गणतान्त्रिक व्यवस्था मन नपराउनेहरु धार्मिक द्वन्द्व निम्त्याउन संलग्न छन्ः सांसद शर्मा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा(माओवादी केन्द्र)की सांसद नारायणी शर्माले गणतान्त्रिक व्यवस्था मन नपराउनेहरु धार्मिक र साम्प्रदायिक द्वन्द्व निम्त्याउन संलग्न रहेका बताउनुभएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले वर्तमान गणतान्त्रिक व्यवस्थालाई मन नपराउनेहरु नै धार्मिक र साम्प्रदायिक द्वन्द्व निम्त्याउन संलग्न रहेका बताउनुभएको हो । उहाँले यस प्रकारको द्वन्द्व निम्त्याउन उनीहरुले नै प्रेरित गरिरहेका बताउनु भयो । उहाँले धार्मिक, सामाजिक सद्भाव कायम गर्नुपर्ने र त्यसका निम्ति सकारात्मक बाटो देखाउनुपर्नेमा जोड दिनुभयो । द्वन्द्व निम्तिन नदिन सबै राजनीतिक दलहरु र नागरिकहरु एक ठाउँमा उभिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘के देखिन्छ भने कतै न कतैबाट केही भइराखेको छ भन्ने एउटा प्रश्न चाहीँ अहिले उठिरहेको छ । किनभने यो राज्य प्रणालीलाई, अहिलेको गणतान्त्रिक व्यवस्थालाई मन नपराउनेहरु कतैबाट उक्साहटमा त लागिराखेका छैनन् ? यो राज्य व्यवस्थालाई जसले विभिन्न ढंगले आक्रमण गर्न अगाडी बढिराखेका छन् हामीले सदनमा हेरौँ या सडकमा हेरौँ । हामी कतैबाट हेर्दाखेरी पनि जो बोलिहरु यहाँ उठिरहेका छन् यिनी कुराहरुले कतै न कतै प्रेरित गरेको छ जस्तो लाग्छ मलाई । यो भड्काउने खालको जुन षड्यन्त्र भइराखेको छ, यतातिर जान नदिनको निम्ति सबै सचेत नागरिक र सबै राजनीतिक दलहरुले एक ठाउँमा उभिनका लागि र मिलेर सद्भाव कायम गर्नको निम्ति हामीले सकारात्मक बाटो देखाउन जरुरी छ । त्यता लाग्न जरुरी छ । धार्मिक द्वन्द गराउने प्रयत्नमा पछाडीबाट को उभिएको छ, यो राज्यले चिन्न जरुरी छ । जसले अहिलेको गणतान्त्रिक राज्य व्यवस्थालाई खासगरी मन पराइराखेका छैनन् त्यस्ता तत्वहरुको कतै न कतै संलग्नता हुनसक्छ ।’

सांसद शर्माले द्वन्द्व फैलाउन पर्दा पछाडी उभिएकाहरुलाई राज्यले चिन्नुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?