाइन नेपालको प्रसारण प्रणालीको मेरुदण्ड भएकाले त्यसलाई तोकिएको समयमा नै सम्पन्न गराउन सरकारले जिम्मेवारीसाथ काम गर्ने बताउनुभयो । एमसिसी कम्प्याक्ट सम्झौताको शुभारम्भको उपलक्ष्यमा यसै साता नेपाल भ्रमणमा आउनुभएका एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटसहितको प्रतिनिधिमण्डलसँग ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो ।

प्र्रसारण लाइन र सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा प्राप्तिलगायतका प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै उहाँले राष्ट्रिय गौरवको परियोजनाका रूपमा त्यसलाई समावेश गरेर महत्व दिएको स्पष्ट पार्नुभयो ।

एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले दुर्ई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्दै उचाइमा पुर्‍याउने परियोजनाका रूपमा आफूहरूले एमसिसीलाई लिएको बताउनुभयो । उहाँले एमसिए नेपालमार्फत् कार्यान्वयनमा गएको प्रसारण लाइन र सडक सुधार आयोजना सहजरूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको भन्दै प्रशंसासमेत गर्नुभएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, एमसिए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर विष्टलगायतको उपस्थिति थियो । गत भदौ १३ गतेदेखि एमसिसी कम्प्याक्ट कार्यान्वयनमा गइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?