
नीति शास्त्रका व्याख्याता एवं पूर्वीय दर्शनका महान् दार्शनिक चाणक्यले रातको समयमा सरकारी काम गर्दा सरकारी खर्चको टुकी र व्यक्तिगत काम गर्दा व्यक्तिगत खर्चको टुकी प्रयोग गर्ने गरेको सन्दर्भलाई नैतिक आचरणको आवश्यकताका सन्दर्भमा जोडेर व्याख्या गर्ने गरिएको पाइन्छ । वास्तवमै व्यक्तिमा हुनुपर्ने नैतिकता र इमानदारीको सम्बन्धमा यही एउटा उदाहरण नै काफी छ तर प्रश्न उठ्छ, हामी कुन हदसम्म चाणक्यको यो नैतिक आचरणको अनुसरण गर्न समर्थ भएका छौं ? अथवा कतिजनाले यसको अनुसरण गरेका छौं ?
साँच्चै भन्ने हो भने हाम्रो समाजमा नैतिकता र इमानदारीको खडेरी परेको छ । एकातिर हाम्रो शिक्षण पद्धति नितान्त व्यावसायिक बनेको छ र नैतिक शिक्षाजस्तो विषयलाई समावेश नै गर्न छोडिएको छ भने अर्कोतिर नैतिक आचरणलाई भन्दा बेइमानी र नीतिशास्त्र तथा कानुनद्वारा बर्जित आचरणलाई प्रोत्साहित गर्ने सामाजिक व्यवहारले गर्दा समाजबाट नैतिकता र इमानदारी हराएर बेथितिहरूले प्रश्रय पाएको अवस्था छ । सामाजिक तथा आर्थिक बेथितिले समाज आक्रान्त हुनुको मुख्य कारण नै नैतिकता र इमानदारीको कमी हो ।
अनैतिकता र बेइमानीले समाजमा यसरी जरो गाडेको छ कि भ्रष्टाचार गर्नसक्नु पुरुषार्थ भएको छ । जसरी होस्, धनसम्पत्ति जोड्नसक्ने मान्छे पुरुषार्थी भएको छ । मिहिनेत र इमानदारीपूर्वक कमाउनेको भन्दा अनैतिकता र बेइमानीको सहारामा कमाउनेको समाजमा बढी इज्जत छ । मिहिनेत र इमानदारीले थोरै कमाइ हुन्छ र ढिलो कमाइ हुन्छ । तर अनैतिकता र बेमाइमानीको सहारामा धेरै कमाइ हुन्छ र छिटो कमाइ हुन्छ । धेरै कमाउने, छिटो कमाउने होडमा अहिले मान्छेहरू अनैतिक बनेका छन् र बेइमान बनेका छन् । मान्छेको आचार नै भ्रष्ट भएको छ । त्यसैले जतासुकै भ्रष्टाचार बढेको छ । भ्रष्टाचारले समाज र देश नै हल्लाएको छ । त्यसैले समाज र देशको आर्थिक जग नै कमजोर बनेको छ ।
अनैतिकता र बेइमानीले समाजमा यसरी जरो गाडेको छ कि भ्रष्टाचार गर्नसक्नु पुरुषार्थ भएको छ । जसरी होस्, धनसम्पत्ति जोड्नसक्ने मान्छे पुरुषार्थी भएको छ । मिहिनेत र इमानदारीपूर्वक कमाउनेको भन्दा अनैतिकता र बेइमानीको सहारामा कमाउनेको समाजमा बढी इज्जत छ ।
चाणक्य आचरणको अनुसरण गर्नु त कहाँ हो कहाँ, भ्रष्ट आचरणमा मान्छेको प्रतिस्पर्धा बढेको छ । राज्यकोष र राज्यको सम्पत्ति दोहनमा एक किसिमको प्रतिस्पर्धा चलेको छ । सर्वसाधारण नागरिक होस् कि राष्ट्रसेवक कर्मचारी, ती सबैमा कसरी राज्यकोष अथवा राज्यको सम्पत्ति दोहन गर्ने भन्ने कुरामा चलेको प्रतिस्पर्धाले गर्दा एकातिर राज्यकोषको दुरूपयोग बढेको छ भने राज्यका अन्य प्राकृतिक सम्पदा अथवा भौतिक सम्पत्तिको दुरूपयोग गरी सीमित व्यक्ति रातारात धनी बन्ने क्रमले तीव्रता लिएको छ । यसमा मुलुकको राजनीतिक शक्तिले नै संरक्षणकारी भूमिका निर्वाह गरिरहेको छ भन्ने आशंकालाई पछिल्ला केही घटनाक्रमले पुष्टि गरेका छन् । ऐनकानुनको पालना गर्न र गराउन घचघच्याउनुपर्ने राजनीतिक शक्तिले नै ऐनकानुन मिच्ने वा मिच्न सघाउने प्रवृत्तिले मुलुकमा स्वेच्छाचारी र दण्डहीनता सँगसँगै राज्यको सम्पत्तिको दुरूपयोग पनि बढेको छ ।
दार्शनिक चाणक्यले रातको समयमा सरकारी काम गर्दा सरकारी खर्चको टुकी प्रयोग गर्ने तथा व्यक्तिगत काम गर्दा व्यक्तिगत खर्चको टुकी प्रयोग गर्ने गरेको सन्दर्भलाई हाम्रा राष्ट्रसेवक कर्मचारीहरूले आँखा चिम्लेर बेवास्ता गरेका छन् । आफ्नो निजी काममा पनि सकेसम्म सरकारी स्रोतसाधनको प्रयोग गर्ने होडबाजी नै छ कर्मचारीतन्त्रभित्र । बिदाको दिन निजी कामका लागि सरकारी सवारीसाधन चलाउने एउटैमात्र उदाहरण नै काफी छ सरकारी सम्पत्ति दोहनको प्रमाणको रूपमा । बजार जान, साँझ-बिहान तरकारी किन्न, ससुराली जान, सालीको बिहेमा जान, अन्य बिहे-व्रतबन्ध तथा भोज-भतेरमा जान पनि सरकारी सवारीसाधन प्रयोग गर्ने बानीमा अझै कमी आएको छैन । उता सरकारी कार्यालयमा मान्छे नै नभएको कोठामा झलमल्ल बत्ती बलिरहेको हुन्छ । जाडोमा हिटर र गर्मीमा पंखा उसैगरी चलिरहेको हुन्छ । आपका जाए न बापका जाए भनेजस्तो आफ्नो नजाने भएपछि कसैलाई मतलब छैन अनावश्यक खर्च घटाऔं र मितव्ययिता अपनाऔं भन्ने कुरामा ।
दार्शनिक चाणक्यले निजी काममा सरकारको स्रोतसाधन प्रयोग गर्नुहुन्न भन्ने सन्देश दिएका छन् । व्यक्तिगत कामका लागि सरकारी खर्चको एउटा टुकी पनि बाल्न हुन्न भन्ने उदाहरण दिएर भ्रष्टाचार त झन् ठूलो अपराध नै हो भन्ने सन्देश दिन खोजेका छन् । तर, नेपाली नेता, कर्मचारी वा विशिष्ट पदाधिकारीले चाहिँ सकेसम्म सरकारी खर्चकै साधन प्रयोग गर्नुपर्छ भनेझैँ गरी आफ्ना नितान्त व्यक्तिगत काममा पनि सरकारी खर्चकै स्रोत–साधन प्रयोग गर्ने गरेका छन् । काम गरेबापतको तलबसुविधा लिएर पनि सेवाग्राहीको कामलाई अतिरिक्त आम्दानीको माध्यम बनाएका छन् । यस्तै अतिरिक्त आम्दानीकै लागि सहजै हुने कामलाई पनि अनेक बहानामा जटिल बनाउने र फाइल अड्काउने काम कर्मचारीतन्त्रभित्रको एउटा विशेषताकै रूपमा रहेको छ ।
ठूलो परिमाणमा रेमिट्यान्स नआएको भए यो देश गम्भीर आर्थिक संकटमा परिसक्ने थियो । त्यसरी आएको ठूलो परिमाणको रेमिट्यान्स सदुपयोग गर्ने सद्वृद्धि पनि नभएका र सधैं घुस र कमिसनमा मात्रै ध्यान-दृष्टि लगाइरहेका नेता र नीतिनिर्माताका कारण देश पछौटेपनको दलदलमा भासिन बाध्य भएको हो ।
साँच्चै भन्ने हो भने यो देशमा घुसबिना केही कामै हुँदैन, चाहे त्यो काम ठूलो होस् अथवा सानो । सेवाग्राहीको काम गरिदिएवापत तल्ला कर्मचारीले लिने सय वा हजारको घुसभन्दा नीतिगतरूपमा ठूला नेता वा विशिष्ट पदाधिकारीले लिने घुसले समाज र देशलाई नै जर्जर बनाइरहेको छ । देशमा बढ्दै गएको भ्रष्टाचारले अन्तर्राष्ट्रिय मञ्चमा देशको छवि नै धमिलिएको छ । बढी भ्रष्टाचार हुने मुलुक भनेर ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकांकले हरेक वर्ष औंल्याइँरहँदा पनि भ्रष्टाचार निवारणमा देखिएको उदासीनताले न यो देशको सरकार भ्रष्टाचार निवारणमा प्रतिबद्ध छ भन्ने देखिएको छ, न त देशका नेताहरू नै ।
राज्यकोषको दोहनमा सबैको साँठगाँठ देखिन्छ । यस्तो नभई भ्रष्टाचारले मौलाउने अवसर नै पाउँदैन र भ्रष्टाचारीको मनोबल बढ्नै सक्दैन । देशमा भएका वा भइरहेका ठूल्ठूला भ्रष्टाचारका काण्डहरूमा मुछिएका नेता, कर्मचारी र विशिष्ट पदाधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउने काममा हुने गरेको सुस्तता, अनिच्छा र उदासीनताले कहीँ न कहीँ भ्रष्टाचारमा सबैको साँठगाँठ छ भन्ने देखाउँछ । नभए हिजो गाउँबाट चप्पल पड्काउँदै सहर छिरेका नेताहरूको जीवनशैली राजामहाराजाको जस्तो कसरी हुन्थ्यो ? जागिर खाएको केही वर्षमै अधिकांश सरकारी कर्मचारीको शहरमा आकर्षक ठाउँमा घरघडेरी कसरी बन्थ्यो ?
पछिल्लो पटक चर्चामा आएका ललितानिवास जग्गा प्रकरणदेखि नक्कली भुटानी शरणार्थाी प्रकरण, ६१ किलो सुन प्रकरण, टीकापुर जग्गा घोटाला, गिरिबन्धु टी-स्टेट प्रकरण, पशुपतिको जलहरी प्रकरणजस्ता धेरैवटा आर्थिक अनियमितताका मुद्दाहरूमा निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्ने विषयमा सरकारले देखाएको अनिच्छा र उदासीता आलोच्यमात्रै होइन अत्यन्तै खेदजनक पनि छ । भ्रष्टाचारका मुद्दाहरूको निष्पक्ष छानविन र कारबाही प्रक्रियामा देखिएको सरकारको मौनता, निष्क्रियता, अनिच्छा र उदासीनताले सरकारको समर्थन भ्रष्टाचारको पक्षमा रहेको देखिन्छ भने यस्तै कारणले भ्रष्टाचारीको मनोबल उच्च हुने गरेको देखिन्छ ।
भ्रष्टाचारका हरेक मुद्दामा तल्ला तहका कर्मचारीमात्रै दोषी देखाइनु र माथिल्लो तहका आरोपितहरू उम्किनु, अनि ठूला भ्रष्टाचारका मुद्दालाई सरकारले नै उपेक्षा गर्नुले त्यस्तो भ्रष्टाचारमा माथिल्लो तहकै संलग्नता रहेको आशंकालाई पुष्टि गर्दछ । पछिल्लो पटक निकै चर्चित बनेको ललितानिवास जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरण हात्ती हात्ती आयो फुस्साको स्थितिमा पुगेको देखेर आमजनमानस आश्चर्यमा परेका छन् । यस्तो बेथितिले देश ओरालो यात्रामा लागेको स्पष्ट हुन्छ । आफ्नो र परिवारको भविष्य सुनिश्चित र सुरक्षित बनाउने आशामा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले विदेशमा रगत-पसिना बगाएर आर्जन गरी पठाएको रेमिट्यान्सकै कारण यो देशको अर्थतन्त्र टिकिरहेको छ । ठूलो परिमाणमा रेमिट्यान्स नआएको भए यो देश गम्भीर आर्थिक संकटमा परिसक्ने थियो । त्यसरी आएको ठूलो परिमाणको रेमिट्यान्स सदुपयोग गर्ने सद्वृद्धि पनि नभएका र सधैं घुस र कमिसनमा मात्रै ध्यान-दृष्टि लगाइरहेका नेता र नीतिनिर्माताहरूका कारण देश पछौटेपनको दलदलमा भासिन बाध्य भएको हो । यदि देशका शासक र प्रशासकहरूमा दार्शनिक चाणक्यमा झैँ अलिकतिमात्रै नैतिकता भइदिएको भए यस्तो चिन्ताजनक अवस्था आउने थिएन ।
नैतिकता र इमानदारीको कमीले देशमा भ्रष्टाचार निवारणको कार्य सधैँ प्रभावित हुँदै आएको छ । भ्रष्टाचार निवारणको क्षेत्रमा कार्यरत् निकायका पदाधिकारीमा देखिएको नैतिकता र इमानदारीको कमीले तिनीहरूको कार्यसम्पादनमाथि सधैं प्रश्नचिहृन खडा हुँदै आएको छ । सम्पत्ति छानबिन गर्ने अथवा अख्तियार दुरूपयोगको अनुसन्धान गर्ने निकाय निकम्मा भइदिँदा भ्रष्टाचार गर्नेलाई हाइसञ्चो भएको छ । यस्तो हाइसञ्चो यसकारण पनि भएको छ कि भ्रष्टाचार गर्ने र भ्रष्टाचार निवारण गर्ने-गराउनेहरूबीच हाइहेल्लो चल्छ । त्यसकारण भ्रष्टाचार बढिरहेको छ । नैतिकता र इमानदारीको कमीले यस्तो भइरहेको छ ।
सबैभन्दा मुख्य कुरा चाणक्यको जस्तो नैतिक आचरण हुनका लागि नैतिक शिक्षाको आवश्यकता पर्दछ । पछिल्लो समय नैतिक शिक्षालाई गरिएको उपेक्षाको परिणाम हो अहिलेको बढ्दो अनैतिक आचरण र बेइमानी प्रवृत्ति र सामाजिक हिंसाका घटना । विद्यालय तहदेखि नै नैतिक शिक्षालाई अनिवार्य गरी नैतिक आचरणको पालनामा अभिप्रेरित गर्न र नैतिकतासहितको संस्कार बसाउन सके भ्रष्टाचारमात्रै होइन धेरै प्रकारका सामाजिक हिंसालाई पनि न्यूनीकरण गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच