
काठमाडौं । चेम्बर्स अफ कमर्स हेल्पिङ बिजनेस गेट सेट फर द फ्युचर भन्ने नाराका साथ एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ(क्यासी)को ३७औँ सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र परिसंघले आयोजना गरेको कार्यक्रम उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एसिया प्यासिफिक क्षेत्रको सदस्यका रूपमा रहेको नेपालका लागि क्षेत्रीय व्यापार लगानी र सञ्जाल निर्माणमा सम्मेलन कोशेढुंगा हुने बताउनुुभयो ।
एसिया प्रशान्त क्षेत्रका देशहरूसँग बलियो सम्बन्ध निर्माण गर्न यस्ता सम्मेलनले पुलको काम गर्ने भन्दै उहाँले यस युगका चुनौती सम्बोधन र अवसर सदुपयोग गर्न सम्मेलन समयसापेक्ष र सान्दर्भिक रहेको बताउनुभयो । विश्व व्यापार परिदृश्यमा पंक्तिबद्ध र सकारात्मक परिवर्तन ल्याउन एसिया–प्रशान्त क्षेत्रका उद्योग वाणिज्य संघहरूको भूमिका निर्णायक हुने राष्ट्रपति पौडेलको भनाइ थियो । साथै उहाँले नेपालमा लगानीको वातावरण सकारात्मक रहेकाले सम्मेलनमा सहभागी उद्यमी व्यवसायीलाई एसिया प्रशान्त क्षेत्रको लगानी ल्याउन आग्रह पनि गर्नुुभयो ।
मुख्य वक्ता पूर्वप्रधानमन्त्री डा. बाबुुराम भट्टराईले बढ्दो मध्यम वर्ग, उदीयमान उपभोक्ता बजार नेपालको सवल पक्ष रहेको भन्दै खुद्रा, उपभोग्य वस्तु र सेवालगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताउनुभयो । युवा जनसंख्याको बाहुल्यता रहेको नेपालमा लगानीको ठूलो अवसर रहेकाले क्यासीजस्ता मञ्चमार्फत् लगानी, प्रविधि र विकासका अनुुभव ल्याउने प्रयास हुुुनुपर्ने उहाँको सुझाव थियो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेको अवसर सदुुपयोग गर्न सम्मेलनका सहभागीलाई आग्रह गर्नुभयो । नेपालमा नवीकरणीय ऊर्जा, पर्यटन, पूर्वाधार, सूचना प्रविधिलगायतका क्षेत्रमा रहेको अपार सम्भावनाको सदुुपयोग गर्दै यस क्षेत्रका जनताको जीवनस्तर सुधारमा क्यासीजस्ता संस्थाको अर्थपूर्ण सहयोग नेपालले खोजेको बताउनुुभयो ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगोपना, उद्यमशीलता र व्यापार, एसिया-प्रशान्त क्षेत्रको समृद्ध भविष्य सिर्जनाको आधार रहेको बताउनुुभयो । दुई उदयीमान अर्थतन्त्र चीन र भारतबीच अवस्थित नेपाल एसिया प्रशान्त क्षेत्रका उद्यमीका लागि आकर्षक लगानी गन्तव्य हुने उहाँको भनाइ थियोे । एसिया प्रशान्त क्षेत्रका उद्यमी व्यवसायी, लगानीकर्ता, नीति निर्माता, सरकारी र निजी क्षेत्रको सहभागिता रहेको सम्मेलन नेपालका लागि थप सहयोगी हुने उहाँले बताउनुभयो ।
त्यसैगरी नेपालको जलविद्युत्, पर्यटन, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा लगानीको अवसर रहेको भन्दै अध्यक्ष ढकालले पर्यटन पूर्वाधार होटल, केबुलकार, थिम पार्क उच्च प्रतिफल दिने क्षेत्र रहेको जानकारी गराउनुभयो । भारत र बंगलादेशमा नेपाली विद्युत् निर्यातको सम्भावना बढ्दै गएकाले यस क्षेत्रमा लगानी गर्न पनि उहाँले आग्रह गर्नुुभयो ।
क्यासीका उपाध्यक्ष एवं महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले नेपालले दोस्रोपटक सम्मेलन आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै दिगो एवं वातावरणमैत्री उद्यमशीलता विकास, आर्थिक विकासका अनुुभव आदानप्रदान गर्न र हाम्रा आर्थिक सम्बन्ध विस्तार गर्न सम्मेलन ऐतिहासिक हुने जिकिर गर्नुभयो । क्यासीका अध्यक्ष पिटर म्याकमुलिन एमले क्यासीको ३७औँ सम्मेलन नेपालको विकास प्रयासमा सहयोगी हुने विश्वास दिलाउनुुभयो । नेपालमा लगानी, प्रविधि र विकास मोडललाई आकर्षण गर्न सम्मेलन कोशेढुंगा हुने उहाँको भनाइ थियो ।
महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सम्मेलनले एकता, सहयोग र समृद्ध भविष्यका लागि साझा दृष्टिकोण तय गर्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनले दिने निष्कर्ष नेपाललगायत एसिया प्रशान्त क्षेत्रकै समृद्धिका लागि महत्वपूर्ण हुने उहाँको भनाइ थियो । परिसंघ, एसिया प्रशान्त क्षेत्रभित्रका २६ देशका २८ राष्ट्रियस्तरका उद्योग वाणिज्य महासंघ/संघको छाता संस्था हो । सम्मेलन मंगलबारसम्म चल्नेछ ।
विश्व आर्थिक मञ्चमा राम्रो पहिचान बनाउन सफल यस संस्थाको यसअघि २६औँ सम्मेलन महासंघको आयोजनामा काठमाडौंमा भएको थियो । क्यासी एसिया प्रशान्त क्षेत्रका २६ देशका उद्योग वाणिज्य संघ सदस्य रहेको संस्था हो । काठमाडौंमा जारी सम्मेलनमा करिब ६० विदेशी उद्यमी व्यवसायीको सहभागिता रहेको महासंघले जनाएको छ ।
सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशीलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय सञ्जाल विस्तार, एसिया–प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौतीलगायतका महत्वपूर्ण विषयमा विचार-विमर्श हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच