एसियाली खेलकुद : करातेकी एरिका गुरुङद्वारा नेपाललाई ऐतिहासिक रजत पदक

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ नेपालले एतिहासिक रजत पदक दिलाउनुभएको हो । महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३-० अंकले पराजित हुनुभएको हो । नेपाललाई करातेमा एसियाली खेलकुदमा रजत पदक दिलाउने उहाँ पहिलो नेपाली खेलाडी बन्नुभएको छ ।

एरिका एसियाली खेलकुदमा रजत पदक जित्ने इतिहासमै दोस्रो खेलाडी बन्नुभएको छ । यसअघि सविता राजभण्डारीले तेक्वान्दोमा एसियाडमा रजत पदक जित्नुभएको थियो । राजभण्डारीले सन् १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा रजत पदक जित्नुभएको हो । सन् २०१८ मा इण्डोनेसियामा भएको जकार्ता एसियाडमा प्याराग्लाइडिङको टिम इभेन्टमा नेपालले रजत पदक जितेको थियो ।

रजत जितेपछि एरिकाले एकदमै खुसी मिलेको बताउँदै आगामी दिनमा थप सफलताका लागि मिहिनेत गर्ने प्रतिक्रिया दिनुभयो । ‘उनीहरूको अनुभव बोल्छ । मैले आफ्नो उत्कृष्ट दिएकै हो । विपक्षीले राम्रो खेल्यो । सायद म चुके हँुला । त्यसलाई अब सुधार गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हारभन्दा पनि मैले पाठको रूपमा लिएको छु । यसले प्रेरणा नै दिन्छ ।’ एरिकाले थप्नुभयो, ‘अब अझ कडा मिहिनेत गर्ने हो । धेरै कुरा सिकेको छु ।’ एरिकाका प्रशिक्षक कुशल श्रेष्ठले नेपालले प्राप्त गरेको पदकमा खुसी व्यक्त गर्नुभयो ।

‘एरिकाले जोसँग फाइनल खेल्नुभयो । उहाँहरूकै भिडियो हेरेर अभ्यास गर्नुभएको हो । चार-पाँचपटक विश्व नम्बर वान भएका खेलाडीलाई दबाबमा राखेर जसरी खेल्नुभयो, यसले हाम्रा खेलाडीमा क्षमता छ भन्ने देखिन्छ । यसलाई राखेप, सरकारले आगामी दिनमा निरन्तरता दिनुपर्छ ।’ कुशलले भन्नुभयो, ‘अर्काेपटक गोल्ड नआउने भन्ने त रहेनछ । आउन सक्ने रहेछ त । गोल्ड मेडलभन्दा एक स्टेप ब्याक थियौँ । एकदमै खुसी लागेको छ ।’

शनिबार सम्पन्न सेमिफाइनलमा गुरुङले हङकङकी यान काई होलाई पराजित गर्नुभएको थियो । गुरुङले यान काई होलाई ८-४ अंकले हराउँदै फाइनल यात्रा तय गर्नुभएको थियो । शनिबार नै भएको क्वार्टरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गर्नुभएको थियो । दुवैबीचको खेल एक-एक अंकको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अंक जोडेको) आधारमा विजयी हुनुभएको थियो । योसँगै नेपालले जारी १९औँ एसियाली खेलकुदमा दोस्रो पदक प्राप्त गरेको छ । यसअघि नेपालले महिला कबड्डीमा कांस्य पदक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?