२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी

Read Time = 2 mins

किएभ । युक्रेनले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया प्रायद्वीपबाट रुसी सेनाले प्रक्षेपण गरेका दुई दर्जनभन्दा बढी ड्रोन र एउटा क्रुज मिसाइल खसालेको बताएको छ । ती ड्रोन र मिसाइल इरानद्वारा निर्मित हुन् । मस्कोले युक्रेनी ऊर्जा पूर्वाधारमा हवाई आक्रमणको अभियान पुनः सुरु गरिरहेको किएभले चेतावनी दिएको छ ।

गतवर्ष ती पूर्वाधारमा आक्रमण हुँदा लाखौं मानिस पानी र तातोबिना बस्न बाध्य भएका थिए । ‘गए राति रुसी अतिक्रमणकारीले ३१ वटा साहेद (मानवरहित हवाई अस्त्र) र एउटा इस्कान्दर-के क्रुज मिसाइलले आक्रमण गरे’, उक्त मिसाइल र २९ वटा ड्रोन खसालेको उल्लेख गर्दै युक्रेनको वायु सेनाले भन्यो ।

दक्षिणी क्षेत्रको माइकोलाइभ र मध्यक्षेत्रको निप्रोपेट्रोभस्कका जिम्मेबार फौजले उक्त मिसाइल र ड्रोनहरू खसालेको सेनाले विज्ञप्तिमा जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यसै साता युरोपेली युनियनसमक्ष रुसका साथै रुसी सेनालाई ड्रोन क्षेप्यास्त्र आपूर्ति गर्ने इरानमाथिको प्रतिबन्धलाई फराकिलो बनाउन आग्रह गर्नुभएको थियो । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?