काठमाडौं । नेपालीहरूको महान् चाड दशैँ आउन एकसाता मात्र बाँकी छ । तर, हाल बजारमा दैनिक उपभोगमा आउने चिनीको अभाव सुरु भएको छ । सरकारले अहिले दशैँ-तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ । ती पसलमा समेत अहिले चिनी नपाएको उपभोक्ताले गुनासो गर्न थालेका छन् । मंगलबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बिक्री कक्षमा चिनी सकिएको सूचना टाँसिएको थियो । थापाथलीमा मात्र होइन, खाद्य व्यवस्था कम्पनीद्वारा ४२ जिल्लाका ४८ स्थानमा सञ्चालित सुपथ मूल्य पसलमा चिनी किन्न गएका ग्राहक रित्तै फर्किने गरेका छन् ।
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गत सोमबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द र साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई चिनी अभाव हुनुको कारणबारे सोधेको थियो । उहाँहरूले सरकारले पहिला चिनी खरिदका लागि अनुमति नदिएको र अहिले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य बढेपछि खरिद गरेर ल्याउन सक्ने अवस्था नभएको जवाफ समितिलाई दिनुभएको थियो । सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार बोलपत्र आहृवान, छनोट, स्वीकृति र त्यसपछि चिनी आपूर्तिको प्रक्रिया सुरु गर्दा दशैँ, तिहारलगायत चाडबाडको समयमा चिनीको अभाव बजारमा देखिएको हो । अर्थ मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी खरिद गर्न गत भदौ २९ गते अनुमति दिएको थियो । कम्पनीमार्फत चिनी खरिदका लागि ४५ दिनको अवधि राखेर अन्तर्राष्ट्रिय बोलपत्र आहृवान प्रक्रिया अघि बढाइएको कम्पनीका कर्मचारीहरूले समितिमा जवाफ दिएका थिए ।
गोदाममा चिनी सकियो
दशैँ तिहारको समयमा एक महिनामा ५० हजार मेट्रिक टन चिनीको माग हुने गरेको साल्ट ट्रेडिङले जनाएको छ । तर, साल्ट ट्रेडिङले गोदाममा करिब तीन सय मेट्रिक टन मात्र चिनी मात्र मौज्दात रहेको बताउँदै आएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई चिठी पठाउँदै बजार हस्तक्षेपका लागि भनेर ६० हजार टन सहुलियतको चिनी ल्याउने बजेटसमेत मागेको छ । तर, अर्थले सुरुमा यसमा चासो दिएन ।
भदौै अन्तिममा २० हजार टन चिनी आयातका लागि ५० प्रतिशत भन्सार महसुल छुटमा आयात गर्न अर्थले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई अनुमति दिएको थियो । तर, साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन आयातको जिम्मेवारी पाएको थियो । यो चिनी पनि अहिलेसम्म ल्याउन नसकेको दुवै संस्थाले स्वीकारेका छन् । अहिले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका गोदाम रित्तै छन् । साल्टसँग भएको चिनीले जसोतसो दशैँसम्म मात्र पुग्ने साल्टका सह-महाप्रबन्धक कुमार राजभण्डारीले जानकारी दिनुभयो । तीन सय टन चिनी मौज्दात रहेको छ । यो चिनी एकसाता मात्र पुग्ने उहाँले बताउनुभयो । ‘५० प्रतिशत भन्सार महसुल छुट पाएको चिनी आयात नभए सरकारी गोदाम रित्तै हुन्छ । अहिलेको अवस्था यस्तै छ । तत्काल चिनी ल्याउनुपर्छ कि उद्योगमा उत्पादन भएको चिनी मागेर अभाव टार्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
अहिले बजारमा माग भएजति चिनी ल्याउन सक्ने अवस्था छैन । चिनी आउने अवस्था नभएको उहाँको भनाइ छ । सरकारले चाडपर्व सुरु भएसँगै ५० हजार टन चिनी सरकार-सरकार (जिटुजी)मार्फत भारतबाट ल्याउने घोषणा गरेको थियो । तर, भारतमा चिनी मूल्य बढेपछि त्यहाँ नै चिनी व्यापारमा रोक लगाइएको थियो । भारतले जुन १ देखि अक्टोबर ३१ सम्म निर्यातमा रोक लगाएको हो । उखुको अफसिजन भएको र भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रण गर्दै आएका कारण नेपालमा चिनी अभाव भएको हो ।
पैँचो दिन आलटाल
अहिले किलोकै १५० रुपैयाँसम्म मूल्यमा चिनीको कालोबजारी भइरहेको व्यापारीहरू नै बताउँछन् । उपभोक्ताले १५० रुपैयाँमा चिनी किन्न बाध्य हुनुपरेको गुनासो गर्छन् । दशैँसम्म चिनीका अभाव अथवा एक साता भित्रमा चिनी ल्याउन नसके बजारमा चिनीको मूल्य दुई सय रुपैयाँ पुग्ने व्यापारीको अनुमान छ । अहिले पनि बजारमा कालोबजारीमार्फत चिनी आयात भइरहेको एक व्यापारीले जानकारी दिनुभयो । दशैँमा चिनी अभाव हुने भएपछि केही व्यापारीले भारतबाट चिनी ल्याएर व्यापार गर्ने भन्दै हिँडेको उहाँले बताउनुभयो । ‘दशैैँअघि नै चिनीको कालोबजारी सुरु भएको छ । बजारमा चिनी अभाव भएपछि छोइनसक्नु छ । धेरैजसो पसलमा चिनी पाइँदैन ।’ उहाँले भन्नुभयो, ‘दशैँ-तिहारमा चिनीको मूल्य दुर्ई सय रुपैयाँमाथि पुग्छ । चिनी कालोबजारीका लागि सरकारी कर्मचारी पनि मिलोमतो गर्दै छन् । सरकार नै कालोबजारी गराउन लागिपरेको छ ।’ चिनीको बजार नियन्त्रणबाहिर गएको छ । यही अवस्थालाई देखेर बल्ल सरकारले उद्योगीसँग चिनी पैँचो माग्न थालेको छ । तर, उद्योगीहरूले चिनी पैँचो दिन आलटाल गरिरहेको पाइएको छ ।
उद्योगीसँग एक लाख ८८ हजार क्विन्टल चिनी मौज्दात रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागले गत असोज पहिलो सातादेखि नै चिनी पैँचो माग्न थाले पनि चिनी उद्योगले सरकारलाई चिनी पैँचो दिन चासो नदेखाएको विभागकै कर्मचारी गुनासो गर्छन् ।
अहिले उद्योगीहरूले एक लाख ८८ हजार क्विन्टल चिनी मौज्दात रहेको जानकारी दिएको र मौज्दातमध्ये ५० हजार क्विन्टलसम्म चिनी पैँचो मागेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सूचना अधिकारी आनन्दराज पोखरेलले दिनुभयो । उद्योगीहरूले अहिलेसम्म केही प्रतिक्रिया नभएको र केही उद्योेग पैँचो दिनेसमेत बताएको उहाँले बताउनुभयो । विभागले पैँचो मागे पनि कतिपय उद्योगले मौज्दात चिनी भए पनि नभएको भन्दै दशैँमा महँगो मूल्यमा बेच्ने तयारीमा छन् । अहिले बजारमा देखिएको चिनी अभावको फाइदा उठाउने पक्षमा उद्योगसमेत रहेको व्यापारीहरूको आरोप छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच