गरिबी, बेरोजगारी र भ्रष्टाचारका बिरुद्ध साझा रुपमा लडौँ : सभापति लामिछाने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरुले गरिबी, बेरोजगारी र भ्रष्टाचारका बिरुद्ध साझा रुपमा लड्नुपर्ने बताउनुभएको छ ।

शनिवार नेपाली काँग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै सभापति लामिछानेले देशमा गरिबी, बेरोजगारी र भ्रष्टाचार सबै राजनीतिक दलका दुश्मन भएको भन्दै त्यसका बिरुद्धमा साझा रुपमा लड्नुपर्ने बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी यिनै साझा दुश्मनका बिरुद्ध लडिरहेको भन्दै कुनै राजनीतिक दलहरुसँग आफूहरुको प्रतिष्पर्धा नभएको बताउनु भयो ।

उहाँले आफूहरुको चुनौति पार्टी निर्माण, संगठनको चुस्तता र दस्तावेज निर्माणमा भएको बताउनु भयो । उहाँले रास्वपा रास्वपा आफ्नै खुट्टामा अल्झिएर लड्छ कि भन्ने विषयमा सोच्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो- ‘वास्तवमा भन्नुपर्दा हाम्रो प्रतिस्पर्धा कुनै राजनीतिक दलसँग होइन । सबै राजनीतिक दलको प्रतिष्पर्धा, दुश्मनी भनौँ अथवा लड्नुपर्ने साझा दुश्मन भनेको यो देशको गरिबी, यो देशको बरोजगारी, यो देशको भ्रष्टाचार हो । त्यसकारणले हामीले त्यसरी प्रतिस्पर्धा सोचेका छैनौँ । चुनावमा लड्नुपर्ने कुरा बेग्लै होला । हामी चुनाव बाहेक अरु दिनमा कुनै त्यस्तो लड्ने, प्रतिष्पर्धा गर्ने कुरा छैन । हामी लड्नुपर्ने विषय नै साझा हो । नेपाली कांग्रेसले लड्ने भनेको भ्रष्टाचार बिरुद्ध भनेको छ उसले । एमालेले त्यही भनेको छ । हामीले त्यही भनेका छौँ । हाम्रो दुश्मन, लड्नुपर्ने ठाउँहरु, हामीले फाल्नुपर्ने चिजहरु साझा छन् । राजनीतिक प्रतिस्पर्धा चुनावमा मात्रै हो । हामीले आफ्नै दल बनाउनुपर्ने भएकाले चुनौति हामी भित्र नै छ । जनताले जुन आशा र विश्वासका साथ हामीलाई छोटो समयमा संकेत गरेका छन् । कतै आफ्नै गोडामा अल्झिएर लडिन्छ कि भन्ने बाहेक हामीले अहिलेका लागि सोच्नुपर्ने अवस्था छैन । त्यसकारणले हामीले हाम्रा लागि चुनौति पार्टी निर्माण हाम्रो चुनौति हो । संगठनको चुस्तता, दस्तावेज बनाउने चुनौती हो ।’

उहाँले नेपाली जनताका मुद्दाहरुमा मेलमिलापको नीतिको सान्दर्भिकता कहिल्यै पनि नहट्ने बताउनु भयो । काँग्रेसले अंगिकार गरेको विगतको मेलमिलापको नीति, चुनौति र पात्रहरु अलग भएपनि सो नीतिलाई एउटा असल नीतिको रुपमा लिन सकिने सभापति लामिछानेको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?