जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गर्नुभएको छ । ‘युद्धविराम गर्नु भनेको हमास र आतंकवादसँग आत्मसमर्पण गर्नु हो’, युद्धविरामका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूको माग अस्वीकार गर्दै विदेशी पत्रकारहरूसँगको संवादमा उहाँले भन्नुभयो, ‘यस्तो हुने छैन, इजरायलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ ।’
अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले आफ्नो भूमिमा आश्चर्यजनक हमला गरेपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयजना मारिएका थिए भने २३० नागरिकलाई बन्धक बनाएको थियो ।
त्यसयता इजरायलले हमास शासित गाजाविरुद्ध ठूलो हवाई बमबारी अभियान चलायो । गाजाभित्र भने लामो समयदेखि अपेक्षित स्थल युद्ध भइरहेको थियो । सेनाले उत्तरी गाजा क्षेत्रमा इजरायली पैदल सेनाको तस्वीर जारी गरेको छ । सोमबार प्रत्यक्षदर्शीहरूले गाजाको बाहिरी भागमा ट्यांकहरू रहेको बताएका छन् ।
इजरायलले २४ घण्टामा छ सय लक्ष्यमा निशाना बनाएको बताएको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो बमबारीमध्येको एक हो । सेनाले हमासबाट हराइरहेकी एक महिलालाई बचाएको बताएको छ । प्रधानमन्त्री नेतान्याहूले युद्धले हमासलाई ‘समाप्त’ पार्ने वाचा गर्नुभएको छ । उहाँका अनुसार हमास समाप्त भएपछि यस्ता समूहका हमलाहरू दोहोरिने सम्भावना हुँदैन । इजरायलले अक्टोबर ७ मा हमास र अन्य प्यालेस्टिनी लडाकु समूहले बन्धक बनाएका बन्धकहरूलाई मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
संयुक्त राष्ट्रसंघले बारम्बार मानवीय युद्धविरामको आह्वान गरेको छ । सोमबार प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसंघीय एजेन्सी युएनआरडब्लुले इजरायलले घेराबन्दी गरेको क्षेत्रमा मानवीय सहयोग पूरा गर्न अपर्याप्त रहेको भन्दै उक्त क्षेत्रमा सीमित संख्यामा ट्रकहरू प्रवेश गरेको बताएको थियो ।
३१ जना पत्रकारको निधन
गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण सुरु गरेयता जारी युद्धको समाचार संकलनका क्रममा ३१ पत्रकारको मृत्यु भएको छ । अधिकांशको गाजापट्टीमा मृत्यु भएको छ । कमिटी टू प्राटेक्ट जर्नलिस्ट्स सिपीजेका अनुसार पछिल्लो समयसम्म २६ प्यालेस्टाइनी, चार इजरायली र एक लेबनानी पत्रकारको मृत्यु भएको छ । संगठनले खासगरी गाजामा पत्रकारले असाधारण खतराको सामना गर्नुपरिरहेको बताएको छ ।
साथै इजरायलको खतरनाक बमबारी तथा स्थलगत आक्रमणबाट गुज्रिन कठिन भइरहेको उक्त संस्थाले उल्लेख गरेको छ । प्यालेस्टाइनी फिल्म निर्माता रोशदी सराज तथा रोयटर्सका बेरुत भिडियोग्राफर इसाम अब्दल्लाहको पनि युद्धमा मृत्यु भएको छ । जारी युद्धमा गाजामा ३३ सय बालबालिकासहित झण्डै साढे आठ हजारको मृत्यु भइसकेको छ भने इजरायलमा १४ सय मारिएका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच