बेनी–दरबाङ सडक चार दिनपछि सञ्चालनमा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । गत मंगलवारदेखि अवरुद्ध बेनी–दरबाङ सडक शुक्रबार (आज) बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । लगातारको वर्षापछि सोमबार राति खसेको पहिरोले मंगलबार बिहानैदेखि सडक अवरुद्ध भएको थियो ।

म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने हुँदा पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएको तातोपानीका व्यवसायी विरेन्द्रमान शाक्यले बताउनुभयो ।

सडक डिभिजन कार्यालय र यातायात व्यवसायीको पहलमा डोजर लगाएर पहिरो पन्छाएपछि सडक सुचारु भएको यातायात व्यवसायी अर्जुन आचार्यले जानकारी दिनुभयो । १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिराको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।

धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । ‘बेनी–दरबाङ सडक पाखो र भिरको बीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । सडकमाथिको भिरमा गेगरैगेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन’, अध्यक्ष रोकाले भन्नुभयो ‘म्याग्दी नदीको किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ ।’ उहाँका अनुसार सडकदेखि करिब दुई सयमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।

पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दा बित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । ‘फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ’, उहाँले भन्नुभयो ‘ठूलो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ ।’

म्याग्दीको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेत अन्तर्गतको बेनी–दरबाङ्ग सडक खण्डको वैकल्पिक माग खोजिने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बताउनुभयो । सांसद गर्बुजाले भौतिक मन्त्रालयअन्तर्गत विभिन्न कार्यालय प्रमुखलाई जिल्लाको पहिरोको समस्यालाई हल गरिदिन आग्रह गरेको जानकारी दिनुभयो । फापरखेतको पहिरो बेनी –दाबाङ्ग सडकको सबैभन्दा टाउको दुखाईको विषय बनेको छ । उहाँका अनुसार सडकदेखि करिब २ सय मिटरमाथि र १५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।

पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुदाँ यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ । पश्चिम म्याग्दीको लाइफलाइन मानिएको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनी जोड्ने सडक वर्षायाममा निकै जोखिमपूर्ण बन्दै गएको सांसद गर्बुजाको भनाइ छ ।

हालसम्म उक्त सडकखण्डमा राज्यको करोडौ खर्च भए पनि समस्याको समाधान हुन नसकेको गर्बुजाले बताउनुभयो । वर्षेनी खर्च गर्नुभन्दा अब नेपाल सरकारले यसको विकल्प खोजी दीर्घकालीन समाधान दिनुपर्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?