ज्येष्ठ नागरिक, अपांग र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा सुरु

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । विराटनगर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
महानगरवासीलाई सहज र सर्वसुलभरुपमा अस्पताल पुर्याउनका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

महानगरका कार्यबाहक मेयर शिल्पा निराला कार्कीले मंगलबार एम्बुलेन्स सेवाको शुभारम्भ गर्नुभयो । महानगर क्षेत्रभित्र बसोबास गर्ने संस्थागत प्रसूतिका लागि एम्बुलेन्स सेवा निःशुल्क प्रयोग हुनेछ । त्यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, रातो र निलो कार्ड प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिका साथै न्यून आय भएका महानगरवासीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने कार्यबाहक मेयर कार्कीले जानकारी दिनुभयो ।

दुईवटा एम्बुलेन्स मार्फत महानगरले सेवा प्रदान गर्ने छ । लक्षित व्यक्ति बाहेक विराटनगर क्षेत्र भित्र एम्बुलेन्स सेवा प्रयोग गरेबापत अन्यलाई ३ सय रुपैयाँ शुल्क तोकिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताउनुभयो । विराटनगर बाहिरबाट बिरामी ल्याउनका लागि प्रयोग नगरिने उहाँको भनाई थियो ।

विराटनगर बाहिर बिरामी लानु परेमा जिल्ला एम्बुलेन्स सेवा शुल्क निर्धारण समितिले प्रस्ताव गरे बमोजिम सेवा शुल्क लाग्ने छ । महानगरले रानी अस्पताल, वैजनाथपुर अस्पताल, कोचाखाल स्वास्थ्य केन्द्र लगायतका स्थानबाट महानगरवासीलाई सहज र सर्वसुलभरुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?