पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन एमाले अध्यक्ष ओलीको निर्देशन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन निर्देशन दिनुभएको छ ।

पार्टी सदस्यता लिएकै भोलीपल्ट माथिल्लो पदमा पुग्ने जस्ता उश्रृङ्खल, अराजक गतिविधि भईरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ताले अनुशासन पालना गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

पार्टी निकट नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार काठमाडौंमा दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले पार्टी भित्र आफूलाई केही देखाउनका लागि अनुशासनहिनताको सहारा लिने, उश्रृङ्खलताको सहारा लिने प्रवृत्ति बढिराखेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गरेर अघि बढने बताउनु भयो ।

ओलीले देशमा, समाजमा अराजकता फैलिएकाले त्यसलाई नियन्त्रण गर्न र अनुशासनको पाठ सिकाउने काममा भुतपूर्व सैनिक तथा प्रहरीहरुको भूमिका महत्वपूर्ण हुने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समस्याहरु छन् हामीसँग । देशमा समस्याहरु छन् । ती समस्याको समाधान हामी गर्दै जानेछौं । तर हामी जिन्दगीलाई खुशीयालीपूर्ण, उत्साहपूर्ण, उमंगका साथ मनाउँदै, अगाडि बढाउँदै अघि जानेछौं । हाम्रो काँधमा अभिभारा छन । त्यसैले त हामी संगठित छौं । त्यसैकारण हामी काम गरिरहेका छौं । हामी ती समस्याहरुलाई समाधान गर्न भनेर नेकपा एमाले छ । ती समस्या समाधानका लागि नेकपा एमालेसँग आवद्ध विभिन्न जनवर्गीय संगठनहरु छन । आज सिंगो एमाले आफ्ना अवयवहरुसहित सक्रिय छ । जस्तो हाम्रो सरिरमा सम्पूर्ण अवयवहरु सक्रिय हुन्छन । त्यस्तै एमाले पनि सम्पूर्ण रुपले सक्रिय छ । सिंगो सरिर पनि गतिशील छ । त्यस्तै नेकपा एमाले पनि गतिशील छ । अहिले समाजमा एउटा अराजकता बढेको छ । असहिष्णुता बढेको छ । त्यसले समाजलाई परस्परमा घृणा फैलाउने कामहरु भईराखेको छ । त्यसले एकातिर राष्ट्रिय एकतालाई कमजोर बनाउने काम भईराखेको छ । विभिन्न खालको संकीर्णता, विभिन्न गैरजिम्मेवार खालका अभिव्यक्तिहरु, तरिकाहरु, शैलीहरु यिनीहरुले । अर्कातिर, समाज विकृति, गैरजिम्मेवार भईराखेको छ । यस्तो अवस्थामा जिम्मेवारीबोध कसरी गराउने ? मान्छेलाई अनुशासित ढंगले कर्तव्य पालनामा लाग्नु पर्छ भन्ने कुरा कसले बुझाउने, कसरी बुझाउने ? यस कुरामा अनुशासन सिकेर, अनुशासनको पालना गरेर, अनुशासन व्यवहारमा कार्यान्वयन गरेर आएका भूतपूर्व सैनिक र प्रहरी जति यो कुरा सिकाउनका लागि उपयुक्त अरु कोही हुन सक्दैन । त्यसकारण तपाईहरुले यो कुरालाई बताईरहनु पर्छ । र, समाजलाई, जो आज एउटा प्रवृत्ति छ । जति अनुशासनहीन भयो, जति उछृङखल भयो, जति जथाभावी बोल्यो, त्यति के हुने हो, थाहा छैन । महान हुन खोजेको होला । त्यो प्रवृत्ति छ एउटा । आफूलाई कुछ देखाउनका लागि अनुशासनहिनताको सहारा लिने, उछृङखलताको सहारा लिने प्रवृत्ति बढिराखेको छ । आफूलाई अरु भन्दा केही पृथक देखाउने । त्यसप्रकारका प्रयासहरु भईरहेका छन । त्यसलाई हामीले नियन्त्रण गर्नुछ । अनि, मात्रै सभ्य समाज, अनुशासित समाज बनाउन सकिन्छ । प्रकृति अनुशासन हो । प्रकृतिमा अनुशासन छ । प्रकृति बिल्कुल अनुशासनमा बस्छ । हामी कसैकसैलाई हुन्छ नि–सदस्यता लिएको भोलीपल्ट कताकता माथिल्लो, माथिल्लो पदमा पुगुँ जस्तो । विरुवाले त्यसो भन्दैन । उम्रेको भोलीपल्ट ठूलो रुख भईहालौ भन्दैन । त्यसले आफ्नो अनुशासन पालना गर्छ । हतार भयो भनेर फल फलि हाल्दैन ।’

अध्यक्ष ओलीले मुलुकमा समस्याहरु रहेकाले त्यसको समाधानका लागि एमाले क्रियाशील भईरहेको दाबी समेत गर्नुभयो । एमालेले मुलुकको समस्या समाधानका लागि सिंगो शक्तिलाई परिचालन गरिरहेको उहाँको जिकिर थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?