टाइम्सको अग्रता कायमै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय बास्केटबल लिग (एनबिएल)मा आफ्नो अन्तिम दुई खेल बाँकी रहँदासम्म टाइम्स इन्टरनेसनल कलेजले अंकतालिकाको अग्रतालाई कायम राखेको छ । टाइम्सले आफ्नो पाँचौँ खेलमा गोल्डेनगेट इन्टरनेसनल कलेजलाई आइतबार ८९-६५ ले हराएको छ ।

पहिलो क्वाटरमा २३-१८ ले अगाडि रहेको टाइम्सले अग्रतालाई कायम राख्ने क्रममा दोस्रो क्वाटरको अन्त्यमा ४६-३३ बनायो । तेस्रो क्वाटरको समाप्तिमा टाइम्स ६६-४२ ले अघि रहृयो । २१ स्कोर गरेका टाइम्सका श्रेयशबहादुर शाही म्यान अफ दी म्याच घोषित हुनुभयो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी एनबिएलको आइतबारको पहिलो खेलमा कीर्तिपुर बास्केटबल क्लबले रोयल स्पोटर््स सेन्टरलाई १०२-९३ ले हरायो । खेलमा कुनै पनि क्वाटरमा रोयलले अग्रता लिन सकेन ।

पहिलो क्वाटरमै ३५-१४ को फराकिलो अग्रता बनाएको खेलको दोस्रो क्वाटरको समाप्तिमा कीर्तिपुरले ६५-३१ बनायो । तेस्रो क्वाटरको अन्त्यमा ७७-५९ ले कीर्तिपुर अघि रहृयो । २८ स्कोर गरेको कीर्तिपुरका जयदीप खेलको म्यान अफ दी म्याच चुनिनुभयो ।

१० अंकसहित टाइम्स शीर्षस्थानमा छ भने समान ८ अंक जोडेका कीर्तिपुर दोस्रो र रोयल तेस्रो स्थानमा छन् । ७ अंकसहित त्रिभुवन आर्मी क्लब चौथो, समान ६ अंक जोडेका बुढानीलकण्ठ बास्केटबल क्लब पाँचौँ, गोल्डेनगेट छैटौँ स्थानमा छन् । विशाल मिलन केन्द्रको ५ र हाउन्ड्स एकेडेमीको ४ अंक छ ।

नेपाल बास्केटबल संघ र डिजिफ्लाइको सहकार्यमा हुने सिंगल राउण्ड रोबिनको एनबिएलमा ८ टोली सहभागी छन् । असोज २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?