राष्ट्रिय आयोजनाको दुरावस्था : ट्रयाक खुलेको दशकसम्म पनि भएन स्तरोन्नति

फाइल तस्बिर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 10 mins

बागलुङ । राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी-ढोरपाटन सडकको बागलुङ खण्डमा ट्रयाक खुलेको आठ वर्ष बितिसक्यो । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको सडक अहिलेसम्म स्तरोन्नती हुन सकेको छैन । सडकको दुरावस्थाका कारण हजारौँ स्थानीय र पर्यटकले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् । सरकारले तराई-पहाड जोड्नका लागि बनायो योजनाको कामले कछुुवा गतिमा भइरहेको छ । कलिपलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ जिल्लालाई जोड्ने सडकको हालसम्म १३ किलोमिटर मात्रै कालोपत्रे भएको छ । भारतीय पर्यटकलाई सहज रुपमा ढोरपाटन ल्याउने मुख्य उद्देश्य भए पनि यो सडकमा यातायातका साधान भने गुड्न सकि राखेका छैनन् ।

कुल १९१ किलोमिटर मध्य बागलुङ खण्डमा मात्रै ६१ मिलोमिटर सडक पर्छ । त्यस मध्य चार किलोमिटर सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पर्ने हुँदा कालोपत्रे भइसकेको छ । त्यस बाहेक ५७ किलोमिटर सडक निकै साँघुरो र जोखिमपूर्ण छ । सडक स्तरोन्नति गरि ग्राभेलिङ गनका लागि गत वर्ष कार्तिकमा सम्झौता भए पनि अहिलेसम्म कामले गति लिन सकेको छैन । सडक खुलेको दशक बित्नै लाग्दा पनि सडकको हालत उस्तै छ । गुल्मी, अर्घाखाँची, पाल्पा र कपिलवस्तु खण्डमा कामले गति लिए पनि बागलुङ खण्डमा खास्सै काम हुन सकेको छैन । यस खण्डमा दैनिक सयौँ स्थानीय तथा पर्यटकले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । आयोजनाको बुर्तिबाङ-ढोरपाटन खण्ड अन्तरगत बोबाङमा तीन वर्ष अगाडि आएको भिषण बाढीले धेरै स्थानमा सडक बिगारेको थियो ।

बाढीले क्षतविक्षत बनाएको खण्डमा यात्रा गर्न निकै जोखिमपूर्ण छ । गत वर्ष कार्तिकमा ठेक्का सम्झौता भए पनि हालसम्म करिब ३० प्रतिशत मात्रै काम भएको छ । सडक समयमै स्तरोन्नती नहुँदा खासगरी ढोरपाटन नगरपालिका-६, ७, ८ र ९ र निसीखोला गाउँपालिका-७ का स्थानीय बढी मर्कामा गर्ने गरेका छन् । सडक सहज नहुँदा गाउँबाट बुर्तिबाङ बजार झर्न निकै मुस्किल पर्ने निसीखोलाका चुराबहादुर कुँवरले बताउनुभयो । उहाँले निसीखोलाको राजकुट, हर्पे, कुडुला, ढालपानीलगायतका गाउँहरुमा बुर्तिबाङ बजारबाटै दैनिकी उपभोग्य सामान ल्याउनु पर्ने भन्दै सडकका कारण महङ्गो भाडा तिर्न बाध्य हुने भएको बताउनुभयो । साँघुरो र अप्ठ्यारो सडकका कारण यात्रा गर्न पनि जोखिमपूर्ण रहेको उहाँ बताउनुहुन्छ ।

“सडक खुलेको १० वर्षै हुन लाग्यो, अहिलेसम्म जस्ताको त्यस्तै छ, पैदल हिड्न पनि गाह्रो हुने सडकमा गाडी गुड्छन्, तराई तिरबाट गाडी आउँछन् बनाएको सडकमा ट्याक्टर पनि गुड्न गाह्रो पर्छ, यस्तो, तराईबाट अहिलेसम्म एउटा पनि गाडी आएको हाम्ले देखेका छैनौँ,” कुँवरले भन्नुभयो - “बर्खाको तीन/चार महिना त गाडीनै चल्दैनन्, बाटो अप्ठ्यारो हुँदा गाडी भाडा र सामान ढुवानी गरेको भाडा महङ्गो तिर्नु परेको छ, बुर्तिबाङ बजारबाहेक अन्य ठाउँबाट सामान ल्याउन सक्ने अवस्था पनि छैन, सडक छिटो राम्रो बने त बजारबाट ल्याउने सामानको मूल्य सस्तो हुने थियो ।”

ढोरपाटन नगरपालिका-९ का पूर्णबहादुर सुनारले काम नगर्ने निर्माण कम्पनीलाई राज्यले कारबाही गर्न नसक्दा आफूहरुले समस्या खेप्नु परेको बताउनुभयो । बाह्रै महिना ढोरपाटन घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरे पनि सडकका कारण दोस्रो पटक नआउने उहाँको भनाइ छ । बुर्तिबाङदेखि ढोरपाटन देउरालीसम्मको सडक राम्रो बनाउन सके स्थानीय र पर्यटकलाई सहज हुने सुनारले बताउनुहुन्छ । सडकका कारण ढोरपाटनमा उत्पादन भएका स्याउ र आलुको बजारीकरणमा समेत समस्या हुने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुहुन्छ “यो बाटो खुलेदेखि यहाँ धेरै पटक दुर्घटना भयो, बाटो साँघुरो छ, मान्छेलाई गाडी चड्नै पर्छ, यति ठूलो आयोजनामा किन सरकारले ध्यान नदिए होला ?, हामीहरु धेरै मारमा परेका छौँ, सडक छेउमा रहेको घरमा हिउँदमा धुलो र बर्खामा हिलोले हैरानै बनाउँछ, धेरै किसानले ढोरपाटनमा आलु, स्याउ र सिमी उत्पादन गर्छन्, बजार ल्याउन बोकेर सकिदैन, गाडीमा ल्याउँदा मूल्यभन्दा बढी भाडा तिर्नु पर्ने बाध्यता छ, बाटो पिच हुन्थ्यो भने एक घण्टामै बुर्तिबाङदेखि ढोरपाटन सररर पुगिन्थ्यो, भाडा पनि सस्तो हुन्थ्यो, बाहिरबाट घुम्न आउने पर्यटकलाई पनि सहज हुने थियो ।”

सडकले बागलुङको निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिका गरि तीन पालिका जोडिएका छन् । बागलुङ बजारदेखि बुर्तिबाङसम्म राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको सडकले सहज बनाइ दिए पनि बुर्तिबाङदेखि ढोरपाटन भने कष्टकरनै हुने गरेको छ । सरकारले सडक स्तरोन्नतीका लागि ६० करोड रुपैयाँ विनियोजन गरेको छ । गत वर्ष बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका-९ फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नती गर्नका लागि सम्झौता भएको थियो । सडक स्तरोन्नतीका लागि गत वर्ष कार्तिकमा स्वच्छन्द/ओमबुद्ध जेवी काठमाडौँले २३ करोड रुपैयाँमा ३० महिनामा सक्ने गरि जिम्मा लिएको सालझण्डी-ढोरपाटन सडक आयोजना कार्यालयका इन्जिनियर सरोज आचार्यले बताउनुभयो ।

सडक चौडा गर्ने, नाली निर्माण गर्ने र ग्राभेलिङका लागि निर्माण कम्पनीलाई जिम्मा दिइएको उहाँको भनाई छ । निर्माण कम्पनीले केही महिना काम नगरे पनि अहिले तीव्रता दिएको उहाँको भनाइ छ । सडकको ट्रयाक आर्थिक वर्ष २०७२/०७३ मा खुलेको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनीको म्याद अझै एक वर्षसम्म रहेको भन्दै काम गरे आगामी वर्षसम्म सम्पन्न हुने इन्जिनियर आचार्यले बताउनुहुन्छ । निर्माण कम्पनीले पनि समयावधि भित्रै काम सक्ने प्रतिबद्धता जनाएको उहाँको भनाइ छ । बजेट कम पर्ने हुँदा आयोजनाको अन्य खण्डमा पनि काम तीव्र गतिमा हुन नसकेको आचार्य बताउनुहुन्छ ।

“रहेक वर्ष यस आयोजनाका लागि बजेट घटि रहेको छ, गत वर्ष ४० करोड विनियोजन भएकोमा यस वर्ष १७ करोड मात्रै विनियोजन भएको छ, यति बजेटले कहाँ-कहाँ काम गर्ने ?, यद्यपी अप्ठ्यारा ठाउँहरुमा सजिलो नाउने काम हुने छ,” इन्जिनियर आचार्यले भन्नुभयो - “अहिलेसम्म २२ किलोमिटर सडक कालोपत्रे भएको छ, पाँच किलोमिटर कपिलवस्तर, १३ किलोमिटर अर्घाखाँची र चार किलोमिटर बागलुङमा कालोपत्रे भएको छ, बागलुङ खण्डमा भएको कालोपत्रे मध्यपहाडी लोकमार्गले गरेको छ, जहाँ लोकमार्ग र हाम्रो आयोजना एकै ठाउँमा पर्छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?