निःशुल्क आधारभूत शिक्षाको पहुँचमा तिलागुफा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 7 mins

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकालाई निःशुल्क अनिवार्य तथा आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को उप दफा (ज) अनुसार स्थानीय तहलाई माध्यमिक र आधारभूत शिक्षा सम्बन्धीका २३ वटा अधिकारको व्यवस्थाअनुरूप नगरपालिकालाई निःशुल्क आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा गरिएको हो ।
सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालीकोटद्वारा सञ्चालित सहयात्रा परियोजनाको सहकार्य, तिलागुफा नगरपालिकाको आयोजनामा पालिकालाई निःशुल्क अनिवार्य तथा आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा कार्यक्रम गरिएको छ ।

तिलागुफा नगरपालिकाका शिक्षा अधिकृत लीलाराज बमले जबसम्म विद्यालय, समुदाय, समाज, घर र परिवारमा बालबालिकाहरूमा थप हुने सबै प्रकारका हिंसाहरूको अन्त्य हुँदैन तबसम्म गुणस्तरीय बालविकासको परिकल्पना गर्न नसकिने बताउनुभयो । उहाँले पालिकामा चार वर्ष उमेर पूरा गरेका र १२ वर्ष उमेर समूहका सबै बालबालिकाहरूलाई विभिन्न माध्यमबाट शिक्षाको पहुँचमा ल्याइएको बताउनुभयो । तिलागुफाका ३६ वटै विद्यालयहरूले आधारभूत शिक्षालाई पूर्णरूपमा निःशुल्क गरी कार्यान्वयन गर्दै आएको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताउनुभएको छ । प्रमुख उपाध्यायले पालिकाका सबै बालविकास केन्द्रहरूमा चार वर्ष पूरा गरेका र आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) ४ देखि १२ वर्ष सम्मका १०० प्रतिशत बालबालिका विद्यालयमा भर्ना भई निरन्तर शिक्षा आर्जन गरिरहेको जानकारी दिनुभयो ।

विद्यालय सुधार योजना, पालिका शिक्षा योजना तयार गरी गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि विद्यालयको शैक्षिक र भौतिक क्षेत्रलाई क्रमशः सुधार गर्दै सबै विद्यालयको विद्यार्थीको औसत सिकाइ उपलब्धि उच्च बनाइने प्रतिबद्धतासमेत नगर उपाध्यायले गर्नुभएको छ ।
सेभ द चिल्ड्रेन, किर्डाक नेपाल कालीकोटद्वारा सञ्चालित सहयात्रा (दोस्रो) परियोजनाको २०७६ देखि २०७९ सम्मको सर्वेक्षणअनुसार ६१ जना बालबालिकाहरू विद्यालय बाहिर रहेको परियोजनाको तथ्यांकमा छ । जसमध्ये चारजना बहु अपांगता भएका बालबालिकालाई उनीहरूको स्रोत विद्यालयमा पठाई भर्ना गरिएको शिक्षा परियोजना संयोजक षडानन्द तिमिल्सिनाले जानकारी गराउनुभयो । उनीहरू मध्ये तीनजना अपांगता भएका बालबालिकाहरूलाई घरमै शिक्षकको व्यवस्था गरी विद्यालयमा भर्ना गरिएको पनि तिमल्सेनाले बताउनुभयो ।
तिलागुफा नगरपालिकालाई निःशुल्क अनिवार्य तथा आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा गर्नका लागि सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालीकोटमा सञ्चालित सहयात्रा (दोस्रो) परियोजनाले विभिन्न पहल कदमी चालेको कार्यक्रमका संयोजक गोविन्द कठायतले बताउनुभयो ।

उहाँका अनुसार शिक्षा शाखा र किर्डाक नेपालको सहकार्यमा विद्यालयभन्दा बाहिर रहेका बालबालिकाहरूको घरधुरी सर्वेक्षण तथा तथ्यांक संकलन गरिएको छ । वडास्थित सरोकारवालहरूसँग बालबालिका भर्नाका लागि समीक्षा, आवश्यकताका आधारमा सहयोग तथा भर्ना अभियान कार्यक्रम प्रत्येक वर्ष सञ्चालन गर्दै आइरहेको कठायतको भनाइ छ ।
यस्तै, बालअधिकार शासन तथा बाल संरक्षण परियोजना संयोजक सरिता खत्रीले विद्यालयबाहिर रहेका बालबालिकाहरूलाई घर अनुगमन गरी विद्यालयमा भर्ना गरिएको बताउनुभएको छ ।

खत्रीका अनुसार तिलागुफा नगरपालिकामा अपांगता भएका बालबालिकाहरूलाई शिक्षाको पहुँचमा ल्याउनका लागि रणनीतिक योजना निर्माण, अनिवार्य आधारभूत निःशुल्क शिक्षा घोषणा गर्नका लागि रणनीतिक योजनाको निर्माणसमेत गरेको उहाँले जानकारी दिनुभयो ।
घोषणा कार्यक्रममा किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले आर्थिक अवस्था कमजोर भई विद्यालयमा निरन्तरता नभएका बालबालिकाहरूका लागि आर्थिक सहयोग, आयआर्जन सहयोगगरी बालबालिकाहरूलाई विद्यालयमा निरन्तरता दिएको बताउनुभयो । उहाँका अनुसार जिल्लाको शुभकालिका गाउँपालिकालाई पनि लगत्तै निःशुल्क अनिवार्य तथा आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा गरिनेछ ।

तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायको अध्यक्षता, खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीको प्रमुख आतिथ्यता, छिमेकी जिल्ला हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मणबहादुर शाहीको विशेष आतिथ्यतामा तिलागुफा नगरपालिकालाई निःशुल्क अनिवार्य तथा आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?