
काठमाडौं । संयुक्त राष्ट्रसंघ (युएन)का महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रियामा भइरहेको प्रगतिबारे सन्तोष व्यक्त गर्नुभएको छ । मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले शान्ति प्रक्रियाको अन्तिम चरणमा नेपाल रहेको भन्दै सन्तोष व्यक्त गर्नुभएको हो । संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने प्रयासमा नेपाल एक्लै नरहेको भन्दै आफूहरूको सद्भाव रहेको उहाँको भनाइ थियो । ‘शान्ति र प्रगतिको यात्रामा तपाईंहरू एक्लै हुनुहुन्न । नेपाली नेतृत्वसँग राष्ट्रसंघ सँगै छ,’ उहाँले भन्नुभयो, ‘संक्रमणकालीन न्यायमा पीडित केन्द्रित प्रक्रिया अवलम्बन गर्न, अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउन र तपाईंहरूको यहाँको कानुनी व्यवस्थालाई ध्यान दिने मेरो विश्वास छ ।’ महासचिव गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताउनुभयो । ‘नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्रसंघ गौरव व्यक्त गर्दछ । यस क्षणमा म नेपालको शान्ति प्रक्रियामा संलग्न नेताहरूप्रति राष्ट्रसंघका तर्फबाट सम्मान व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो ।
नेपालले शान्ति प्रक्रियाअन्तर्गत संक्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्याउन लागेकामा शुभेच्छा व्यक्त गर्दै महासचिव गुटेरेसले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुंगोमा पुर्याउन आग्रह गर्नुभयो ।
नेपालले लामो समयको प्रयासपछि संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्न लागिरहेको उल्लेख गर्दै यसले नेपालको दिगो शान्ति र विकासका लागि महत्वपूर्ण भूमिका खेल्नसक्ने बताउनुभयो । ‘तपाईंहरू शान्ति प्रक्रियाको अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘संक्रमणकालीन न्यायका प्रश्नहरू र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णविराम दिन मद्धत गर्ने प्रक्रिया हुनुपर्छ । संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । तर, यो सजिलो भने छैन ।’
समावेशी र पीडितकेन्द्रित भएर मात्रै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन सकिने उहाँको भनाइ थियो । संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र भएको भन्दै महासचिव गुटेरेसले दुईबीचको सहकार्य गहन रहेको समेत उल्लेख गर्नुभयो । ‘नेपाल लामो समयदेखि संयुक्त राष्ट्रसंघ परिवारको प्रिय सदस्य र हालैमा अतिकम विकसित मुलुकहरूको समूहको अध्यक्षका हैसियतमा विकासोन्मुख देशहरूका लागि प्रभावशाली आवाज भएको छ,’ उहाँले भन्नुभयो, ‘र यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ । विश्वका सबै राष्ट्रहरूमध्ये नेपाल संयुक्त राष्ट्रसंघको मिसनमा सेना पठाउने दोस्रो ठूलो राष्ट्र हो ।’
गुटेरेसले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा उल्लेख्य योगदान दिने देशमध्ये नेपाल अग्रपंक्तिमा पर्ने भन्दै प्रशंसा गर्नुभयो । उहाँले विश्वमा शान्ति स्थापनाका क्रममा विभिन्न मुलुकमा कर्तव्य पालनाका सिलसिलामा ज्यान गुमाउने नेपाली सेना, प्रहरीलगायत योद्धाहरूको सम्झनामा एकमिनेट मौनधारणसमेत आहृवान गर्नुभएको थियो । गुटेरेसको आहृवानमा दुवै सदनका सांसदहरूले शान्ति सैनिक तथा मिसनका ज्यान गुमाउनेहरूप्रति मौनधारण गरेका थिए ।
‘विश्व बहुध्रुवीयतातर्फ अघि बढिरहेको छ’
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्व बहुध्रुवीयतातर्फ अघि बढेको बताउनुभएको छ । बहुध्रुवीयताले सन्तुलनका लागि नयाँ अवसर प्रदान गर्ने उहाँले बताउनुभयो । ‘विश्व बहुध्रुवीयतातर्फ अघि बढिरहेको छ । यो राम्रो कुरा हो,’ उहाँले भन्नुभयो, ‘बहुध्रुवीय संसारले विश्वव्यापी मञ्चमा नेतृत्व र सन्तुलनका लागि नयाँ अवसरहरू प्रदान गर्दछ ।’ तर, यो नयाँ गतिशीलतामार्फत शान्ति कायम राख्न बलियो बहुपक्षीय संस्थाहरू चाहिने उहाँको भनाइ थियो । बिसौँ शताब्दीको सुरुमा युरोप बहुध्रुवीय भए पनि बलियो बहुपक्षीय संस्थाहरू नहुँदा युद्धमा होमिएको उहाँले स्मरण गर्नुभयो । विकासोन्मुख देशहरूको अन्तर्राष्ट्रिय संस्थाहरूमा अझ बढी प्रतिनिधित्व हुनुपर्ने उहाँले बताउनुभयो । यसैकारण हालसको राष्ट्रसंघको सुरक्षा परिषद्लाई सुधार गर्न आफूले आहृवान गरेको उहाँको भनाइ थियो । ‘मैले विश्वव्यापी वित्तीय संरचना सुधार गर्ने उपायहरू प्रस्ताव गरेको छु । यसले विकासशील देशहरूको अझ राम्रोसँग प्रतिनिधित्व गर्दछ,’ उहाँले भन्नुभयो, ‘उनीहरूको आवश्यकता सम्बोधन गर्न सहयोग गर्दछ ।’
‘नेपालमाथि डरलाग्दो अन्याय’
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालले ३० वर्षको अवधिमा आफ्नो हिमनदीको झण्डै एकतिहाइ गुमाएको बताउनुभएको छ । मंगलबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले समस्या भोगिरहेको बताउनुभयो । ‘प्रभाव विनाशकारी छ । पानीले भरिएका ताल फुट्दै छन् । नदी र समुद्रको पानी बढ्दै छ । संस्कृतिहरूले चुनौतीका सामना गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘पहाडहरू जोखिममा छन् र चट्टान, पहिरो तथा हिमपहिरोको जोखिम बढ्दो छ ।’ हिमालयका नदीहरूले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहेको उल्लेख गर्दै ती जसरी संकुचित हुन्छन् त्यसरी नै नदीहरू बग्ने उहाँले बताउनुभयो । ‘भविष्यमा सिन्धु, गंगा र ब्रहृमपुत्रजस्ता हिमालयका प्रमुख नदीहरूको बहाव अत्यन्तै सीमित हुनेछ । नुनिलो पानीको अतिक्रमणसँगै यसले यस क्षेत्र र बाहिरका डेल्टाहरूलाई नष्ट गर्नेछ,’ उहाँले भन्नुभयो, ‘यसको अर्थ तल्लो समुदायहरू र सम्पूर्ण देशहरू सदाका लागि मेटिन सक्छन् । लाखौँ मानिसहरू सर्नुपर्ने हुन्छ । पानी तथा जमिनको लागि भयंकर प्रतिस्पर्धा हुनेछ ।’
जलवायु परिवर्तनको परिणामस्वरूप यो देशमा डरलाग्दो अन्याय भइरहेको उहाँले बताउनुभयो । ‘जलवायु संकटको क्रूर प्रभावको सामना गरिरहेका नेपालका ती समुदायहरूप्रति म अति चिन्तित छु । संयुक्त राष्ट्रसंघ उनीहरूको साथमा छ । विश्वले पनि यस्तै गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘नेपाल र अन्य विकासोन्मुख देशहरूको विकासमा सहयोग गर्न, जलवायुसम्बन्धी कार्यलाई तीव्रता दिन र हालको वैश्विक संकटको सामना गर्न धेरै ठूलो अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ, ।’
गुटेरेसले संसारले व्यहोरेको जलवायु परिवर्तनको चुनौती नेपालले समेत झल्नुपरेको आफ्नै आँखाले देखेको बताउनुभयो । सगरमाथा आधारशिविरदेखि विभिन्न ठाउँमा गएर आफूले जलवायु संकट देख्न पाएको उहाँको भनाइ थियो । ‘जलवायु परिवर्तनले विश्व नै आक्रान्त बनिरहेका बेला नेपालले चालिरहेका प्रयासको म सराहना गर्छु,’ उहाँले भन्नुभयो, ‘वनविनाश हुन नदिईकन भइरहेका संरक्षण प्रयासहरूले सकारात्मक प्रभाव पार्नेछन् । हिमालहरूमा सूर्यको प्रकाश देख्न पाइरहनेछौं भन्ने आशा छ ।’
‘युद्ध होइन, शान्तिको मार्गमा लागौँ’
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिको मार्गमा लाग्न युद्धरत मुलुकलाई आग्रह गर्नुभएको छ । मंगलबार बुद्ध जन्मस्थल लुम्बिनी पुगेर उहाँले संसारभर भइरहेका युद्ध अन्त्यका लागि आहृवान गर्नुभयो । इजराइल, प्यालेस्टाइन, युक्रेन, रसिया, सुडानलगायत मुलुकले गरिरहेको युद्धलाई सम्बोधन गर्दै उहाँले उद्देश्यविहीन युद्धले विश्व नै पीडित र आक्रान्त भइरहेको बताउनुभयो । मंगलबार पोखराबाट लुम्बिनीको मायादेवी मन्दिर परिसरबाट सम्बोधन गर्दै बुद्धका सन्देश, पञ्चशील सिद्धान्त र सयुंक्त राष्ट्रसंघको मिसन मिल्दोजुल्दो भएको बताउनुभयो । ‘यो शान्तिको मुहान र पवित्रस्थलबाट हामी आग्रह गर्छौं कि, संसारभर भइरहेका सबै युद्ध अन्त्य हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘युद्ध होइन, हामी शान्तिको मार्गमा लागौँ ।’ भगवान् गौतमबुद्ध जन्मिएको स्थान लुम्बिनीमा उभिएर विश्वलाई शान्तिको आग्रह गर्न पाउँदा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो ।
‘प्रकृतिविरुद्धको युद्ध रोक्न आवश्यक’
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो नेपाल भ्रमण विश्वलाई प्रकृतिविरुद्धको युद्ध रोक्न आवश्यक रहेको स्पष्ट सन्देश दिनका लागि भएको बताउनुभएको छ । मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेर फर्किएपछि पोखराको पुरानो विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालजस्ता देशले जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम भोग्नु परिरहेको बताउनुभएको हो । ‘मेरो भ्रमण वास्तवमा विश्वलाई स्पष्ट सन्देश दिनका लागि थियो, प्रकृतिविरुद्धको युद्ध रोक्न आवश्यक छ । किनभने, हामीले अद्भुत हिमाल र अद्भुत हिमनदीहरू जोगाउनु पर्छ,’ उहाँले भन्नुभयो, ‘नेपाललाई जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम भोग्ने नेपाललगायत अन्य देशहरूलाई विश्व समुदायले समर्थन गर्न आवश्यक छ ।’
तापमान वृद्धिले हिमाली क्षेत्रमा धेरै हिमनदी पग्लिएर भू–क्षय, पहिरोजस्ता समस्या त्यहाँका समुदायले भोगिरहेको बताउँदै उहाँले प्रभावकारी ऐक्यबद्धता देखाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभयो ।
महासचिव गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिमा विकसित र धनी राष्ट्र नै जिम्मेवार रहेको बताउनुभयो । ‘नेपाल जलवायु परिवर्तनमा जिम्मेवार छैन । अरु धनी राष्ट्रले गर्दा जलवायु परवर्तन भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘तर नेपालले त्यसको नतिजा भोगिरहेको छ । हिमालय रेन्जका ग्लेसियर यही कारणले घटिरहेको छ । ग्लेसर पग्लिरहेको छ । पहिरो आएर विभिन्न समुदायलाई क्षति पुगिरहेको छ ।’
महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान नेपाल आइपुग्नुभएको थियो । चारदिने नेपाल भ्रमणमा आउनुभएका गुटेरेसले आइतबार उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो । उहाँले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी शर्मा ओलीलगायतलाई पनि भेट्नुभएको थियो । महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भेटेरै नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । महासचिवका रूपमा यो उहाँको दोस्रो कार्यकाल हो । यसअघि सन् २००८ अक्टोबर अन्तिम साता संयुक्त राष्टसंघको महासचिवको रूपमा बान्की मुनले नेपाल भ्रमण गर्नुभएको थियो । यसको ठीक १५ वर्षपछि राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल भ्रमणमा आउनुभएको हो ।
संसद्बाट गुटेरेसको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित
संसद्को दुवै सदनको संयुक्त बैठकले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ । सभाुमख देवराज घिमिरेले प्रस्तुत गरेको उक्त धन्यवाद प्रस्तावलाई बैठकले सहमति दिएको थियो । चारदिने नेपाल भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले सगरमाथा, अन्नपूर्ण आधार शिविर, पोखरा, लुम्बिनीको भ्रमण गरिसकेर संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरे । आइतबार नेपाल आउनुभएका उहाँले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख राष्ट्रियसभाका अध्यक्षलगायत राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट गरिसक्नु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनभएका महासचिव गुटेरेसले शान्ति प्रक्रिया र जलवायु परिवर्तनका विषयलाई प्राथमिकतामा राख्नुभएको छ ।
गुटेरेसको धारणा मुलुकका लागि खुसीको कुरा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्मा राखेको धारणा मुलुकका लागि खुसीको कुरा रहेको प्रतिक्रिया दिनुभएको छ । संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रधानमन्त्री प्रचण्डले जलवायु र गरिबी निवारणसम्बन्धी फन्ड छुट्याउने सबभन्दा ठूलो कुरा भएकोसमेत उल्लेख गर्नुभयो । ‘राष्ट्रसंघका महासचिवले बोल्नसक्ने कुरा बोल्नुभयो, यो नेपालको लागि खुसीको कुरा हो,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘जलवायु र गरिबी निवारणसम्बन्धी फन्डहरू छुट्याउने भन्ने, योभन्दा ठूलो कुरा केही हुन्न । महासचिव गुटेरेसबाट शान्तिप्रक्रियाबारे पनि राम्रो धारणा आएको उहाँको भनाइ छ ।
गुटेरेसको सम्बोधन नेपालको हितमा : ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसद्मा गरेको सम्बोधन नेपालका लागि निकै राम्रो भएको प्रतिक्रिया दिनुभएको छ । मंगलबार संसद् भवनमा प्रतिक्रिया दिँदै ओलीले नेपालको शान्ति प्रक्रियादेखि जलवायु परिवर्तन लगायतका विषयमा महासचिव गुटेरेसले व्यक्त गरेको अभिव्यक्ति निकै राम्रो भएको बताउनुभएको हो । त्यस अवसरमा अध्यक्ष ओलीले संसद्मा गर्नुभएको सम्बोधनका लागि महासचिव गुटेरेसलाई धन्यवादसमेत व्यक्त गर्नुभयो । उहाँले महासचिव गुटेरेसले नेपालको र नेपाली राष्ट्रबारे राम्रो मूल्यांकन गरेको धारणा राख्नुभयो । गुटेरेसले पीडित केन्द्रित भएर नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्को सुझावलाई ध्यानमा राखेर नेपालले शान्ति प्रक्रियाको कामलाई निष्कर्षमा पु¥याउनुपर्ने बताएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसले छिट्टै पूर्णता पाउने कामनासमेत गरेको बताउनुभयो । उहाँले वातावरणीय विनाश रोक्न नेपालले दिएको योगदानको पनि खुलेर महासचिव गुटेरेसले प्रशंसा गरेको पनि बताउनुभयो । अध्यक्ष ओलीले महासचिव गुटेरेसले आफ्नो सम्बोधनमार्फत गरिब देशहरूलाई सम्पन्न देशहरूले सहयोग र समर्थन गर्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको पनि बताउनुभयो ।
‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८०’ राष्ट्रिय सभाबाट पारित
‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८०’ राष्ट्रियसभाबाट पारित भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८०’ राष्ट्रियसभाबाट पारित गरेको हो । सभाको बैठकमा विधेयक राष्ट्रियसभा सदस्य प्रकाश पन्थले विधेयकलाई पारित गर्न सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । विधेयकलाई राष्ट्रियसभाका बहुमत सदस्यले सर्वसम्मतिले पारित गरेका छन् । राष्ट्रियसभाबाट पारित भएको यो विधेयक अब प्रतिनिधिसभामा जानेछ । राष्ट्रियसभाको अर्को बैठक कात्तिक १६ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच