सामाजिक सञ्जालको दुरूपयोग र परिणाम

हिमालय टाइम्स
Read Time = 8 mins

राजनीतिशास्त्रले भन्ने गरेको प्रजातन्त्र संसारकै उत्कृष्ट शासन प्रणाली हो तर यो बिग्रियो भने भिडतन्त्रमा परिरणत हुन्छ भन्ने भनाइ हाम्रो देशको सन्दर्भमा हाल देखापरिरहेको छ । प्रणालीले दिएको स्वतन्त्रताको हकको अहिले चरम दुरूपयोग भइरहेको छ र त्यसले सिर्जना गरेको अराजक अवस्थाका कारण दोष राज्य प्रणालीलाई नै लाग्न पुगेको छ । प्राचीनकालदेखि हालका दिनसम्म संसारमा अनेकौं प्रकारका शासन प्राणालीहरूको अभ्यास हुँदै आएको छ । प्राचीन कालमा राजातन्त्रकै बाहुल्य हुन्थ्यो र राजाहरू निरंकुश नै हुन्थे । उनीहरूको आदेश नै कानुन हुन्थ्यो । पौराणिक कालका राजाहरू भने केही अत्यन्त जनप्रिय पनि हुन्थे । आधुनिक युगमा पनि राज्यव्यवस्थाका अनेक अभ्यास हुँदै आएका छन् तर ती सबैलाई वर्गीकरणको दायराभित्र ल्याउने हो भने मुख्य गरी पाँच प्रकारका शासन प्रणालीको अभ्यास भएको छ ।

राजाले गर्ने प्रत्यक्ष शासन, सैनिक शासन, धार्मिक शासन, एक दलीय वा निर्दलीय शासन कुनै पनि प्रजातन्त्र होइनन् । हुकुम नै कानुन हुने अवस्थाको राजतन्त्र निरंकुश हुने नै भयो । सेनाले जनतालाई बन्दुक देखाएर तर्साएर गर्ने शासनमा पनि प्रजातन्त्रको अभ्यास हुने कुरै भएन । धर्मका नामबाट गरिने शासनमा ईश्वरको भय सिर्जना गरिन्छ र धर्मका नाममा कानुन निर्माणकासाथ लागू गर्न बाध्य पारिन्छ । त्यसमा पनि जनताले आफ्नो स्वतन्त्रताको उपयोग गर्न पाउँदैनन् । यसैगरी एकदलीय राज्य प्रणाली भनेको कम्युनिष्ट व्यवस्था हो यसमा जनताले दल खोल्न पाउँदैनन्, सरकारले खोल्छ र देशमा एउटा दलमात्रै हुन्छ-कम्युनिष्ट पार्टी । कसैसँगको प्रतिस्पर्धा नहुने भएका कारण यस्तो प्रणालीमा पनि प्रजातन्त्र हुँँदैन जनता निरंकुशतामै जकडिनुपर्छ ।

यससँगै लोकतन्त्रविहीन राजनीतिक प्रणाली हो दलविहीनता । नेपालमा तीन दशकसम्म लागू भएको पञ्चायती प्रणाली दलविहीनताको उदाहरण हो । माथि भनिएका यी सबै प्रणालीमा प्रजातन्त्र वा स्वतन्त्रता हुँदैन । असहमतिको अधिकार, फरक संगठन खोल्न पाउने अधिकार, अभिव्यक्ति स्वतन्त्रता नभएका यी चारवटाभन्दा नितान्त फरक र अहिलेसम्मको प्रयोगमा सर्वोत्कृष्ट राज्य प्रणालीका रूपमा पछिल्लो चरणमा विकसित बन्दै आएको राज्यप्रणाली हो प्रजातन्त्र । प्रजातन्त्र वा लोकतन्त्रमा जनअधिकार कुण्ठित हुन पाउँदैनन् ।

तिनको सुनिश्चितता गरिएको हुन्छ । जनताका मौलिक हकहरू तथा मानव अधिकारको प्रत्याभूति गरिन्छ । मौलिक अधिकारको भागमा स्वतन्त्रता, समानता जस्ता हकहरू व्यवस्थित भएका हुन्छन् । जात, जाति, धर्म, वर्ण, लिंग, आस्थाका आधारमा भेदभाव नगरिने र पेशा, रोजगार, व्यवसाय गर्न पाउने, हिँड्डुल गर्न पाउने, भेला हुन र भाषण गर्न पाइने, दल खोल्न पाइने जस्ता स्वतन्त्रता जनताले पाउँछन् ।
प्रजातन्त्रमा धार्मिक स्वतन्त्रता, देश निकालाविरुद्धको स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रतालगायत स्वतन्त्रता पनि जनतालाई दिइएको हुन्छ । यिनै स्वतन्त्रतामध्येको एक हो अभिव्यक्ति स्वतन्त्रता तर यसको सदुपयोगभन्दा दुरूपयोग बढी भइरहेको वर्तमानका गतिविधिले देखाएका छन् । सञ्चार क्षेत्रमा आएको ठूलो क्रान्ति हो सामाजिक सञ्जाल । हालका दिनहरूमा यसको दुरूपयोग भइरहेको छ । राज्यले यसलाई व्यवस्थित गर्न नसकेका कारण अश्लील गतिविधि फैलाउन यसले कारक भूमिका खेलिरहेको छ । यसैगरी सामाजिक सञ्जालका रूपमा प्रयोग हुँदै आएका फेसबुक, भाइबर, मेसेन्जर, युट्युव, ट्विटर आदिमा स्वेच्छाचारी लेखनले समाजमा भड्काउवादी चिन्तनको विकास र अराजकता बढ्न पुगेको छ ।

प्रजातन्त्रमा स्वतन्त्रताको उपयोग गर्न पाइन्छ तर एउटा के भनाइ छ भने आफ्नो अधिकारको प्रयोग गर्न त्यस हदसम्म पाइन्छ जुन हदसम्म प्रयोग गर्दा अर्काको अधिकार हनन् नहोस् । यो नै प्रजातन्त्रको मर्म हो । यसलाई महामन्त्र मानेर व्यवहार गरुन्जेल समाजमा कुनै प्रकारको असमन्जस्यता पैदा हुन पाउँदैन तर जब आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन् हुने काम गर्छौं त्यसपछि भने समाज भाँडिन थाल्छ । अहिलेको अवस्था त्यस्तै हो । प्रजतन्त्र हाम्रा लागि के के न पाएजस्तो भएको छ र हामी यसको चरम दुरूपयोग गरिरहेका छौं ।

प्रजातन्त्र भनेको एउटा प्रणाली हो । जनताले आवधिक रूपमा निर्वाचित गरेका प्रतिनिधिबाट निर्मित कानुनका आधारमा राज्य सञ्चालन गर्ने प्रणाली विकसित भएपछि त्यो स्वचालित गतिमा अगाडि बढिरहन्छ तर हाम्रोमा भने प्रणाली नै विकसित बन्न सकेन र यो अगाडि बढ्नमात्र पनि सकिरहेको छैन । विगतमा अधिकार थिएन, राम्रो काम पनि भएन भनेर नै राम्रो काम गर्ने प्रतिबद्धताका साथ ल्याइएको प्रणाली हो यो । तर यसले त पहिलेको निरंकुश व्यवस्थाको भन्दा बढी कुँडाकर्कटहरू थुपारिदिँदै छ । यो नै सबैभन्दा दुःखद् कुरा हो । जनताले पनि प्रजातन्त्र बुझ्न सकेनन् । विज्ञानको वरदानका रूपमा पाएको सामाजिक सञ्जाललाई सदुपयोग गर्नुको सट्टा दुरूपयोग बढी गरिरहेका छन् । वर्तमान समयका भड्काउवादी व्यवहारका कारक यिनै बनिरहेका छन् । यिनलाई नियमन र व्यवस्थित गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?