काठमाडौं । गुण्डानाइके रिगल भनिने योगराज ढकालविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । मंगलबारको पेसीमा सुनुवाइ नसकिएपछि आज (बुधबार)का लागि हेर्दाहेर्दैमा राखिएको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । मंगलबार वादीपक्षबाट बालकृष्ण न्यौपाने, यज्ञनिधि न्यौपाने लगायतले बहस गर्नुभएको थियो भने सरकार तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेल र नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी लगायतले बहस गर्नुभएको थियो । मंगलबारको बहस नसकिएपछि बुधबारका लागि पुनः हेर्दाहेर्दैमा राखिएको हो ।
रिटमा बहस गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले राष्ट्रपतिले राजनीतिक आग्रहका आधारमा जघन्य अपराधमा संलग्न व्यक्तिलाई कैद मिनाहा दिएको जिकिर गर्दै राष्ट्रपतिले संवैधानिक अधिकारको दुरुपयोग गरेको बताउनुभएको थियो ।
निवेदकको बहस सकिएपछि महान्यायाधिवक्ता दीनमणि पोखरेलले सरकारको निर्णयको बचाउ गर्नुभएको थियो । उहाँले रिगल एक्लैलाई सत्तारूढ कांग्रेसको कार्यकर्ता भएको आधारमा मिनाहा दिएको नभई उनीजस्तै डेढ सयभन्दा बढी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई कानुन अनुसारको सुविधा प्रदान गर्ने क्रममा रिगलले पनि पाएको तर्क गर्नुभएको थियो ।
इजलासबाट कामु प्रधानन्यायाधीश खतिवडाले दुवै पक्षलाई बहस छोट्याउन र उही कुरा बारम्बार दोहोर्याएर अनावश्यक समय नलिन रुलिङ पनि गर्नुभएको थियो । नियन्त्रणमा लिई व्यक्ति हत्या गरेको कसुरमा जन्मकैदको फैसला सुनाइएका रिगललाई राष्ट्रपतिबाट कैद छुट दिइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
२०७२ साल असार २८ गते बाँकेको नेपालगञ्ज-१६ को मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटल अगाडि रिगलसहितको करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको थियो । सोही प्रकरणमा बाँके जिल्ला अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ साल वैशाख ११ गते फैसला गर्दै रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाउनुभएको थियो । जिल्ला अदालतको फैसलामा उनी २०७२ भदौ ७ गते पक्राउ परेका कारण २०९२ साल भदौ ६ गतेसम्म जेलमा राख्नुपर्ने फैसला गरिएको थियो ।
घटनामा संलग्न छबिलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई पाँच वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनिष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रितम थापालाई तीन/तीन वर्ष कैद सजाय भएको थियो ।
तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको बाँकी कैद मिनाहा गरिदिनुभएको थियो । जम्मा आठ वर्ष जेल बसेर कैदमुक्त भएपछि आफूहरू त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा बाँकी कैद कट्टाविरुद्ध रिट दर्ता गराउनुभएको थियो । रिटमा भारतीले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय दाङ, कारागार कार्यालय दाङ, महान्यायाधिवक्ताको कार्यालय र रिगल भन्ने योगराज ढकाललाई समेत विपक्षी बनाउनुभएको छ । उक्त मुद्दामा गत असोज २५ गतेसमेत सुनुवाइ भएको थियो ।
भारतीले पुनः रिले अनशन सुरु गर्नुभएको छ । भारतीले आइतबारदेखि माइतीघर मण्डलामा पुनः रिले अनशन सुरु गर्नुभएको हो । यसअघि भारतीले गत असोज १७ गते माइतीघरमै पहिलोपटक अनशन सुरु गर्नुभएको थियो । त्यसदिन दुई घण्टा अनशन बसेर उहाँ तारेख बुझ्न सर्वोच्च अदालत पुग्नुभएको थियो र बेहोस भएर अदालतमै ढल्नुभएको थियो ।
रिगल नेपाली कांग्रेसनिकट रहेकाले उनलाई आममाफी दिन सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै सरकारलाई दबाब दिएको आरोप लाग्ने गरेको छ । राजनीतिक संरक्षण र पहुँचका भरमा उनी फूलमालासहित जेलबाट निस्केका थिए । क्रूर एवं गम्भीर अपराधमा मुछिएका रिगललाई आममाफी दिएपछि यसको सर्वत्र विरोध हुँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच