काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले वर्तमान व्यवस्थाविरुद्ध तीन दिनदेखि काठमाडौं केन्द्रित निरर्थक आन्दोलन गरिरहेको छ । हिन्दू राष्ट्रसहित राजसंस्था पुनःस्थापना अभियानको मुख्य एजेण्डा छ । यस्तै, २० लाख मुनिको ऋण मिनाहा गर्ने अर्को ‘असम्भव देखिने’ मुद्दा हो । यसका लागि अभियान समर्थितहरू काठमाडौंमा दैनिक राज्यसँग भिडिरहेका छन् । प्रहरीको लाठी र दमन सहिरहेका छन् । प्रदर्शनमा ऋणपीडितदेखि राजावादीहरूको सहभागिता छ ।
समूहले बिहीबार बल्खुमा विरोध प्रदर्शन गरेको थियो । शुक्रबार काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्न खोजे पनि स्थानीय प्रशासनले अनुमति नदिएपछि दिनभर तनाव भएको थियो । प्रसाईंलाई भने दिनभर सुरक्षा दिएर घरमै राखिएको थियो । शनिबार भने समूहले काठमाडौंको सिफलमा कार्यक्रम गरेको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय र प्रसाईं समूहबीच शान्तिपूर्ण प्रदर्शन गर्ने, सरकारले अनुमति दिएको ठाउँमा मात्रै आन्दोलन गर्ने सहमति भएको थियो ।
राजसंस्था पुनःस्थापनाका लागि प्रसाईं समूहले काठमाडौं केन्द्रित आन्दोलन गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह भने पूर्वी नेपाल पुग्नुभएको छ । बिर्तामोडस्थित इकम कलेजको प्रांगणमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न उहाँ पूर्व पुग्नुभएको हो । शालिक अनावरण भनिए पनि लामो समय राजतन्त्र र हिन्दूराष्ट्रको वकालत गर्दै आएको राप्रपाको योजनामा पूर्वराजा शाह झापा पुगेको उनीहरूकै नेताहरू बताउँछन् । राजधानीमा आफूहरूले आन्दोलन चर्काउन खोजिरहँदा राप्रपाले झापामा कार्यक्रम गरेर यताको आन्दोलनबाट ध्यान भड्काउन खोजेको प्रसाईं समूहको बुझाइ छ । राजधानीमा हजारौँ मान्छे उत्रिएर आन्दोलन गरिरहँदा पूर्वराजा शाह झापा पुगेकोमा प्रसाईं समूहको चित्तदुःखाइ छ ।
पूर्वराजाको उपस्थितिमा झापामा राजावादीहरूले शक्ति प्रदर्शनसमेत गरेका छन् । शक्ति प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता-कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । उनीहरूले हजारौँ मोटरसाइकलमा पूर्वराजालाई स्कटिङ गरेका थिए ।
प्रसाईंको आन्दोलनबारे मुखै नखोली शाह पूर्व पुगेपछि प्रसाईं समूह भने चिढिएको छ । आफूले हजारौँ मान्छे उतारेर प्रदर्शन गरिरहँदा पूर्वराजा शाह झापा गएको भन्दै प्रसाईं समूह असन्तुष्ट बनेको हो । आन्दोलनबारे मौनता तोड्नुपर्ने उनीहरूको भनाइ छ । पूर्वराजा शाहले आन्दोलनबारे अभिव्यक्ति दिन ढिला गर्न नहुने उनीहरूको तर्क छ । उहाँले नबोल्दा आन्दोलन धेरै दिन जान नसक्ने प्रसाईं नेतृत्वको महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले बताउनभयो । ‘जो व्यक्तिका लागि नागरिक लडिरहेका छन्, त्यही व्यक्ति बोल्दैन भने नागरिक कति दिन कराएर कति दिन राज्यको दमन सहन्छन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले यसबारे उहाँले जतिसक्दो चाँडो बोल्नुपर्छ ।’ उहाँले बोले आन्दोलनले गति लिनसक्ने माण्डव्यको भनाइ छ ।
उसो त पूर्वराजा मात्रै होइन लामो समयदेखि राजतन्त्रको वकालत गर्दै आएको राप्रपाले पनि आन्दोलनमा औपचारिक ऐक्यबद्धता जनाएको छैन । प्रसाईंले सुरु गरेको ‘व्यवस्था विरोधी’ आन्दोलनमा राप्रपाका केही नेताले व्यक्तिगत साथ दिए पनि राजतन्त्रको आवश्यकता औँल्याउने गरेको राप्रपाले संस्थागत रूपमा केही निर्णय गरेको छैन । प्रसाईंका समर्थकहरू काठमाडौंका सडकमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै आन्दोलन गरिरहँदा उहाँ सहानुभूतिको एउटा सन्देशसमेत जारी नगरी झापा झर्नु अर्थपूर्ण छ । अझै झापा पुगेर उहाँले कार्यक्रमलाई सम्बोधन गर्ने धेरैको अपेक्षा थियो । तर, त्यो पनि हुन सकेन । यसले प्रसाईंको आन्दोलन र राजा तथा राजावादीहरूबीच कुनै तालमेल मिलेको देखिँदैन । यसले प्रसाईंसँग पूर्वराजा, राप्रपा र राजावादीहरूको भरोसा नरहेको देखाउँछ र आन्दोलनकै औचित्यमाथि पनि प्रश्न उठाउँछ ।
लिङ्देनको गृहजिल्लामा पूर्वराजालाई भव्य स्वागत
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्वमा भव्य स्वागत गरिएको छ । शनिबार झापा पुग्नुभएका उहाँलाई राजावादीहरूले भव्य स्वागत गरेका हुन् । उहाँलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला पुग्दा गाउँगाउँबाट बिर्तामोडमा सर्वसाधारणलाई उतारिएको थियो । बिर्तामोडमा विभिन्न सांस्कृतिक झाँकीसहित पूर्वराजालाई स्वागत गरिएको थियो । सो क्रममा राजावादीहरूले ‘राजा आऊ देश बचाऊ’को नारा लगाएका थिए । त्यसअघि उनीहरूले शक्ति प्रदर्शनसहित मोटरसाइकल र्याली गरेका थिए ।
शाहले पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नुभयो । कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक उहाँले अनावरण गर्नुभएको हो । पूर्वराजा शाहले शालिक अनावरण कार्यक्रममा सम्बोधन भने गर्नुभएन ।
पूर्वराजा शाह फर्किएसँगै राजसंस्था पुनःस्थापनाको एजेण्डा बोकेर हिँडेको दल राप्रपाका अध्यक्ष लिङ्देनलाई सञ्चारकर्मीहरूले घेरेका थिए । उहाँलाई सञ्चारकर्मीको पहिलो प्रश्न थियो, ‘अब देशमा राजा आउन लागेको हो ? राजा आउनुपर्छ भन्ने पक्षमा हो ?’ जवाफमा लिङ्देनले उल्टै प्रतिपश्न गर्दै भन्नुभयो, ‘यस्तो कुरा पनि मलाई सोध्ने हो ? जसले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको मुद्दा लिएर हिँडेको दललाई राजा ल्याउनुपर्छ वा हुनुपर्छ भनेर सोध्ने कुरा हुँदैन ।’
उहाँलाई लगत्तै पत्रकारले प्रश्न गरे, ‘गणतन्त्र खारेज हुनुपर्छ ?’ जवाफ दिँदै लिङ्देनले भन्नुभयो, ‘गणतन्त्रको जग हल्लिसक्यो, ढल्न मात्रै बाँकी छ ।’
हिजो हामीले नै खेदेको हो, आज नेताहरूले राजा सम्झन बाध्य बनाए : प्रसाईं
आन्दोलनरत दुर्गा प्रसाईंले राजतन्त्र पुनःस्थापना गर्न नेताहरूले बाध्य बनाएको बताउनुभएको छ । शनिबार काठमाडौंको सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दलहरूकै कारण जनता राजतन्त्र सम्झन बाध्य भएको जिकिर गर्नुभएको हो । आफूलाई राजावादी भन्नेहरूलाई पनि आन्दोलनमा समर्थन गर्न उहाँले आग्रह गर्नुभयो । ‘हिजो राजा हामीले नै खेदेको हो । तर, आज पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा र केपी शर्मा ओलीले राजा सम्झन बाध्य बनाए,’ उहाँले भन्नुभयो, ‘तपाईंहरू आफूलाई राजावादी भन्नुहुन्छ । तर, सही आन्दोलनलाई साथ दिनुहुन्न । नेपालमा संसदीय प्रणाली फेल भइसकेको उहाँको भनाइ थियो ।
आफ्नो आन्दोलनमा काठमाडौंवासीले सहयोग नगरेको उहाँले गुनासो गर्नुभयो । ‘म जति बाँच्छु तपाईंहरूको हितमा काम गर्छु । साथ दिन तपाईंहरू बाहिर निस्कनुभएन भने काठमाडौंमा स्याल रुन्छ । यहाँ मान्छे हुने छैन’, उहाँले भन्नुभयोे । काठमाडौं ललितपुर र भक्तपुरवासी कहिले घरबाट बाहिर निस्केर आन्दोलनमा सघाउन आउँछन् ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
सरकारले राम्रो काम गर्न नसक्दा देशमा अराजकता बढ्यो : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्न नसकेकाले देशमा अराजकता बढेको बताउनुभएको छ । नेपाल सम्वत ११४४, नववर्ष, तिहार र छठ पर्वको अवसरमा एमाले काठमाडौं महानगरपालिका कमिटीले शनिबार वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकारले राजनीतिलाई अराजक बनाएको र सुशासन कायम गर्न नसकेकाले देशमा अराजकता बढेको जिकिर गर्नुभएको हो । सरकारले नै गुण्डाहरूलाई प्रश्रय दिएकोसमेत उहाँको आरोप थियो । सरकारले गरेको गल्तीको भागेदार सरकारमा रहेका दलहरू नै हुने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले व्यक्तिमा खराबी हुनसक्ने भन्दै लोकतन्त्र र गणतन्त्र कहिल्यै खराब हुन नसक्ने तर्क गर्नुभयो । देशमा राजतन्त्रको कल्पना गर्न नसकिने र अब ढुंगे युगतिर फर्किन नसक्ने बताउँदै ओलीले जन्मिँदै कोही राजा बन्ने कुरा जनतालाई स्वीकार्य नहुने जिकिर गर्नुभयो ।
पुराना इतिहासको सकारात्मक कुरालाई सम्मान गर्दै अघि बढ्नुपर्ने उहाँको धारणा थियो । जनतालाई जात, धर्मको नाममा विभाजित गर्ने प्रयास गरेर अहिले देशका विरुद्ध षड्यन्त्र भइरहेका भन्दै उहाँले देशको रक्षाका लागि एमाले जनतालाई साथमा लिएर अग्रपंक्तिमा उभिएर लड्न तयार रहेको बताउनुभयो ।
उहाँले एमाले मात्रै सुखी नेपाली र समृद्ध नेपाल बनाउने नेपालको एक मात्र पार्टी भएको दाबी गर्नुभयो । ओलीले देशलाई अस्थिरतामा फसाउने खेल भइरहेको पनि उल्लेख गर्नुभयो । उहाँले भने, ‘हाम्रा जनतालाई पहिचानका नाममा, जातका नाममा अनेक नाममा विभाजित गर्ने काम भइरहेको छ । झगडा लगाउने प्रयास भइरहेको छ । द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ । केही समय अघि हिन्दू र मुसलमानका बीचमा लडाइँ लडाउने प्रयास भयो । त्यसमा असफल भए । त्यसपछि अरू असान्दर्भिक कुरा ल्याएर जनतालाई अलमल्याउने काम भइरहेको छ ।’
अहिलेको सरकारले काम गर्न नसकेको बताउँदै उहाँले देशलाई र राजनीतिलाई अराजकतातिर लगेको बताउँदै सरकारले अराजकतालाई नियन्त्रण नगरी प्रोत्साहित गर्ने काम गरेको पनि दाबी गर्नुभयो ।
उहाँले राष्ट्रपतिले छानी छानी गुण्डाहरूलाई माफी दिने गरेको, भ्रष्टाचार बढेको, सुन तस्करी बढेको भन्दै कुशासनको चर्चा गरेर साध्यै नरहेको बताउनुभयो । ओलीले नेपालको सीमा रक्षाका लागि नेपाली जनतालाई लिएर एमाले लड्न तयार रहेको पनि उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच