अन्तर्राष्ट्रिय अहिंसा दिवस :

अहिलेको प्रणाली बदल्ने होइन यसलाई थप बलियो बनाउनेतर्फ जानुपर्छ : निधि

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भारत स्वतन्त्र हुनुमा नेपालीहरूको हात रहे पनि भारतले कहिल्यै भन्ने नगरेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भारतको अहिंसात्मक आन्दोलनमा महात्मा गान्धीसँगै नेपालीहरूले पनि भारत स्वतन्त्र हुनका लागि आन्दोलन गरेको बताउनुभयो । उहाँले भारतले पनि कहिल्यै पनि नेपालीहरू पनि भारत स्वतन्त्र हुनमा आन्दोलनमा उत्रिएका थिए भन्ने प्रसंग ननिकाल्ने गरेको बताउनुभयो । उहाँले भारतीय राजनीतिज्ञ, साहित्यकार, इतिहासकारले सो कुरालाई ओझेलमा राख्ने गरेको सुनाउनुभयो ।

उहाँले भारतले नेपालमा लोकतन्त्र ल्याउनमा आफूहरूको सहयोग रहेको मात्रै भन्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतको स्वतन्त्रताको जब कुरा हुन्छ, तब तपाईं र तपाईंको इतिहास यति मात्रै भन्छ कि गान्धीको नेतृत्वमा हामी भारतीय जनताले लडाइँको सफल बनाएका हौँ । थोरै नै ठिक नेपालका हाम्रा पूर्वनेता बिपी, मनमोहन, तत्कालीन धेरै नेताले भारतको आन्दोलनमा गान्धी र अहिंसात्मक आन्दोलनमा सहभागी जनाउने मात्रै नभई जेलमा बसेका थिए । भारतीय राजनीतिज्ञ, साहत्यिकार, इतिहासकार यसलाई महत्व दिनको त कुरै छोडौँ तर कुरा नै गर्न चाहँदैनन् । हामीले पनि तपाईंहरूलाई स्वतन्त्र रहन सहयोग गरेका छौँ । तपाईंहरू नेपालमा हामीले स्वतन्त्रता दियौँ भन्नुहुन्छ । लोकतन्त्र दियौँ तर हामीले गरेको सहयोगको याद गर्नुहुन्न ।’ नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको विरुद्धमा कुरा भएको भए त्यसबाट सचेत रहनुपर्ने बताउनुभयो । प्रणाली बदल्ने जरुरी नरहेको र बरु प्रणाली बलियो बनाउन संविधानमा थप संशोधन गर्न जरुरी रहेको बताउनुभयो ।

नेपालमा शान्तिको आवश्यकता छ : साउद
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा शान्तिको आवश्यकता रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आज पनि नेपालका युवा र नेपालका राजनीतिज्ञका लागि गान्धी एउटा प्रेरणाका स्रोत रहेको बताउनुभयो । उहाँले कानुन, संविधानबमोजिम आफ्नो जीवनको संस्कृतिको रूपमा शान्तिलाई विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपालको भविष्य सुन्दर रहेको भन्दै नेपाली राजनीतिक फाँटमा जहाँ भए पनि भविष्य एउटै बनाउने भनेर समृद्ध र सुन्दर नेपाल बनाउने बाटोमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज पनि नेपालका युवा र नेपालका राजनीतिज्ञका लागि गान्धी एउटा प्रेरणाका स्रोत हुनुहुन्छ नेपालको गान्धीवादी व्यक्तित्वको ब्यानरमा उभिएर नेपालमा शान्तिको आवश्यकता छ । यो शान्ति कानुन, संविधानबमोजिम हामीले आफ्नो जीवनको संस्कृतिको रूपमा विकास गर्नुपर्छ । हामीले यो एक स्वरले बोलिरहेका छौँ । यसले नेपालको भविष्य सुन्दर छ, र हामी नेपाली पनि राजनीतिक फाँटमा जहाँ भए पनि भविष्य एउटै बनाउने भनेर समृद्ध र सुन्दर नेपाल बनाउने बाटोमा छौँ ।’ मन्त्री साउदले नेपालको राजनीतिमा कुनै न कुनै रूपमा सबै राजनीतिक दलहरूले हतियार उठाएको बताउनुभयो ।

अहिंसात्मक माध्यम अपनाउनु जरुरी छ : बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने घोषणा गर्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कसैको कुरा नसुनी अहिले गाउँमा पनि चिकित्सकहरू पठाएको र यो काम नेपालको इतिहासमै पहिलोपटक भएको दाबी गर्नुभयो । उहाँले चाँडैभन्दा चाँडै दरबन्दी बढाउने कुरामा सरकार लागिरहेको र त्यसको लागि विशेष बजेट ल्याउने पनि बताउनुभयो । उहाँले गरिब र विपन्न भएकै कारण उपचार गर्न नसक्ने कोही भए आफूलाई सम्पर्क गरे आफूले उपचार गरिदिने बताउनुभयो । उहाँले अहिंसात्मक माध्यम र तौरतरिका अपनाउन नसके समाजमा राम्रो नहुने बताउनुभयो ।

शान्ति प्रक्रियाका बाँकी काम सबै मिलेर पूरा गर्नुपर्छ : पुन
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पीडामा रहेका नेपाली नागरिकलाई न्याय दिनुपर्ने चुनौती रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आज पनि शान्ति प्रक्रियाका केही काम बाँकी रहेको उल्लेख गर्दै त्यसलाई सबै राजनीतिक पार्टीहरू मिलेर टुंग्याउनुपर्ने बताउनुभयो । उहाँले विगतका राजनीतिक संघर्षका क्रममा पीडामा परेका जनतालाई न्याय दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले राजनीतिक दलहरूमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज पनि शान्ति प्रक्रियाका केही काम बाँकी छ । संक्रमणकालीन न्यायसम्बन्धी कामहरू रहेका छन् । विगतमा हामी मुख्य पार्टी कोही सत्ता पक्षमा र कोही प्रतिपक्षमा हुन्थ्यौँ, आज पनि हामी त्यही रूपमा छाँै । स्थायी शान्ति र दीर्घकालीन वातावरणमा जाने अवस्था बनाउनुछ । हामी मूल राजनीतिक पार्टीहरूलाई सरकारमा रहेका, प्रमुख प्रतिपक्षलाई पनि प्रश्न छ, हामीमाथिको प्रश्न राजनीतिक दल र नेताहरूले प्रश्नलाई सकारात्मक जवाफ दिनुपर्छ ।’ नेता पुनले स्थायी शान्ति र दीर्घकालीन वातावरणमा लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?