
तिथि अनुसार आश्विनशुक्ल प्रतिपदा आरम्भ भएदेखि यो वर्षको दशैँ सुरु भएको छ । घटस्थापनादेखि विजया दशमी दिनसम्मको अवधिलाई दशैँ भन्ने गरिएको छ । अझ वास्तवमा त कोजाग्रत पूर्णिमामा जमरा विसर्जन गरेपछिमात्रै दशैँ सकिएको मानिन्छ । यसरी हेर्दा विसं २०८० आश्विन २८ गतेदेखि दशैँ सुरु भएको छ र आज पाँचौं दिन हो । दशैँको शाब्दिक अर्थ लगाएर हेर्दा अहिले दशैँकै समय हो तर यसको लाक्षणिक अर्थात् दशैँ भन्ने बित्तिकै केटाकेटीदेखि बूढापाकासम्मकाले बुझ्ने सामान्य अर्थको अनुभव गर्न खोज्ने हो भने गम्भीर प्रश्न उब्जिन्छ–के साँच्चै दशैँ आएकै हो त ?
हामी केटाकेटी हुँदा सोह्र श्राद्ध आरम्भ भएदेखि नै दशैँ आउन लागेको आभास मिल्दथ्यो र भन्ने गरिन्थ्यो- दशैँ आयो, खाउँला पिउँला, नयाँ नाना लगाउँला आदि आदि । युवाहरूमा बेग्लै जोश पलाएको देखिन्थ्यो भने वृद्धवृद्धाहरू रौनकले भरिपूर्ण देखिन्थे । प्रविधिले खर्लप्पै खाइसकेको जमाना हुँदा आजभोलिका दशैँमा न बालबच्चाहरू नै रमाएको देखिन्छन् भने न युवा र प्रौढहरूमा नै कुनै खास उत्साह थपिएको पाइन्छ । पश्चिमा संस्कृति हावी हुँदै गएकाले केही दशकअघिका दशैँहरूमा देशमा जुन चहलपहल हुने गर्दथ्यो, त्यसको एक अंश पनि आजभोलि देख्न पाइन छाडेको छ ।
सक्षमहरूले दशैँ आफ्नो गच्छेअनुसार समाजमा फुर्ती लगाउने गरी मनाउने गर्दथे । आर्थिक रूपमा कमजोरहरूले पनि ऋणधन गरेर सधैंको भन्दा मीठो मसिनो पकाउने र राम्रा लुगाहरू लगाउने गर्दथे । सबैका निमित्त दशैँ एउटा महान पर्वका रूपमा थियो र यसले राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, पारिवारिक सबै प्रकारका महत्व बोकेको मानिन्थ्यो । नेपाललाई विखण्डनतिर धकेल्नेहरू सक्रिय हुँदै जानु र नेपालीहरूको धार्मिक, सांस्कृतिक परम्पराहरूको संरक्षण-सम्बद्र्धन गर्नुपर्ने मान्यता राख्नेहरू निष्क्रिय हुँदै जाँदा नेपालमा दशैँ आएको हो कि होइन भन्नै गाह्रो हुने अवस्था आएको छ ।
सरकार जनताप्रति उदासीन हुँदै जाँदा ठूला भनिएका चाडपर्वहरूले पनि नेपालीलाई खुशी दिन सकेका छैनन् । सरकारमा बसेकाहरू देशप्रति सम्वेदनशील हुन छाडेकाले मुलुक र जनता दुवैको हैसियत खुम्चिँदै गएको छ । आर्थिक रूपमा देशलाई खोक्रो बनाउँदै लगिएकाले जनताको चाडपर्व मान्ने क्षमतामा ह्रास आउँदै गएको छ । बजारलाई महँगीले छपक्कै ढाकेको छ तर सरकार रोम जलिरहँदा निरो बाँसुरी बजाएर बसे झैँ देशमा कुनै समस्या नभए जस्तो गरी ढुक्क बसेको छ । यो माहौलमा दशैँ आएको अनुभव सामान्य नागरिकले कसरी गर्लान् र ?
नेपालमा अहिले दुई वर्ग छ । दुई वर्गका बीचमा कुनै जोडिने ठाउँ नै छैन । एउटा वर्ग आकाशतिर छ भने अर्को वर्ग पातालतिर धसिएको छ । माथिल्लो आर्थिक हैसियत भएको वर्गलाई देशमा जस्तोसुकै गम्भीर समस्या भए पनि मतलबै छैन र आर्थिक रूपमा तहसनहस भएको वर्गसँग यसलाई संहाल्ने क्षमता नै छैन । दुई वर्गको खाडल पुर्न प्रयत्न गर्नुपर्ने सरकार चाहिँ उही माथिल्लो वर्गको इशारामा क्रियाशील छ र तल्लो वर्ग उपेक्षामा परेको छ । सरकारमा रहेकाहरूको दशैँका आवश्यकता तिनै माथिल्ला वर्गकाले पूर्ति गरिदिने हुँदा दशैँ मान्न नसक्नेहरूका समस्याका बारेमा सरकारलाई थाहै छैन भन्दा कुनै अत्युक्ति हुँदैन ।
एउटा वर्ग आकाशतिर छ भने अर्को वर्ग पातालतिर धसिएको छ । माथिल्लो आर्थिक हैसियत भएको वर्गलाई देशमा जस्तोसुकै गम्भीर समस्या भए पनि मतलबै छैन र आर्थिक रूपमा तहसनहस भएको वर्गसँग यसलाई संहाल्ने क्षमता नै छैन । दुई वर्गको खाडल पुर्न प्रयत्न गर्नुपर्ने सरकार चाहिँ उही माथिल्लो वर्गको इशारामा क्रियाशील छ र तल्लो वर्ग उपेक्षामा परेको छ ।
नेपालमा धनी वर्गकालाई सधैं दशैँ छ । बिहान-बेलुकै भान्सामा मासु पाकेकै छ । उपल्लो वर्ग भनिने यस्ता परिवारका केटाकेटीले महिनैपिच्छे नयाँ लुगा किनिरहेकै हुन्छन् । रमाइलो गर्नका लागि घरभित्रै अनेकौं साधनहरू बाबुआमाले किनिदिएकै छन् । युवा र प्रौढहरूका लागि पनि दशैँ आउला र यो कुरा गरौँला भन्ने कुनै अपेक्षा नै रहेको हुँदैन । मन लागेका बेला घुम्न हिँडेकै छन्, भोजभतेरमा दिनदिनै सहभागी भइरहेकै हुन्छन् । मुलुकका ठूला शहरमा बस्ने यिनीहरूको जीवनशैली हेर्ने हो भने जस्तोसुकै पर्व आए पनि यिनीहरूलाई न कुनै रमाइलो हुन्छ न चाहनाहरू पूरा गर्नुपर्ने समस्याका कारण कुनै तनाव नै ।
अर्को विचरा वर्ग हुनपुगेको छ । गलत मनसाय बोकेकाहरूको सरकारमा हालीमुहाली बढ्दै जाँदा दुई-चार वर्षअघिसम्म ऋणधन गरेरै भए पनि चाडपर्व मनाउन सक्नेहरूलाई पनि चाड मान्नै नसक्ने अवस्थामा पुर्याइएको छ । घरमा पैसा छैन । छोराछोरीको मासु खाने इच्छा छ । एकजोर भए पनि नयाँ कपडा केटाकेटीलाई किनिदिऊँ भन्ने इच्छा बाबुआमाको छ तर न उनीहरूले ऋण पाउने अवस्था नै छ न लिएको ऋण तिर्ने क्षमता नै उनीहरूमा छ । दशैँ दशा बोकेर आएको छ भन्दा पनि हुनेजस्तो अवस्थामा नागरिकहरूलाई पुग्न बाध्य बनाइएको छ ।
तरकारी किन्न गयो भने सय रूपैयाँ किलोभन्दा कममा एक किलो कुनै पनि तरकारी पाइँदैन । हजार घटीका कुनै लुगा छैनन् । सरकारकै तथ्यांक हेर्ने हो भने पनि दैनिक उपभोगका सामानमा सरदर नौ प्रतिशतले भाउ बढेको छ । कर्मचारीको तलब उही छ । दैनिक ज्यालादारी गरेर जीवन धान्नेहरूको ज्यालामा कुनै वृद्धि भएको छैन । मजदुरको तलब वृद्धि गरेको घोषणामा सरकार गर्व गर्दछ तर बढाएर बनाइएको ज्याला मासिक १७ हजार छ । यो अवस्थामा नेपालमा दशैँ आयो भनेर खुशी हुने अवस्थामा कति होलान् त ?
यो दिन सानाले आफूभन्दा ठूलाकोमा गई टीका र जमरा थापी आशीर्वाद लिने गर्दछन् । दाजुभाइ वा इष्टमित्रका बीचमा वैमनश्य रहेको भए पनि यही दिनलाई मेलमिलाप गराउने अवसरका रूपमा लिइन्छ । बोलचाल नभएकाहरू पनि जेठोका घरमा गई बोलचाल फुकाउँदछन् । सबैको अनुहारमा खुशी, उत्साह, रौनक, तेज सबै देखिने दिन यही विजया दशमीकै दिन हो ।
यो दशैँ त कालाबजारीको मात्रै हो भने पनि हुने भएको छ । बिचौलियाहरूका लागि मात्रै यो दशैँ आएको हो भन्दा केही फरक पर्दैन । यिनै कालाबजारी र बिचौलियाका भरमा परेका नेताहरूका घरमा मात्रै दशैँ आएको जस्तै देखिएको छ । कर छलेर धन कमाएकाहरूलाई यो महँगीले कुनै असर नपारेको हुँदा यो दशैँ तिनैका लागि मात्रै हो भन्दा पनि हुन्छ । दुई–चार पैसा खल्तीमा भएकाहरू चिनी किन्न बजारमा जाँदा किन्न पाउँदैनन् भने यो कस्तो दशैँ हो ? बजारमा चिनी उपलब्ध गराउन नसक्दा पनि म प्रधानमन्त्री र म वाणिज्य मन्त्री भनेर फुर्ती लाउन पछि नपर्नेहरू भएको यो कस्तो सरकार हो ? अनि दशैँका लागि सर्वसाधारणलाई सहज बनाई देलान् भनेर कसरी अपेक्षा गर्ने ?
सरकार जस्तो भए पनि हामीले दशैँ भने मनाउनै पर्दछ । चार किलो नसके एक किलो किनेर भए पनि मनाउनै पर्दछ । नयाँ लुगा किन्न नसके पनि सफा लुगा लगाएर मनाउनै पर्दछ । मीठोमसिनो भान्सामा पकाउन नसके पनि जसोतसो भुँडी भरेर हाम्रो संस्कृतिलाई जोगाउनै पर्दछ । हाम्रा भावी सन्ततिहरूलाई नेपाल र नेपाली धर्म, संस्कृति र परम्पराहरूमा धनी छन् भन्ने गर्व गर्न पाउने अवस्थामा राखिदिनका लागि पनि हाम्रा सबै परम्परालाई जीवित रूपमा राख्नै पर्दछ ।
दशैँ मनाउने विभिन्न तरिका छन् । नेपालको भौगोलिक बनावट अनुसार पूर्वदेखि पश्चिमसम्मका मानिसहरूले बेग्लै-बेग्लै तरिकाले दशैँ मनाउने गर्दछन् । ठाउँठाउँका पुर्खाहरूले चाडवाड मान्ने शैली आआफ्नै विकसित गरेका छन् । कोही घटस्थापनादेखि नै दैनिकै मासु खाएर मनाउँछन् भने सुदूरपश्चिमतिरकाले घटस्थापनादेखि नवमीसम्म फलफूलमात्रै खाएर देवीको आराधना गरेर बस्दछन् । नौ दिनसम्म अन्न छुँदै नछुनेहरू छन् ।
जसले जसरी मनाए पनि सबैले नौ दिन दुर्गाकै आराधना गर्दछन् । अरुबेला पूजापाठ नगर्नेहरूले पनि यी नौ दिन चण्डीपाठ गर्दै देवीको पूजा गर्ने गरेको देखिन्छ । मुलुकभरका शक्तिपीठहरू अर्थात् देवीहरूका मन्दिरमा भिड लाग्ने गर्दछ । देवीलाई शक्तिस्वरूपा मानेर आफूमा शक्ति आर्जन गर्ने चाहना राखेर भक्तजनहरू पूजापाठमा संलग्न हुने गर्दछन् । देवीका मन्दिरहरूमा कसैले पशुबलि दिने गर्दछन् भने कसैले नरिवल आदिको बलि दिन्छन् ।
दशैँको मुख्य दिनका रूपमा दशमीलाई लिने गरिएको छ । यो दिन सानाले आफूभन्दा ठूलाकोमा गई टीका र जमरा थापी आशीर्वाद लिने गर्दछन् । दाजुभाइ वा इष्टमित्रका बीचमा वैमनश्य रहेको भए पनि यही दिनलाई मेलमिलाप गराउने अवसरका रूपमा लिइन्छ । बोलचाल नभएकाहरू पनि जेठोका घरमा गई बोलचाल फुकाउँदछन् । सबैको अनुहारमा खुशी, उत्साह, रौनक, तेज सबै देखिने दिन यही विजया दशमीकै दिन हो । चाहे रातो टीका लगाउने हुन् वा सेतो टीका सबैले उत्साहपूर्वक मनाउने यो पर्व विशेष महत्व बोकेको पर्व हो ।
पहिला पहिला दशैँलाई नेपालीहरूको चाड भनिन्थ्यो । साम्प्रदायिकता बढाएर फाइदा लिन खोज्नेहरू परिचालित हुँदै जाँदा यो पर्वलाई हिन्दूहरूको पर्व भन्न थालियो । विसं २०७८ सालको जनगणनाले पनि नेपाली परम्परा र संस्कृतिका विरुद्ध जतिसुकै द्वन्द्व चर्काउने प्रयास गरिएको भए तापनि ८१.२ प्रतिशत हिन्दू छन् र दशैँमा टीका लगाउनेहरूको संख्या अझै पनि ९५ प्रतिशत भन्दा बढी नै हुन्छ । यति हुँदाहुँदै पनि यो पर्वलाई नेपालीको भन्न त परै जावस्, हिन्दुहरूकै पनि होइन भन्नेहरू देखिन थालेका छन् ।
पिङ हाल्ने प्रचलन हराई सक्योभन्दा हुन्छ । लठ्ठे पिङ, रोटे पिङ, लिंगे पिङ आदि कस्ता-कस्ता पिङहरू हुन् भन्ने त आजभोलिका युवाहरूलाई एकादेशको कथा भइसकेको छ । चंगा उडाउन पनि छाडिसके । समुदाय जम्मा भएर कुवा खन्ने, बाटो बनाउने जस्ता कुराहरू किंवदन्ती झैँ भएका छन् । दशैँमा हुने यस्ता क्रियाकलापहरूले समाजका सदस्यलाई जोड्ने काम गर्दथे । समुदायमा समूहमा गरिने यी कामहरूले गाउँठाउँको विकास त हुन्थ्यो नै साथसाथै नेपालीहरूका बीचको भ्रातृत्वलाई कसिलो बनाउने काम पनि हुन्थ्यो ।
दशैँका फाइँदै फाइदामात्रै छन् । यसबाट हुने बेफाइदा भनेको रमाइलोलाई गलत व्याख्या गर्दै जुवामा रमाउने र मदिरामा रम्नेहरूका लागि मात्रै हो । घरमा आएका मान्छेहरूलाई ख्वाउँदा र दक्षिणा दिँदा पैसाको सत्यानाश भन्ठानेर एकान्ततिर घुम्न जाने प्रवृत्ति पनि देखिएको छ तर यो व्यवहारले भोलि आफूलाई समस्या पर्दा आइपर्ने समस्याका बारेमा पनि सोचौँ । संयमित भएर खुबी अनुसार सबैले दशैँ मनाऔं । आगामी दिनमा जनताप्रति उत्तरदायी हुने सद्बुद्धि माता दुर्गाले सरकारलाई देऊन्, सबै नेपालीका घरमा दुई छाक भात पाक्ने अवस्था बनोस्, एकसरो कपडाका लागि कसैले हात थाप्न नपरोस्, समृद्ध नेपालको बाटोमा मुलुक दौडेको देख्न पाइयोस्, विजया दशमीको शुभ उपलक्ष्यमा यही शुभकामना !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच