
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मानसिक स्वास्थ्य प्रवद्र्धनका कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभएको छ ।
विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलमा मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको हो ।
उहाँले वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभुत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशहरूसँग समन्वय गर्नुपर्ने बताउनु भयो ।
सबै नागरिकको मानसिक सुस्वास्थ्यका लागि मानसिक स्वास्थ्यको सेवालाई बिस्तार गर्न प्राथमिक स्वास्थ्य सेवासँगै एकीकृत गर्दै लैजान पहलकदमी अगाडि बढाइएको बताउनु भयो । मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कुरितिलाई न्युनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनुपर्ने बताउनु भयो । उहाँले समावेशी र समानुभुतिपूर्ण समाज निर्माण गर्न, मानसिक रोगीका बिरूद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्ने, सबैलाई मर्यादित र सम्मानकासाथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘सबै क्षेत्रहरूले पनि मानसिक स्वास्थ्य प्रवर्धनका कार्यहरूलाई प्राथमिकता दिनु उत्तिकै महत्वपूर्ण छ । हाम्रा परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलहरूमा मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने वातावरण सिर्जना गर्नु आवश्यक छ । त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका हाम्रा नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभुत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न हामीले अन्य देशहरूसँग समन्वय गर्न आवश्यक छ । स्वास्थ्य सेवा नीति निर्माताले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस सम्बन्धी नीति निर्माण र योजना तर्जुमा गर्दा सरोकारवाला पक्ष र निकायको प्रतिनिधित्व गराउनेतर्फ गम्भीर ध्यान दिनुपर्छ । तर्जुमा गरिएका योजना र कार्यक्रमहरू कार्यान्वयनका लागि प्रभावकारी समन्वय र सहकार्य जरूरी छ । त्यसका लागि आवश्यक पर्ने स्रोत र साधनको प्रवन्ध गर्न नेपाल सरकार गम्भीर रहेको कुरा पनि म जानकारी गराउँछु । हरेक व्यक्तिले आ–आफ्नो ठाउँबाट मानसिक स्वास्थ्यको सम्बोधनका लागि योगदान गर्न सकिन्छ । तसर्थ, स्वस्थ जीवनशैलीका लागि स्वस्थ आहार, पर्याप्त आराम र निन्द्रा, नियमित व्यायाम गरौँ । मद्यपान वा सुर्तीजन्य पदार्थको सेवन नगरौँ । दुःखमा साथी, सहकर्मी, आफन्तको सहयोग लिउँ र सहयोग गरौँ । तनाव र समस्यामा परेकाको कुरा सुनौँ र मद्दत गरौँ । यदी मानसिक स्वास्थ्यमा केही समस्या देखिएमा स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह लिन नहिच्किचाउँ । अन्य व्यक्तिलाई उपचार सेवा लिन उत्प्रेरित गरौँ । भेदभावरहित समाज निर्माण गर्न र सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गरेमा पनि मानसिक स्वास्थ्यको निम्ति ठूलो लगानी हुनेछ ।’
प्रधानमन्त्री दाहालले चिकित्सा शिक्षा ऐन संसोधन लगायतका समस्या स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालय मिलेर छिटै समाधान गरिने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच