काठमाडौं । हाल ५० लाख नेपाली वैदेशिक रोजगारीमा कार्यरत छन् । दशैँ-तिहारजस्तो चाडपर्वमा विदेशमा भएका नेपालीहरूको मन पनि नेपालकै परिवारसँग हुने गरेको छ । मलेसिया, खाडीका देश, युरोप र अफ्रिकालगायत देशमा कार्यरत नेपाली कामदार दशैँको मौका पारेर स्वदेश फर्किने गरेका छन् । दशँैको समयमा बिदा नपाउने नेपालीहरू रोजगारदाता देशमै साथी–भाइसँग दशैँ मनाउने गर्छन् ।
वैदेशिक रोजगारीमा कार्यरत नेपालीले फरक-फरक शैलीमा दशैँ मनाउने गरेको बताउँछन् । काम सकेर एउटा होटल अथवा कोठामा भेला भएर दशैँ मनाउने गरिएको जापानबाट मानव कट्टेलले बताउनुभयो । विदेश भए पनि नेपालमै जस्तो दशैँ मनाउने गरिएको उहाँको भनाइ छ । कट्टेल भन्नुहुन्छ, ‘विदेशमा भए पनि दशैँमा मन आफ्नो गाउँमै हुन्छ । नेपालमा जस्तो अरूको देशमा दशैँ मनाए जस्तो हुँदैन । त्यही मन बुझाउन साथीभाइ मिलेर मनाउँछौँ, जति काम भए पनि बेलुका साथीसँग मिलेर होटलमा बसेर दशैँ मनाइन्छ । गत वर्ष त्यसरी नै मनाइयो । यस वर्ष पनि यही सल्लाह भएको छ ।’
त्यस्तै खाडीका देश र मलेसियामा भने कामको चाप र देशअनुसारको फरक धर्मका कारण नेपालमा जस्तो फुर्सदिलो र रमाएर दशैँ मनाउन छुट पाउँदैन । युरोप, अमेरिका, अष्ट्रेलिया, कोरिया र जापानमा भने नेपालीहरूले खुलेरै दशैँ मनाउने गरेका छन् । दिनभर काम सकेर राती परिवारसँग सामाजिक सञ्जालमा गफ गर्दै दशैँ मनाउने कोरियामा कार्यरत पाँचथरका भक्ति आचार्य बताउनुहुन्छ । कोरियामा धेरै नेपाली भएका कारण दशैँ मनाउन सजिलो र सल्लाह मिल्ने गरेको उहाँको भनाइ छ । आचार्य भन्नुहुन्छ, ‘नेपालीहरूले दशैँ–तिहार पछिल्लो समय विदेशमा पनि रमाइलो गरेर मनाउन थालेका छन् । वैदेशिक रोजगारीमा कार्यरत नेपालीले एक ठाउँमा जम्मा भएर नेपालमा जस्तै दशैँ मनाउने गरेका छन् । घरमा जस्तो नभए पनि दशैँ मनाउँदा नेपालमै जस्तो झल्को आउँछ ।’ सबै नेपालीहरू एकै ठाउँमा भेला भएर रमाइलो गरी दशँै मनाउने सल्लाह भएको पाँचथरका कविन्द्र सिग्देलले कोरियाबाट बताउनुभयो ।
पछिल्लो समय सामाजिक सञ्जालले दशैँमा परिवारसँगै भएजस्तो हुने गरेको उहाँको भनाइ छ । सिग्देल भन्नुहुन्छ, ‘वर्षदिनमा आउने दशैँ परदेशमा सँगै काम गर्ने साथी फर्किँदा आफूलाई घर जान मन लाग्छ तर समय र छुट्टी मिल्दैन । समय त्यही हो । विदेशमा कार्यरत धेरै नेपालीका साथमा नजिकका आफन्त नहुँदाको पीडा त छँदैछ तर दशैँ भने रमाइलो गरी मनाइन्छ, सानैदेखि परिवारसँगै दशैँ–तिहार मनाउदै आएकाले चाडपर्वका बेला मन गाँउ-घरमै पुग्छ ।’
विदेशमै परिवारसहित बसोबास गर्दै आएका नेपालीहरूले भाषा, कला, संस्कृति मौलिक परम्पराअनुसार नै चाडपर्वलाई आफ्नै तरिकाले मनाउने गरेका छन् । नेपालीहरू विश्वमा छरिएर बसे पनि चाडपर्वलाई मिलेर मनाउने गरेका छन् । विदेशमा बस्ने नेपालीको दशैँ पनि स्वदेशमा बस्ने नेपालीकै जस्तो हर्षोल्लास र खुसियालीसाथ मनाउने गरेका छन् । वैदेशिक रोजगारमा झण्डै ५० लाख नेपाली कार्यरत छन् भने दशैँका बेला पाँच लाखको हाराहारीमा स्वदेश फर्किने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच