बागलुङ । बागलुङका ग्रामीण क्षेत्रमा एक दशक अघिसम्म काठ, ढुङ्गा माटो र घरका थुप्रै घर भेटिन्थे । तर अहिले घरका घर भेटिन छोडेका छन् । अहिले बन्ने घर कि कंक्रिटले ढलान भएका छन्, कि जस्तापाताले छाइएका छन् । घरमा ढुङ्गा तथा खरको छाना हाल्न छोडिएको छ ।
सडक संजालले ग्रामीण क्षेत्र जोडिएसँगै बजारिया रहनसहन त पुग्योनै त्यससँगै घर पनि बजारकै शैलीमा बन्न थालेका छन् । पहिले गाउँका घर ढुङ्गा र खरले सलक्क मिलाएर छाइएका रातोमाटो र सेतो कमेरोले पोतिएका हुन्थे । सहर बजारबाट जोहोकोही गाउँमा पुग्दा ति घरहरुले मनै लोभ्याउने गर्थे । परम्परागत रुपमा बनेका ति घरहरुले धेरैलाई आकर्षित गरेको पाइन्थ्यो ।
तर अहिले गाउँमा बन्ने गरेका कंक्रिटका घरहरुले गाउँको पहिचाननै जोखिममा पर्दै गएको छ । सडकसँगै गाउँ पुगेको आधुनिकताले मौलिकता हराउँदै गएको छ । हरेक दिन गाउँमा सडक निर्माण भइरहेका छन् । सडकको प्रभाव ति पुराना परम्परागत घरहरुमा परेको छ । परम्परागत खर तथा ढुङ्गे घरहरु गाउँबाट विस्तारै ओझेलिँदै छन् । अहिले गाउँमा धमाधम सिमेन्ट र कङ्क्रिटका घरहरु ठडिदै गएका छन् । यसले पुराना मौलिक घरहरु विस्तारै विस्थापित हुने अवस्थामा पु¥याएको छ ।
जिल्लाको तमानखोला गाउँपालिका–३ तमान गाउँमा पाँच वर्ष अगाडिसम्म अधिकांश घरहरु ढुङ्गा र केही खरले छाइएका थिए । तर अहिले ती बस्तीहरुमा पुग्यो भने विभिन्न रंगका जस्तापाताहरुले घरहरु रंगीचंगी देखिन्छन् । कमेरो र रातोमाटोले पोतिएका घरहरु कम पाइन्छ । गाउँमा सडक आएपछि गाउँलेहरुले सहर बजारीयाले जस्तो सिकेर परम्परागत घरहरुलाई भत्काएर नयाँ स्वरुपमा बनाउन थालेको स्थानीय भविन्द्र बुढा मगरले बताउनुभयो । गाउँलेहरुले बजारको देखासिकी गर्दा आफ्नो मौलिक पन गुमाउन थालेको उहाँ बताउनुहुन्छ ।
“हामीहरु सानैदेखि ढुङ्गाका, खरका घरमा खेल्दै हुर्किएका हौँ, अबका हाम्रा पुस्ताले त्यस किसिमको घर देख्न नपाउने भए, अहिले त गाउँमा पनि सिमेन्टका पक्की घर बन्न थालेका छन्, सिमेन्टका घरले गाउँको मौलिकता हराउन थालेको आभाष हुन थालेको छ,” घर्ती मगरले भन्नुभयो – “गाउँमा सिमेन्टका घर बनाउनका लागि सम्बन्धित निकायले रोक लगाउनु पर्छ जस्तो लाग्छ, गाउँनै बजार भए पनि नेपालीको पहिचान कस्तो बन्ला ?, गाउँ त हाम्रो इतिहास हो, गौरव हो ।”
ढोरपाटन नगरपालिका–८ बोबाङमा पनि एक दशक अगाडिसम्म अधिकांश घर खर, ढुङ्गा र काठका थिए । काठकै छानो, काठकै झ्याल ढोका भएका घरले बोबाङको पहिचान बनाएको भन्दै अहिले पक्की घर भवनहरु बन्न थालेको स्थानीय नरबहादुर पुनले बताउनुहुन्छ । अहिले नि यहाँको विभिन्न ठाउँको नाम ढुङ्गे गाउँ, पल्लेघर लगायतले परिचित रहेको भन्दै आधुनिकताले सबै मौलिकता ओझेलमा पार्दै गएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो – “हाम्रो गाउँमा अहिले कसैको पनि घरको घर देखिदैनन्, ढुङ्गाको घर पनि हराउँदै गएका छन्, हामी सानो हुँदा धेरै जस्ता काठ र खरको छाना भएका घर थिए, अहिले जस्तापात र सिमेन्टका घरहरु बनि रहेका छन्, बुढापाको खरको घर हिउँदमा न्यानो र गर्मीमा सितल हुने हुँदा त्यही किसिमको बनाउने गर्थे, अहिले धमाधम नयाँ तरिकाले घर बनि रहेका छन् ।”
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले गाउँको मौलिकता जोगाउनका लागि कंक्रिटका घर बनाउन रोक लगाउने बताउनुभयो । पछिल्लो समय गाउँ–गाउँमा सिमेन्टका भवन बनाउन थालेको हुँदा गाउँपालिकाले यहाँको तमान लगायतका केही गाउँलाई मौलिक गाउँका रुपमा विकास गर्ने गरि योजना बनाएको बताउनुभयो । सडकका कारण मौलिक घर हराउँदै गएको उहाँ बताउनुहुन्छ । तमान गाउँमा भएका घरलाई अब एकै रंगका, एउटै ‘डिजाइन’ निर्माण गरिने अध्यक्ष बुढा मगरको भनाइ छ ।
“तमानखोलाका केही ठाउँमा कंक्रिटका केही घरहरु बनेका छन्, अब बन्ने घर त्यसरी मन लाग्दी बनाउन नपाउने गरि योजना बनाउँछौँ, गाउँको पहिचान र मौलिकतासँग जोडेर घर बनाउनु पर्ने नीति ल्याउँछौँ, तमान गाउँलाई मौलिक गाउँकै रुपमा विकास गर्ने उद्देश्य छ,” उहाँले भन्नुभयो – “अहिले गाउँमा बनेका घर स्वास्थ्यका लागि फाइदाजनक छैन, किनकी गाउँमा चिसो हुन्छन्, त्यसमाथि सिमेन्टका घरहरुले स्वास्थ्यमा प्रतिकुल असर पार्ने देखिएको छ, पुस, माघ महिनामा त्यस्तो घरमा बस्न सकिने रैनछ ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच