इजरायल घटना : दाङका घाइते प्रविण डाँगीको उपचार हुँदै, परिवारमा बेचैनी

विवेक खड्का दाङ, संवाददाता
Read Time = 5 mins

दाङ । प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणबाट घाइते भएका दाङको दंगीशरण गाउँपालिका-३ हेकुलीका २३ बर्षीय प्रबिण डाँगीको इजरायलको अस्पतालमा उपचार भईरहेको छ ।

बुवा निमबहादुर डाँगीले छोरा प्रबीणसंग आइतबार दिउँसो छोटो कुराकानी गरेको जानकारी दिनुभएको छ । छोराले आफ्नो एउटा खुट्टा घुँडा मुनिबाट छिनालिएको र अर्कौ खुट्टामा गोली लागेको कुरा गर्ना साथ नर्सले फोन खोसेको बुवा निमबहादुरले जानकारी दिनु भएको छ । त्यसयता प्रवीणसँग पुनः सम्पर्क भएको छैन ।

प्रविण गत भदौ २६ मा इजरायल पुग्नु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयबाट उत्पादित पहिलो कृषि विज्ञान (सिलेक्टिभ) टोलीमार्फत् ११ महिनाको लागि उहाँ इजरायल पुग्नु भएको थियाे ।

प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणले प्रविण घाइते भएको खबरले निमबहादुर डाँगीको घरमा तनाव शुरु भएको छ । इजरायलको युद्धग्रस्त क्षेत्रमै रहेका २२ वर्षीय प्रविण डाँगी घाइते भए पछि प्रविणको परिवार अहिले बेचैनी छ । दुईवटा खुट्टामा गोली लागेको छ, एउटा खुट्टा छियाछिया भएको छ रे, अस्पतालले पनि हेरेको छैन रे’ छोराको खबर सुनाउँदै निमबहादुरले भन्नुभयो । सात समुद्रपारि घाइते छोराको खबरले विक्षिप्त भएका निमबहादुर थप वोल्न मान्नुहुन्न ।

निमबहादुरका तीनभाइ छोरा छन् । प्रवीण कान्छा हुन् । अरु दुई छोरा साउदी र कुवेतमा छन् । घरमा निमबहादुरसहित उहाँकी श्रीमती, बुहारी र एक जना नातिनी छन् ।

प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणबाट नाहकमा १० जना नेपालीले ज्यान गुमाइसकेको खवर विभिन्न सञ्चार माध्यमहरुले वताइरहेका छन । त्यहाँ कार्यरत नेपालीहरूको अवस्था विकराल बन्दै गएको छ । कृषि विश्वविद्यालयबाट गएका विद्यार्थी तथा जिटुजी बाट गएका कामदार नेपालीहरू कोही बङ्कर भित्र भोक भोकै छन् भने कोही उद्धारको याचना गरिरहेका खवर सार्वजनिक भइ रहेका छन् ।

इजरायलस्थित नेपाली राजदूतावासले समस्यामा परेका नेपालीहरुको सुरक्षित स्थानान्तरण र नेपाल पठाउन गृहकार्य भइरहेको जनाएको छ । दूतावासले सोमबार विहान प्यालेस्टिनी हमास समुहको आक्रमणमा परेका १७ जनाको अवस्था सार्वनजिक गरेको छ । जसमा १० जनाको मृत्यु भएको जनाइएको छ तीनजना उपचाररत, तीनजना सकुसल र एक जना सम्पर्क विहीन रहेको दूतावसले जनाएको छ । दूतावासले हाल आफू रहेकै ठाउँमा सुरक्षित रहदै रजिष्ट्रेशनप्रक्रियामा सहभागीहुन समेत सबैलाई आह्वान गरेको छ ।

सैनिक शक्ति र गुप्तचरीमा समेत संसारमै अब्बल मानिने इजरायल माथि अचानक यति ठुलो हमला हुँदा विश्व नै स्तब्ध देखिएको छ ।इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न मन्त्रिपरिषदको विशेष बैठक बस्दै छ । सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रायोजनका निम्ति लगत संकलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?