
बागलुङ । पश्चिम बागलुङका उच्च ग्रामीण क्षेत्रमा आलु, जौँ, उवा, भाँगोबाहेक अरु खेती कमै हुन्छ । तीन दशकसम्म स्थानीयको मुख्य खाना आलु र जौँको च्याख्ला(आटा)े हुन्थ्यो । चिसो हावापानी हुने हुँदा यहाँको माटोमा धान खेती हुँदैन ।
धान खेती नहुने हुँदा स्थानीय भात खान दसैँ कुर्थे । गाउँमा सडक थिएन । मोटर गाडी देख्नका लागि दुई साता लगाएर बुटवल पुग्नु पथ्र्यो । बुटवल पुगेर घ्यू, आलु र भाँगोसँग चामल साट्ने उनीहरुको बाध्यता थियो । तर अहिले त्यो बाध्यता हटेको छ । दसैंमा मात्र भात खाने स्थानीयको भान्छामा अचेल दिनहुँ पाक्छ । भात खान पाउँदा खुसी हुनेहरुलाई अहिले खासै चाख छैन ।
पछिल्लो समय गाउँगाउँ र टोलटोलसम्म सडक पुगेपछि घरघरमा चामल पुुग्छ । सडकले गाउँमा भात मात्रै ल्याएन, गाउँलेको पुरै जनजीवननै परिवर्तन गरिदियो । बागलुङको निसीखोला, ढोरपाटन र तमानखोलाका माथिल्लो क्षेत्रमा बसोबास गर्ने अधिकांश नागरिक अहिले पनि बजारबाट चामल किनेर खान्छन् ।
ढोरपाटन नगरपालिका–९ की ८३ वर्षीया पदमकली विकसँग आफ्नो जीवनकालमा १४ पटक बुटवलबाट चामल र नुन ल्याएर उपभोग गरेको अनुवभ छ । ढोरपाटनबाट ११ दिनको पैदल यात्रा गरेर बुटवल पुगेको सुनाउँदै आजभोली गाउँघर नै बुटवल बन्न थालेको बताउनुहुन्छ । बँेसीमा पनि धान फल्न थालेपछि चामलको समस्या नहुने उहाँको भनाइ छ ।
‘जुग जमाना फेरिए, गाउँ पनि बजार बन्न थाल्यो, हाम्रो बालापन र बैस जवानी दुःखै दुःख मा बित्यो, हामीहरुले सानोमा कहिल्यै भात खान पाएनौँ, अल्ली ठूलो भएपछि दसैँमा भात खान पायौँ, अहिले त दिनदिनै भात खान्छौँ, हाम्रो गाउँ ठाउँमा चामल (धान) फल्दैन, आलु र जौँको आटो खाएर हुर्किएका हौँ’ विकले भन्नुभयो –‘त्यतिबेला गाउँ घरमा दोकान थिएन, सडक पनि आएका थिएनन्, अहिले त दिनदिनै गाडीले बजारबाट चामल ल्याउँछ, चाहिएको सबै सामान घरमै आउँछ, मैले कहिल्यै पनि हाम्रो गाउँमा यति धेरै विकास आउँला भनेर सोचेको पनि थिइन, तर विकास भएरै छोड्यो, बुटवलमा बेचिने चामल अहिले गाउँमै आइपुगेको छ ।’्
अर्का स्थानीय निमबहादुर पुनले डेढ दशक अगाडिसम्म पनि आलुसँग चामल साटेर भात खाने गरेको सुनाउनुभयो । पछिल्लो समय गाउँ घरसम्म चामल बेच्ने पसल सञ्चालनमा आएपछि कोही पनि स्थानीयले भात खानबाट वञ्चित नभएको बताउनुहुन्छ । ७४ वर्षीय पुनले आफूहरु निकै दुर्गम ठाउँमा हुँदा बाल्यकालमा भातको निकै महत्व हुने गरेको बताउनुहुन्छ । लेकबेँसी गरेर पशुपालन गरेरै जीविका चलाउँदै आएको सुनाउँदै अहिले भातको खास्सै चाख नहुने उहाँको भनाइ छ । अहिले एक बोरा आलु बेचेर पनि चामल किन्न सकिने पुन बताउनुहुन्छ ।
‘हामी त बाउबाजेकै पेसालाई अंगालेर सानैदेखि गाईभैँसी र भेडाबाख्रा पाल्न तिर लागियो, लेकमा बस्ने, आलु र जौँको आँटो खाने, दुध, मही खाने गरियो, भात खान पाउँदा निकै खुसी लाग्थ्यो, मिठो पनि हुन्थ्यो, त्यस बेला चामलको निकै महत्व थियो, तर अहिले त्यत्ति छैन’ पुनले भन्नुभयो – ‘त्यस बेलाको कुरा सुनाउँदा अहिलेका पुस्ताले पत्याउँदैनन्, किनकी उनीहरुले हाम्ले जस्तो समस्या भोग्न परेन, खाना खाने भएदेखि भात खान पाए, अहिले त हामी लेकमा जाँदा चामल बोलेर जान्छौँ, उता पनि भात पाक्छ, कति बेला त हामीलाई पनि अचम्म लाग्छ, हाम्रो उ बेलाको अवस्था सम्झिँदा ।’
बागलुङमा हरेक वर्ष धान उत्पादन गर्ने क्षेत्रफल बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ भएको छ । जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । खेतीयोग्य जमिनको २०.१५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ ।
पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाझिँदै गएका छन् । गाउँमा प्रसस्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा बाँझै राख्नुपरेको कृषकको गुनासो छ । मकै र कोदा उत्पादन गर्ने क्षेत्रफल घटे पनि धान उत्पादन भने बढि रहेको ज्ञान केन्द्रले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच