काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को प्रथम तीन महिना अर्थात् साउनदेखि असोजसम्म वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले बढेर चार खर्ब ४८ अर्ब ६३ करोड पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.१ प्रतिशत र ९०.९ प्रतिशत रहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको तीन महिनाको तथ्यांकअनुसार निर्यात २.३ प्रतिशतले घटेर ४० अर्ब ८७ अर्ब तथा आयात १.७ प्रतिशतले बढेर चार खर्ब सात अर्ब ७६ करोड अर्ब पुगेको हो ।
सो अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा फलाम तथा फलामका उत्पादन, यार्न, ऊनी गलैंचा, तयारी पोशाक, जुस, अलैंची, प्लाइउड, जुट तथा जुटका सामान, ऊनी फेल्टका उत्पादन, पामतेल, चिया, पश्मिना सल, कुकुर बिरालाका आहारा, पिना, जडीबुटी, कपडा, चाउचाउ, सिमेन्ट क्लिंकर र तामा तथा तामाका उत्पादन प्रमुखरूपमा रहेका छन् ।
सो अवधिमा फलाम तथा तिनका उत्पादनको निर्यात १०२.७ प्रतिशतले बढेर चार अर्ब ६१ करोड पुगेको छ । यार्न निर्यात ४.७ प्रतिशतले बढेर तीन अर्ब २२ करोड पुगेको छ भने ऊनी गलैंचा निर्यात भने ४.५ प्रतिशतले घटेर दुई अर्ब ९३ करोडमा झरेको छ । तयारी पोशाक निर्यात १३.१ प्रतिशतले बढेर दुई अर्ब ७० करोड पुगेको छ भने जुट तथा जुटका उत्पादनको निर्यात १३.२ प्रतिशतले घटेर एक अर्ब ८४ करोडमा सीमित भएको छ ।
अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्ट निर्यात पनि ५.८ प्रतिशतले घटेर एक अर्ब ६२ करोडमा सीमित भएको छ । जुस निर्यात ४३.८ प्रतिशतले बढेर दुई अर्ब २९ करोड पुगेको छ । पामतेलको निर्यात ८३.५ प्रतिशतले घटेर एक अर्ब ३२ करोडमा सीमित भएको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंची निर्यात भने ५६.८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड पुगेको छ भने चिया निर्यात १.९ प्रतिशतले घटेर एक अर्ब २९ करोडमा सीमित भएको छ । अदुवाको निर्यात १५९.५ प्रतिशतले बढेर ४० करोड पुगेको छ ।
नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा ९.४ प्रतिशतले घटेर २६ अर्ब २५ करोडमा झरेको छ । नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६९.२८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ६४.२१ प्रतिशतमा झरेको छ ।
आयाततर्फ अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ ५.७ प्रतिशतले घटेर ६६ अर्ब १२ करोडमा झरेको छ भने फलाम तथा स्टिल र तिनका उत्पादन आयात पनि १.२ प्रतिशतले घटेर ४० अर्ब ३८ करोडमा झरेको छ । मेसिनरी तथा पार्ट्स ०.२ प्रतिशतले घटेर २५ अर्ब २६ करोडमा झरेको भने कच्चा भटमास तेल आयातमा ६८.४ प्रतिशतले घटेर चार अर्ब ४३ करोडमा झरेको छ । औषधिको आयात २४.१ प्रतिशतले घटेर १० अर्ब ४२ करोडमा झरेको छ भने इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री आयात २१.४ प्रतिशतले बढेर १८ अर्ब १५ करोड पुगेको छ । यातायात साधन र तिनका पार्टपुर्जा आयात २५.१ प्रतिशतले बढेर १९ अर्ब नौ करोड पुगेको छ भने कच्चा पामतेलको आयात ६४.८ प्रतिशतले घटेर तीन अर्ब ५१ करोडमा सीमित भएको छ ।
खाद्यान्न आयात २५.३ प्रतिशतले बढेर ११ अर्ब ६० करोड पुगेको छ । समीक्षा अवधिमा तयारी पोशाकको आयात ६८.८ प्रतिशतले बढेर १२ अर्ब ८३ अर्ब करोड पुगेको छ । दूरसञ्चार सामग्री आयात भने ०.७ प्रतिशतले घटेर ११ अर्ब ६० करोडमा झरेको छ । सुनको आयात पनि ३१.२ प्रतिशतले घटेर सात अर्ब ९६ करोडमा झरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ प्रथम तीन महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा २.१ प्रतिशतले बढेर तीन खर्ब ६६ अर्ब ८८ करोड पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच