काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एसियन गेम्सको १९औँ संस्करणमा पदक विजेता खेलाडीलाई नगर परिक्रमासहित सम्मान गर्ने भएको छ । आइतबार चीनमा सम्पन्न एसियाडमा नेपालले एक रजत र एक कांस्य पदक जितेको छ । एसियन गेम्समा कराँतेबाट एरिका गुरुङ र महिलाको कबड्डी टिमले रजत पदक जित्नुभएको थियो ।
पदक विजेता खेलाडीलाई मंगलबार नगर परिक्रमासहित सम्मान गर्ने कार्यक्रम रहेको राखेपका निमित्त सदस्य-सचिव सम्राट कुशारीले जानकारी गराउनुभयो । १९औँ संस्करणमा सहभागी हुन चीन गएको नेपालको टिम मंगलबार स्वदेश फर्कंदैछ ।
बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुने र्याली गौशाला, चाबहिल, नारायण गोपाल चोक, प्रहरी प्रशिक्षण प्रतिष्ठान, लैनचौर, केशर महल, दरबारमार्ग, भद्रकाली, शहीद गेट हुँदै दशरथ रंगशालामा पुगेर समापन हुने कार्यक्रम छ ।
एरिकाले शनिबार ६८ केजी तौल समूहमा रजत पदक जित्नुभएको थियो । एसियाडमा कराँतेले रजत पदक जितेको यो नै पहिलोपल्ट हो ।
यसअघि नेपालमा सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो । यसअघि नेपालले १८औँ संस्करणसम्म आइपुग्दा दुई रजत र २२ कांस्यसहित २४ पदक जितेको थियो ।
महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित तीन-शून्य अंकले पराजित हुँदै रजतमा खुम्चिनुभएको थियो । सेमिफाइनलमा गुरुङले हङकङकी यान काई होलाई पराजित गर्नुभएको थियो । गुरुङले यान काई होलाई आठ–चार अंकले हराउँदै फाइनल यात्रा तय गर्नुभएको थियो । यस्तै, क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गर्नुभएको थियो । दुवैबीचको खेल एक–एक अंकको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अंक जोडेको) आधारमा विजयी हुनुभएको थियो ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ का अनुसार एसियाडमा व्यक्तिगत स्पर्धामा रजत पदक जित्ने खेलाडीले १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रावधान छ । यस्तोमा एरिकाले रजत पदकका लागि साढे १९ लाख रुपैयाँ पाउनुहुनेछ । त्यसबाहेक उहाँलाई विभिन्न व्यक्ति तथा संस्थाले पनि नगद पुरस्कार दिने घोषणा गरिसकेका छन् ।
यसअघि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । कार्यविधिअनुसार समूहगत स्पर्धाको कांस्य पदक विजेता कबड्डी टोलीका हरेक खेलाडीले जनही तीन लाख ९० रुपैयाँ पाउनेछन् । कबड्डीका खेलाडीहरूमा मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडू, गंगा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जनाकुमारी थारु, कलावती पन्त, इशा राई, सुनिता थापा, नितु गुरुङ, मनमती विष्ट हुनुहुन्छ ।
कांस्य जित्ने खेलका मुख्य प्रशिक्षकले दुई लाख ६० हजार र सहायक प्रशिक्षकले एक लाख ३० हजार रुपैयाँ पाउनेछन् । कबड्डीमा पार्वती राई मुख्य प्रशिक्षक र विष्णुदत्त भट्ट प्रशिक्षक हुनुहुन्छ । व्यवस्थापक डिल्लीराम काफ्लेले पनि एक लाख ३० हजार पाउनुहुनेछ । त्यस्तै, कबड्डी संघले तीन लाख ९० हजार रुपैयाँ पाउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच