काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई सरकारमा सहभागी गराएपछि एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्री राम रानाले शनिबार राजीनामा दिनुभएको थियो । तर, सोमबार बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले तत्कालका लागि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय भएको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । सरकारको काम कारबाही र परिस्थिति हेरेर सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने निर्णय आगामी दिनमा निर्णय हुने जानकारी दिँदै भण्डारीले भन्नुभयो, ‘सरकारबाट चाहिँ हामी फिर्ता भयौँ, दिएको विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय गर्यौ“ । समर्थन कहिलेसम्म भन्ने विषयमा सरकारको काम कारबाही र परिस्थिति हेरेर निर्णय हुन्छ ।’
पूर्व–मुख्यमन्त्रीसमेत रहनुभएका एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले एमाले सत्ताको दौडमा नरहेको र विपक्षमा बस्ने निर्णय गरेको जानकारी दिँदै भन्नुभयो, ‘चुनावदेखि चुनावसम्म र सत्तादेखि सत्ताको यात्रामा एमाले छैन । गठबन्धन दलको सत्ता स्वार्थले कोशी प्रदेशमा प्रदेश सभालाई मध्यावधिमा धकेल्ने अवस्था आइसकेपछि व्यवस्थामाथिको प्रहारलाई रोक्न, सन्निकटमा हुनसक्ने मध्यावधि रोक्न र प्रदेश संरचनालाई स्थापित गर्न एमालेले कांग्रेसका कार्कीलाई समर्थन गरेर सरकार गठन गर्न सहयोग गरेका हौँ ।’
सरकारलाई दिएको समर्थन तत्काललाई फिर्ता नलिए पनि प्रमुख प्रतिपक्षी दलका रूपमा प्रदेशसभा बैठकमा बस्ने संसदीय दलका नेता कार्कीले जानकारी दिनुभयो । सोमबार बसेको संसदीय दलको बैठकमा बोल्ने केही सांसदहरूले भने सरकारसमेत छोड्न नहुने बताएका थिए । सांसद बुद्धिकुमार राजभण्डारीलगायत आधा दर्जन बढी सांसदले एमालेको सहयोगमा बनेको सरकार भएकाले सरकारमा जानुपर्ने तर्क गरेको एक सांसदले जानकारी दिनुभयो ।
कोशीमा एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गर्नुभएका केदार कार्की संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । एमालेका ३९ जना प्रदेश सांसदको समर्थनमा कोशी प्रदेशमा केदार कार्की नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । नेकपा एमालेको सहयोगमा कांग्रेसभित्र विद्रोह गरेर प्रदेश सांसद केदार कार्की २७ असोजमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । २८ असोजमा शपथग्रहण गर्नुभएका कार्कीले सोही दिन एमालेबाट राम राना र कांग्रेस विद्रोही समूहबाट शमशेर राईलाई मन्त्री नियुक्त गर्नुभएको थियो । १ कात्तिकमा विश्वासको मत लिनुभएका कार्कीले एमालेको असहमति र सरकार छाड्ने चेतावनीबीच गत शुक्रबार माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीका कमलप्रसाद जवेगुलाई मन्त्री बताउनुभएको थियो । मुख्यमन्त्री कार्कीले गठबन्धन दललाई सरकारमा सहभागी गराएपछि शनिबार एमाले सरकारबाट बाहिरिएको थियो । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमालेलाई कर्नरमा पार्ने प्रयास भएको टिप्पणी गर्दै भन्नुभयो, ‘सरकार निर्माण हुँदाको समझदारीअनुरूप मुख्यमन्त्री चल्न नसक्ने र सबैलाई सरकारमा ल्याएर एमालेलाई नै कर्नरमा पार्ने अवस्था देखिएपछि हामी सरकारबाट बाहिरिएका हौ“ । त्यसैले हामीले सरकारलाई दिएको समर्थन कायम राख्दै प्रतिपक्षमा बस्ने निर्णय गरेका छौँ ।’ एमालेले समर्थन फिर्ता लिनेबित्तिकै मुख्यमन्त्री केदार कार्कीले पुनःविश्वासको मत लिनुपर्ने अवस्था थियो । संसदीय दलको बैठकले बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने, कर्णालीका भूकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरी राहत सहयोग गर्ने र दूधको बजार व्यवस्थापन गर्न माग गर्नेलगायतका निर्णय पनि गरेको प्रमुख सचेतक भण्डारीले जानकारी दिनुभयो ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेलगत्तै मुख्यमन्त्री कार्कीले भने एमाले पुनः सरकारमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ । सर्वदलीय सरकार बनाएर अघि बढ्ने विषयमा मुख्यमन्त्री कार्कीले हरसम्भव पहल गरे पनि सम्भव नभएको तर, एमाले पुनः सरकारमा सहभागी हुने सम्भावना कायमै रहेको भन्दै प्रदेश सरकारका प्रवक्ता शमशेर राईले भन्नुभयो, ‘विशिष्ट अवस्थामा प्रदेशका अधिकांश दल एक ठाउँ उभिएर विश्वासको मत दिएको अवस्था छ । यस अघिका मुख्यमन्त्री हिक्मतकुमार कार्की र उद्धव थापा दुवैले सर्वदलीय सरकार भन्नुभएको थियो । अहिले त्यो अवस्था बनेकाले एमाले अझै पनि सरकारमा आउँछ भन्ने हामीलाई विश्वास छ ।’
प्रधानमन्त्रीद्वारा शेखरसँग सहयोगको याचना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । कोशी प्रदेश सरकार गठनपछिको राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाएपछि डा.कोइराला प्रधानमन्त्रीनिवास बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्ताबारे डा.कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भन्नुभयो, ‘समसामयिक राजनीतिका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाउनु भएपछि शेखर दाइ बालुवाटार जानुभएको हो । प्रधानमन्त्रीले कोशीमा मिलेर जानुपर्छ भनेर भन्नुभयो । उहाँले म पार्टीका साथीहरूसँग पनि सल्लाह गरेर अगाडि बढ्छु भन्नुभएको छ ।’ प्रधानमन्त्रीसँगको भेटमा खेलकुदमन्त्री डिगबहादुर लिम्बू पनि सहभागी रहनुभएको बताइएको छ । कोशीमा बहुमत पुर्याउन कठिन अंकगणितका कारण पटक–पटकका सरकार अस्थिर देखिएका छन् । कांग्रेसबाट विद्रोह गरेर केदार कार्की मुख्यमन्त्री बन्न सफल भए पनि सत्ता गठबन्धन र एमालेको चेपुवामा पर्नुभएको छ ।
संसदीय दलका नेता थापाको राजीनामा अस्वीकृत
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ । प्रदेशसभा सचिवालयमा सोमबार बसेको कांग्रेस दलको बैठकले थापाको राजीनामा अस्वीकृत गरेको हो । संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्कन आग्रह गर्नुभएको थियो । दलको बैठकपछि थापाले आफू जिम्मेवारीमा फर्किएको बताउनुभयो । राजनीति ट्र्याकमा आएका कारण सबै आफ्नो जिम्मेवारीमा फर्कने उहाँले बताउनुभयो । बैठकले यसअघि राजीनामा दिनुभएका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईलाई पनि जिम्मेवारीमा फर्कन आग्रह गरेको थियो । उहाँहरू पनि जिम्मेवारी फर्कने थापाले बताउनुभयो । सांसद केदार कार्कीले पार्टीबाट विद्रोह गरेर मुख्यमन्त्री बन्न एमालेको साथ लिएपछि थापाले राजीनामा दिनुभएको थियो । थापा पूर्वमुख्यमन्त्री पनि हुनुहुन्थ्यो ।
तत्काल सभामुख चयन गर्न सांसदहरूको माग
कोशी प्रदेशसभाका सांसदहरूले रिक्त रहेको सभामुख चयन तत्काल गर्न माग गरेका छन् । सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले प्रदेशसभाको नेतृत्व लामो समयदेखि रिक्त राख्न नहुने भन्दै तत्काल सभामुख चयन गर्न माग गरेका हुन् । शून्य समयमा बोल्ने कांग्रेसका सांसदहरू गोपाल तामाङ, मैया श्रेष्ठ, इन्दिरा थापा, शोभा चेम्जोङ, राप्रपाका गोपाल विश्वकर्मा लगायतका सांसदहरूले सभामुख चयनमा ढिलाइ गर्दा प्रदेशसभाको प्रभावकारितामा नै असर परेको उल्लेख गरेका छन् ।
तत्कालीन सभामुख बाबुराम गौतमले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन राजीनामा दिनुभएको थियो । लगत्तै गौतम मन्त्री बन्नुभयो । भदौ ४ मा थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नभएको फैसला गरेपछि थापा पदमुक्त हुनुभएको थियो । साउन १६ यता कोशी प्रदेशसभा सभामुखविहीन छ । उपसभामुख सृजना दनुवारले प्रदेशसभा सन्चालन गर्दै आउनुभएको छ ।
यसअघि संघीय संसद्मा संसदीय समितिहरू बन्ने बेलामा सत्ता गठबन्धनले केन्द्रमा एउटा समिति सभापति र कोशीमा सभामुख राप्रपालाई दिने र राप्रपाले कोशीमा गठबन्धनलाई सघाउने सहमति बनेको थियो । गठबन्धनका नेताहरूका अनुसार सोही सहमतिअनुसार प्रदेशमा सभामुख राप्रपालाई दिने तयारी भइरहेको बताउँछन् । कोशी प्रदेशसभामा सभामुख र संसदीय समितिहरूका सभापतिहरू अझै छानिएका छैनन् । यही सहमतिअनुसार सत्ता गठबन्धन र राप्रपाका सांसदहरूले सदनमा सभामुखको खोजी गरिरहँदा एमाले भने यसबारे मौन देखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच