
असत्यमाथि सत्यको विजयको रूपमा सदियौंदेखि मनाउँदै आएको विजया दशमी यसपालि पनि दलानमा आइसकेको छ । नेपाली समाजमा यो चाड कहिलेदेखि मनाउन थालियो भन्ने आधिकारिक मिति त भेटिँदैन तर आजका दिनसम्म यसलाई बहुसंख्यक नेपालीहरूले सद्भाव, सदाचार र भाइचाराको रूपमा मनाउँदै आइएको पाइन्छ । समयको परवर्तित रूप तथा मानवीय व्यवहारसँगै यस चाडको धेरै पक्षमा भिन्नता आउन थालेको छ । समाजका अन्य विषयवस्तु जस्तो धार्मिक, सांकृतिक पक्षमा आधारित विश्वास मूल्य, मान्यतामा छोटो समयभित्रै वस्तुपरक सोच र व्यवहारको रूपमा रूपान्तरण गर्ने कुरा हाम्रो जस्तो समाजमा मेल खाँदैनन् ।
यद्यपि परम्परागत सनातनी विषयवस्तुमा समयसापेक्ष परिवर्तनको आवश्यकता समय समयमा खड्किरहेको हुन्छ । यी पक्षहरूमा समाजमा आजको भोलि परिवर्तन गर्नु वा गराउन खोज्नु गाह्रो पनि हुने गर्दछ । दशैँ-तिहारको नेपाली समाजमा सांस्कृतिक मात्र नभएर आर्थिक प्रभाव वा दुष्प्रभाव दुवै हुने गरेको पाइन्छ । विसंको पचासको दशकअघिसम्म नेपाली समाज तथा समुदाय सरल प्रकृतिको थियो । मुलुकभित्रको पूर्वाधार विकासको हकमा खासगरी यातायात नाम मात्रको थियो । पूर्व-पश्चिम राजमार्गले पूर्णता पाएको धेरै भएको छैन । कर्णालीपारिका नेपाली भारतीय बाटो भएर नेपाली भूभागको यात्रामा जानुपर्ने बाध्यता थियो । बजारको विकास सीमितमात्र थियो । पहाडी तथा भित्री मधेसका क्षेत्रमा साप्ताहिक तथा पन्ध्रदिने हाट लाग्नेगथ्र्याे । तराईमा हटियमा किनमेल हुनेगथ्र्यो । तराईका हटिया साँझपख लाग्नेगर्थे ।
पहाडी तथा भित्री मधेसका बजार बिहानैदेखि गुल्जार हुने गर्थे । स्वयं राजधानीमा पनि पाटन, कीर्तिपुर, बनेपा, धुलिखेल तथा भक्तपुरबाट मानिसहरू अशन, वसन्तपुर र इन्द्रचोकमा किनमेल गर्ने गरेका कुरा आज पनि गरिरहेका भेटिन्छन् । बजारको विकास खासै नभए तापनि विभिन्न स्थानमा स्थापना गरिएका बजारले मानिसका सबैखाले आवश्यकता पूरा गर्ने गर्दथे । एकाध दशकअघिसम्म नेपाली समाज पूर्णतः कृषिमा आधारित थियो । उत्पादन तथा रोजगारीको एकमात्र मुख्य स्रोत कृषि थियो । मौसमले साथ दिएको वर्षमा किसान बडो खुशी हुन्थे कारण अनाजको उत्पादन राम्रो हुन्थ्यो । अन्यथा वर्षदिनभरि खान पुग्ने उत्पादन हुन सकेमा भाग्यमानी ठानेर दशैँ-तिहार हर्षोल्लासका साथ मनाउने चलन थियो । कृषिबाहेक सजिलो रोजगारको विकल्प स्वरूप सीमित संख्यामा युवाहरू मुग्लान जान्थे ।
एकाध दशकअघिसम्म नेपाली समाज पूर्णतः कृषिमा आधारित थियो । उत्पादन तथा रोजगारीको एकमात्र मुख्य स्रोत कृषि थियो । मौसमले साथ दिएको वर्षमा किसान बडो खुशी हुन्थे कारण अनाजको उत्पादन राम्रो हुन्थ्यो ।
पश्चिमी तराईमा भने युवायुवतीमात्र नभएर सिंगो परिवार दिल्ली, मुम्बईतिर रोजगारका लागि जाने चलन पहिलेदेखि विद्यमान थियो । सीमित जनजातिहरूको संलग्नता भारतीय तथा बेलायती सैनिकमा हुँदा उनीहरूको दशैँ राम्रै हुने गर्दथ्यो । भारतीय सेनामा भर्ती हुने नेपाली युवाहरूमा भने जनजातिहरू बराबरीमै क्षेत्रीहरू हुने गरेको पाइन्छ । निजामती, प्रहरी, सेना र शिक्षक तथा प्राध्यापक जस्ता आन्तरिक रोजगारीका क्षेत्र थिए । नियामित आयस्ता भएकाले मात्र खर्च गर्ने क्षमता राख्दथे । स्थानीय साहु महाजनको इज्जत माथिल्लो स्तरमा थियो । किनभने यिनीहरू अप्ठ्याराका आजभोलिका बैंकहरू नै थिए । दशैँ-तिहार जस्ता चाडपर्वमा महाजनहरूको पैसाको खेती राम्रैसँग फष्टाउँथ्यो । कतिपय साहुहरूले गरिब सिधासोझा नेपालीलाई अप्ठ्यारो समयमा ऋण दिएबापत साठी प्रतिशत सम्मको ब्याजदरका कारण उनीहरूको उठिबास लगाएका कथा सुन्न पाइन्छ । किसानहरूको दशैँ-तिहार घरमा पालेको खसी, अघिल्लो मंसिरमा बेचेको धान, मकै, तोरी वा सनपाट (जुट)जस्ता वस्तुहरूको बेचविखनबाट बचेको पैसाको भरमा चल्ने गर्दथ्यो ।
साथमा घरमा पालेका चौपायहरूको बिक्री तथा अन्य नगद आउने जिन्सीको बिक्रीबाट पनि दशैँ खर्च चलाउने गरिन्थ्यो । खर्च आजको जस्तो अन्धाधुन्ध थिएन । आफ्नो क्षमता र ल्याकतभित्र मात्र खर्च गर्ने चलन थियो । देखासिकी गर्नेहरूको संख्या थियो तर न्यूनमात्र । दालचामललगायत अन्नपातमा समाज पूर्णत आत्मनिर्भर थियो । लत्ताकपडा र मसलालगायत वस्तुमात्र किन्ने चलन थियो । तर, बितेको दुई दशकमा समय १८० डिग्रीमा परिवर्तन भएको छ । आजको दिनमा नेपाली समाजको प्रत्येक परिवारको सदस्य वैदेशिक रोजगारमा संलग्न छ । बाध्यताले भए पनि विदेशमा रहेको सदस्यले घरमा भएका परिवारका सदस्यको दशैँ सकेसम्म राम्रो बनाउने कोसिस गरेको हुन्छ । दशैँ–तिहारको पेरीफेरिमा मात्र विप्रेषण भित्रिने दर अन्य समयमा भन्दा बढी हुनेगरेको छ । अझ यसमा भारतीय भूमिमा कार्यरत नेपालीहरूले भिœयाउने रकम जोडिएको हुँदैन । दशैँ–तिहारको समयमा प्रत्येक नेपालीले अन्य महिनामा भन्दा अलि बढी विप्रेषण पठाउनाले १५ देखि २० प्रतिशत बढी भित्रिने गरेको तथ्यांक राष्ट्र बैंकले दिने गरेको छ ।
वैदेशिक रोजगारीले मुलुकमा विद्यमान बेरोजगारी समस्या अल्पकालीन रूपमै भए पनि समाधानमा अभूतपूर्व सहयोग गरेको छ । औसतमा वार्षिक १० खर्बभन्दा माथिको विप्रेषण भित्र्याउन हामी सफल भएका छौं । विप्रेषणको प्रयोगका बारेमा भने हामी असफल भएका छौं । यही भदौमा मात्र आजसम्मको सबैभन्दा ठूलो परिणाममा विप्रेषण भित्रिएको छ । भदौ महिनामा भित्रिएको रकम ११६ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ । आन्तरिक रूपमा लगानी तथा उत्पादनमा समयसापेक्ष वृद्धि गर्न नसक्दा मुलुकको अर्थतन्त्रले गति लिन सकेको छैन ।
अर्थतन्त्र विप्रेषणको कारण मात्र जसोतसो चलायमान रहँदै आएको छ । गरिबीको रेखामुनि रहेका नेपालीहरूको संख्या १९ प्रतिशत रहेको सरकारी आँकडामा देखिन्छ । वास्तविकतामा यो अंक अलि बढी रहेको सामाजिक-आर्थिक अवस्थाले झल्काउँछ । यावत अप्ठ्याराका बाबजुद पनि खर्च गर्ने र रमाइलो गर्ने पक्षमा भने समाजको आर्थिक रूपमा तल रहेको तह र सोभन्दा माथिको मध्यम वर्ग नै अगाडि रहेको हुन्छ । औसत उपभोग प्रवृत्ति यिनीहरूको नै बढी हुने गर्दछ । सरकारी भकारीबाट बेतन पाउनेहरूको संख्या साँढे सात लाखको हाराहारी रहेको देखिन्छ । यसमा निजामती, शिक्षक, प्राध्यापक, सेना, प्रहरी, संस्थान, प्रतिष्ठान, निर्वाचित राजनीतिक प्रतिनिधिलगायत विदेशमा कार्यरत कूटनीतिक नियोग पर्ने गर्दछन् । बैंक तथा वित्तिय संस्थाले पनि वर्षदिनभरि कमाएको बोनसलगायत इन्सेन्टिभहरू पनि दशैँमै वितरण गर्ने गर्दछन् ।
लगानीका विविध क्षेत्रलगायत पुँजी बजारमा सूचीकृत कम्पनीहरूले पनि आफ्ना शेयरहोल्डर व्यक्ति तथा संस्थाहरूलाई वितरण गर्नुपर्ने नगद तथा बोनस दशैँको मौकामै वितरण गर्ने कोसिस गर्दछन् । विद्यमान निजी क्षेत्रले पनि दशैँमा चाडपर्व खर्च भनेर संस्थाको ल्याकतले भ्याएको रकम बाँड्ने गरेको पाइन्छ । दशैँ–तिहारको लगभग दुई महिनाभित्रमा वर्ष दिनभरिको आम्दानीको २० देखि ३० प्रतिशत रकम व्यक्तिको हातमा आउन र बढेको क्रयशक्तिका कारण बाँकी दश महिना जतिको व्यापार हुनेगरेको व्यापारिक घरानाले बताउने गरेका छन् । अझ तराईमा तिहारलगत्तै छठ पर्ने भएकाले यो किनमेलमा बढोत्तरी आउँछ ।
आमनेपालीहरूको दशैँ-तिहारसँग जोडिएको आर्थिक परिवेशजस्तै सांस्कृतिक स्वरूपमा भने निकै परिवर्तन भएको छ । गाउँघरका घरहरूका संरचना परिवर्तन भएका छन् । अब कमेरोले थोरै र बजारमा पाइने आधुनिक पेन्ट्सले धेरै मानिसका घर रंग्याउन थालिएको छ । हिजोको जस्तो अब गाउँघरमा पिङहरू देखिन छोडे । लिंगे पिङहरू फाट्टफुट्ट देखियता पनि रोटे पिङहरू एकादेशको कथा भएका छन् । आफन्तहरूकोमा हुलका हुल टीका थाप्न जानेको ताँती धेरै भेटिदैनन् । गाउँहरू विस्तार–विस्तार अर्धशहरी क्षेत्रमा रूपान्तरण हुँदै गएका छन् । बहुसांख्यक नेपालीहरू शहर बजारमा बसाइँ सर्ने प्रवृत्तिले चाडपर्वको सांस्कृतिक पक्षहरूमा फरकपन देखिन थालेको छ ।
आफन्तहरूको भिडबाट चाड सीमित परिवार तथा थोरै छिमेकीहरू माझमा सरको छ । परिवारको सांस्कृतिक मूल्य, मान्यतामा ह्रास आउन थालेको छ । ज्येष्ठ सदस्यहरूको ज्ञान, अनुभव तथा समझदारी जस्ता पक्षहरूभन्दा पनि आर्थिक रूपमा सक्षम सदस्यमाथि आवश्यकताभन्दा बढी आड, भरोसा, एवं विश्वास बढेर जान थालेको छ । यो व्यावहारिक रूपमा त राम्रै हो तर समाज परिवर्तनको यो स्वरूप सदैव उपयोगी नहुन सक्दछ । आफन्तहरूको अभावमा नयाँ पुस्तामा सामाजिकीकरणमा समस्या देखिन थालेको छ । नयाँ पुस्ताको हरेक व्यक्ति सजिलो सूचना तथा नेटको पहुँचले मोबाइलमा मस्त छ । सामाजिक-सांस्कृतिक मूल्य मान्यता तथा आवश्कयताको बारेमा न कसैलाई सिकाउने फुर्सद छ, न कसैले यसको आवश्यकताको नै महसुस गरेको पाइन्छ । नयाँ पुस्ता कक्षा १० नसक्दै अष्ट्रेलिया अमेरिका तथा जापानको सपना बुन्न थाल्छ । एउटा छिमेकीको चमकधमकको कारण अर्को छिमेकीको ध्येय जसरी भए पनि छोराछोरी विदेश पठाउनुपर्ने बाध्यताको हुन थालेको छ । दिनानुदिन सांस्कृतिक मौलिकतामा परिवर्तन हुँदै गएको छ । सांस्कृतिक पक्षहरूमा आएको यस किसिमको परिवर्तनलाई कसैलै सुधार तथा कसैले स्खलन भन्ने गरेको पाइन्छ । युवापिँढी तथा उनीहरूको सीप क्षमता तथा दक्षतालाई विकासको मूलप्रवाहमा समाहित गर्दै सुसंस्कृत समाज निर्माणमा स्वदेशले राख्न नसकेकाले विदेशिनु परेको यथार्थतालाई अब हामीले स्वीकार गर्नु पर्दछ ।
अन्त्यमा २०८० को विजया दशमीले मुलुक, समाज र नागरिकहरूमा नयाँ जोश, जाँगर उत्साह भर्ने काम गरोस् । मुलुकले शान्तिको साथमा आर्थिक समृद्धिको पाइला चाल्न सकोस् । दुर्गा भवानीले हामीलाई यस्तो शक्ति दिऊन् कि नेता, कार्यकर्ता तथा सर्वसाधारणदेखि पेशा व्यवसायकर्मीमा नयाँ उत्साहले काम गर्ने वातावरण सिर्जना हुन सकोस् । मुलुकको भयावह अवस्थाको व्यापार घाटा आन्तरिक उत्पादन तथा निर्यात प्रवर्धन क्रमशः कम हुँदै जाओस् । नेपालमा मात्र नभएर विश्वमै शान्ति र सद्भावको वातावरण निर्माण हुँदै जाओस् । मानवीय भावना तथा उच्चतम स्वरूप नै साँचो अर्थमा दशैँको आशिर्वाद हुन सकोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच