विपरित मनोविज्ञानमा भ्रमण संस्कृतिः सहरका गाउँमा, गाउँका सहरमा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 10 mins

म्याग्दी । शारदीय यामसँगै भ्रमणको मौसम सुरु भएको छ । चाडपर्वहरुको रौनकसँगै गाउँघरतिर मेलापर्वहरु चलिरहेका छन् । सहरबजारतिर व्यापार व्यसायको सिजन छ । आकास खुलेको छ । हिमालहरु टल्किएका छन् । वर्षा सकिएको छ । यही मौकामा घुमफिर गर्न र रमाउन सहरतिरका युवायुवतीहरु म्याग्दीका पर्यटकीय स्थलहरुमा उक्लिएका छन् भने गाउँका विद्यार्थी ,युवा र प्रौढहरु आफन्तहरुसँग भेटघाट गर्न, घुम्न र रमाउन सहरबजारतिर झरेका छन् ।

यहाँको भ्रमण संस्कृति विपरित मनोविज्ञानमा आधारित छ । समय मिल्यो र मन मिल्ने साथी भए भने भ्रमण गर्ने, रमाउने र मोजमस्ती गर्ने युवा र प्रौढहरु बढेका छन् । तर, भ्रमण संस्कृतिमा भने विपरित मनोविज्ञान पाइएको म्याग्दीको पर्यटन र सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका ओमकुमारी शान्ति कोषका पूर्व अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

‘घोडेपानी,पुनहिल,टोड्के,झाँक्रीपानी,बेलढुङ्गा,लभ्लीहिललगायतका म्याग्दीका ग्रामीण पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकहरुको भीड छ । यी सबै क्षेत्रमा पुगेका अधिकांश पर्यटकहरु सहरबजारबाट गाउँ उक्लिएका हुन्’ शाक्यले भन्नुभयो ‘बजार क्षेत्रमा पनि त्यस्तै अवस्था छ, गाउँका युवा,विद्यार्थी र प्रौढहरु घुम्न,रमाइलो गर्न र किनमेल गर्न बजार झरेका छन् ।’

पछिल्लो समय नेपालीहरुमा पनि भ्रमण गर्ने संस्कृतिको विकास हुँदै गएपछि पर्यटकीय स्थलहरु विदेशी पर्यटकहरुलाई मात्र कुर्नुपर्ने बाध्यतामा छैनन् । विदेशमा समेत चर्चित बनेका घोडेपानी, पुनहिल र मुस्ताङलाई नै हेर्ने हो भने पनि सन् २०१९ यता विदेशी कम र आन्तरिक पर्यटकहरु बढी पुगेका छन् ।
‘घोडेपानीमा अहिले सदरदर दैनिक चारसय बढी पर्यटकहरु पुग्ने र फर्कने गर्दछन् । ती मध्ये ७५ प्रतिशत आन्तरिक पर्यटकहरु हुन् । त्यसमा पनि सहरबजारबाट घुम्न आउने आन्तरिक पर्यटकहरु ९८ प्रतिशत हुने गर्दछन्’ घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो ।

चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएका उत्तरी म्याग्दीका घोडेपानी,पुनहिल,भुरुङ तातोपानीमा मात्रै होइन पश्चिमी म्याग्दीका टोड्के,बेलढुङ्गा, दरबाङ, लगाएतका पर्यटकीय स्थलहरुमा समेत आन्तरिक पर्यटकहरुको भीड लागेको पर्यटन व्यवसायीहरुको भनाइ रहेको छ ।

अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रशिद्ध पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा दैनिक तीनसयदेखि पाँचसय जनासम्म आन्तरिक पर्यटकहरु आएका स्थानीय होटल व्यवसायीहरुले बताएका छन् ।

घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष पुनका अनुसार, यसवर्ष भदौ पहिलो सातादेखि नै घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकहरु विगतका वर्षका तुलनामा धेरै आएका र दसैं सुरु भएपछि त्यो क्रम झन बढेको हो । दसैंअघि दैनिक एक सयदेखि तीनसय जनासम्म आउने गरेकोमा दसैं मनाएपछि दैनिक पाँच सयसम्म आन्तरिक पर्यटक घोडेपानीमा आएका उहाँले बताउनुभयो । विदेशी पर्यटकले धमाधम होटल बुकिङ गर्न थालेका उहाँले जानकारी दिनुभयो ।

पुनःका अनुसार असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । मुख्य सिजनमा यहाँ दैनिक चार सयदेखि एक हजारसम्म पर्यटक भित्रने गरेका उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले पर्यटन सिजन शुरु भएपछि विदेशीसँगै आन्तरिक पर्यटकसमेत घोडेपानी आउन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । यहाँ आउने आन्तरिक पर्यटकहरुमा ९८ प्रतिशत बढी व्यक्तिहरु काठमाण्डौं,पोखरा,बागलुङ,बेनी लगाएतका सहरी क्षेत्रका हुने गरेका उहाँको भनाइ छ ।

म्याग्दीका सवै पर्यटकीय स्थलहरुमा सडक सञ्जालको पहुँच पुगेपछि निजी सवारी साधानहरु मार्फत आन्तरिक पर्यटकहरु ती क्षेत्रहरुमा पुग्न थालेका धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताउनुभयो ।

ग्रामीण पर्यटनमा ग्रामीण क्षेत्रकै युवाहरुमा भने त्यति चासो रहेको नपाइएको मंगला गाउँपालिका २ रणबाङका श्रीराम पौडेलले बताउनुभयो । ‘गाउँका युवाहरु विदेशमा छन्, रहे बचेका युवाहरुलाई पनि सहरबजार नै रमाइलो लाग्छ, फुर्सद मिल्यो की उनीहरु डुल्न घुम्नका लागि बजारतिर लाग्ने गर्छन्’ पौडेलले भन्नुभयो, ‘तर,सहरबजारका युवायुवती,प्रौढ,व्यापारी,व्यवसायी र कर्मचारीहरु भ्रमणका लागि गाउँहुँदै जंगतिर उक्लिने गर्दछन् ।’

सहरबाट घुम्नका लागि गाउँ आएका पर्यटकहरुलाई स्थानीय होमस्टे,स्थानीय खानाका परिकार, दृश्यावलोकन र प्राकृतिक सुन्दरताले लठ्याउने गरेको पर्यटकीय क्षेत्र बेलढुङ्गा नजिकको ओख्ले होमस्टेका संचालक गणेश श्रीषले बताउनुभयो । उत्तरतर्फ चाँदीझैँ टल्कने सेता हिमाल । चैत–वैशाखमा राताम्यै फुलेका लालीगुराँस । नागबेली परेको म्याग्दी नदी । जंगलको एकान्तमा चिटिक्क परेको स्वर्गाश्रम । धवलागिरि क्षेत्रका दर्जर्नौ ग्रामीण वस्ती । बेलढुंगाको शिरमा चढेपछि आँखै अगाडी देखिने यस्तो रमणीय दृश्यावलोकनका लागि यहाँ बागलुङ, बेनी, कुश्मा र पोखरादेखि दैनिकरुपमा पर्यटकहरु आउन थालेका उहाँले बताउनुभयो ।

समुद्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइमा रहेको बेलढुंगामा गत वर्ष करिव ७ हजार जना आन्तरिक पर्यटक पुगेकोमा यस वर्ष त्यो संख्या अझै बढ्ने उहाँको भनाइ छ । बेलढुंगामा कति पर्यटक आए भन्ने तथ्यांक राख्ने आधिकारिक निकाय भने यहाँ छैन । स्थानीयले गाउँको होमस्टेमा बास बस्ने र गाउँका होटल तथा पसलहरुमा चिया नास्ता गर्नेहरुको संख्याको आधारमा कुन वर्ष कति पर्यटकहरु आए भन्ने संख्या अनुमान गर्नुपरेको उहाँले बताउनुभयो ।

बेलढुंगाबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका १२ ओटा हिमश्रृङ्खला, म्याग्दी नदी, कालीगण्डकी सहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साबिकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका तीन दर्जन बढी गाउँहरु, वनजङ्गल, जंगली जनावर र पंक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनी नगरपालिका ३ का वडाअध्यक्ष पदम पुनले बताउनुभयो ।

बेलढुङ्मा पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दै जान थालेपछि बेनी नगरपालिका–३ भकिम्ली र बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका ३ ओखलेबीच विकासका पूर्वाधारहरु निर्माण गर्न होडबाजी नै चलेको स्थानीय युवा टीका पुनले बताउनुभयो ।

‘यहाँ पहिला पहिला घाँस दाउरा गर्ने,भेडा बाख्रा चराउने र निगालो खोज्नेहरु यहाँ आउँथे,हेर्दा हेर्दै सहरबजारबाट घुम्न र रमाउन यहाँ आउन थाले,’ पुले भन्नुभयो, ‘गाउँका मान्छेहरु –हामीहरु) रमाउन सहर झछौं, सहरका मान्छे गाउँ हुँदै जंगलतिर उक्लन्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?