डिबी शर्मा/जिल्ला व्युरो/हिटा
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट प्रभावितका लागि धमाधम राहत घोषणा भइरहेको छ । संघीय सरकारसँगै प्रदेश र स्थानीय सरकारले मात्रै होइन राष्ट्रिय अन्तर्राष्ट्रिय संघ-संस्थाहरूले राहत घोषणा गरिरहेका छन् । निजी क्षेत्रबाट समेत उल्लेख्य राहत घोषणा भएको छ । विभिन्न व्यक्तिहरूले पनि एकल र सामूहिक रूपमा राहत रकम घोषणा गरिरहेका छन् । सरकारी कोषमा दैनिक राहत रकम जम्मा हुने क्रम बढ्दो छ । एक वर्षभित्र पुनर्निर्माणसमेत सम्पन्न गरिसक्ने महत्वाकांक्षी योजना बनाएका संघीय सरकारले एकीकृत प्रणालीबाट मात्रै राहत वितरण गर्ने निर्णय गरेको छ । अर्थात् कसैले पनि व्यक्तिगत रूपमा राहत पीडितलाई दिन पाइँदैन । सरकारी संयन्त्रमार्फत मात्रै पीडितलाई राहत दिन पाइन्छ ।
तर, भूकम्पले घरबास र आफन्त गुमाएका प्रभावितले भने राहत नपाएको गुनासो गरेका छन् । चिसोमा खुला आकासमुनि बसिरहेका कतिपय पीडितले राहत नपाएको गुनासो गरेका हुन् । तत्काल गाँसबासकै समस्या भोगिरहेका पीडितले राहत पाएका छैनन् । एकद्वार प्रणालीको नाममा सदरमुकाममा राहत सामग्री थन्क्याएर राख्ने तर, पालिकासम्म नदिँदा पीडितले राहत पाउन नसकेको पीडितको गुनासो छ ।
जाजरकोटको नलगाड नगरपालिका-६ शेरबहादुर रावलले कुनै राहत नपाएको गुनासो गर्नुभयो । कुनै पनि निकायबाट अहिलेसम्म पाललगायत सामग्रीसमेत नपाएको उहाँको गुनासो छ । ‘सबै निकायलाई समस्या सुनाउँदा पनि कसैले सहयोग गरेनन्,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म (सोमबार) पनि कुनै पनि सहयोग पाएको छैन ।’ परिवारका चार सदस्य गुमाउनुभएका उहाँ घर भत्किएर तहसनहस भएपछि किरियापुत्रीसमेत खुला आकाशमै बस्नुभएको छ । नलगाड नगरपालिकाको १ देखि ७ वडासम्म भूकम्पले धेरै क्षति पुर्याएको छ । तीन दिन बित्दा (सोमबार)समेत पीडितले त्रिपालसम्म पाउन नसकेको नलगाड-६ कै किशोर रावलले गुनासो गर्नुभयो । ‘सबैतिर राहत घोषणा भएको समाचार आउँछ । तर, यहाँ केही पुगेको छैन,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म कसैले केही दिएको छैन ।’ नलगाड नगरपालिकामा मात्रै ५४ जनाको ज्यान गएको छ भने ६८ जना घाइते छन् ।
उहाँ मात्रै होइन नलगाड-६ का अरू पीडितले पनि राहत पाएका छैनन् । उनीहरूलाई अस्थायी बसोबासका लागि त्रिपालसमेत अभाव भएको छ । नलगाड नगरपालिकामा सात हजारभन्दा बढी पालको आवश्यकता भएकोमा मुस्किलले २५० मात्र पुगेको नगरपालिकाको योजना शाखाका प्रमुख नारायण खत्रीले बताउनुभयो । पालिकाले सक्दो गरिरहेको भए पनि त्यो अपुग भएको नगरपालिका प्रमुख डम्बर रावतले बताउनुभयो । पालिकाको क्षमताभन्दा बाहिरको आफूहरूले गर्न नसकेको उहाँले बताउनुभयो । भूकम्प पीडितहरूका लागि भनेर विभिन्न संघसंस्थाले जाजरकोटमा राहत पु¥याएका छन् । अत्यावश्यक परेका स्थानहरूमा स्थानीय पालिका र वडाका जनप्रतिनिधिहरूले उपलब्ध गराएको विवरणका आधारमा तत्कालै पठाउने भनिए पनि वास्तविक समस्या भएकासम्म राहत पुग्न नसकेको गुनासो पीडितले गरेका छन् ।
भूकम्पपछिका दुई दिनसम्म पनि खाद्यान्नलगायत राहत नपुग्दा पीडितहरू आहत बनेका छन् । बढ्दै गरेको चिसोमा रात कटाउन उनीहरूलाई मुस्किल परेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले भने राहत उपलब्ध हुने क्रम सुरु भएको जनाएको छ ।
उता, रुकुम पश्चिमको हालत पनि लगभग उस्तै छ । केहीले बारम्बार राहत पाए पनि केहीले भने राहत नपाएको गुनासो गरेका छन् । राहत नपाएको भन्दै रुकुम पश्चिमको भेरी नगरपालिका-४ का स्थानीयले वडा कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । वडाले पीडितलाई राहत नदिएको भन्दै उनीहरूले सोमबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
प्रभावित क्षेत्रमा खटिनुभएका कांग्रेस नेता सनत कार्कीले राहत वितरण विवादरहित हुन नसकेको बताउनुभयो । कांग्रेस कर्णाली प्रदेशका उपसभापतिसमेत रहनुभएका उहाँले सबै पीडितलाई राहत वितरण भइरहेको दाबी गर्नुभयो । तर, केही पीडितले भने गुनासो गरेको उहाँको भनाइ छ । ‘यो राहत वितरण गर्ने कुरा जटिल हुँदोरहेछ । सबै ठाउँमा राहत वितरण भइरहेको छ,’ हिमालय टाइम्ससँग उहाँले भन्नुभयो, ‘तर, सबैलाई सन्तुष्ट पार्न नसकिँदो रहेछ । केहीले दुई/तीनपटक लिएको र केही कम पाएको गुनासो गरेको सुनेको छु । तर, राहतै नपाएको भने सत्य होइन । वडा नम्बर ४ मा पीडितहरूले तालाबन्दी नै गरे ।’
यस्तै, रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरि पन्त लम्सालले अब चाँडै राहत वितरण हुने बताउनुभयो । क्षतिको विवरण आइसकेकाले अब राहत दिने काम सुरु हुने उहाँले बताउनुभयो । जिल्लाको विपद् समितिको बैठक बसेर तत्काल खाद्यान्न, कम्बल लगायतका सामग्री वितरण गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले भूकम्पपीडित परिवारलाई राहत वितरणको काम तीव्र गतिमा हुने बताउनुभयो । अब सबै पीडितहरूलाई अति आवश्यक सामग्रीहरू तत्काल वितरण गर्न पहल गरिएको उहाँको भनाइ छ । गाँस र बासका लागि आवश्यक पर्ने सामग्रीहरू विभिन्न ठाउँबाट ढुवानी भइरहेको उहाँले बताउनुभयो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले राहत वितरणको कार्य एकद्वार प्रणालीमार्फत गरिने जानकारी दिनुभयो ।
न बास रहृयो न गाँस
भूकम्पमा परेर घर भत्कियो । घरभित्र रहेको अन्नपात पनि त्यसैमा पुरियो । गाँस पनि गुम्यो । सरकारले राहत दिने भनेको खबर मात्र सुनेका छन् पीडितले । तर, पाएका छैनन् । ‘अब न बास रह्यो, न गाँस’, रुकुम मुसिकोट नगरपालिका–१३ की भूकम्प पीडित दुर्गाकुमारी कामीले आफ्नो सुनाउनुभयो, ‘खुलाचौरमा टहरा बनाएर बसेका छौँ । भूकम्पबाट बाँच्न त बाँचियो । अब गाँसबास र कपास नभएर मरिने भइयो ।’ उहाँका १२ र १४ वर्षका दुई छोरा छन् ।
भूकम्पमा परी आफन्त गुमेको पीडा एकातिर छँदै छ बाँचेकाहरू भोकभोकै छन् । गाउँमा त पहिले आफूसँग नहुँदा सरसापटी र पैँचो चल्थ्यो । अहिले कतै सापटी माग्न जाऊँ भने पनि सबैलाई त्यस्तै समस्या रहेको प्रभावित स्थानीय बताउँछन् । ‘कसको घरमा सापटी लिनु र खै,’ रुकुम आठबिसकोट नगरपालिका-९ का भूकम्पपीडित हरि पुन भन्नुहुन्छ, ‘भूकम्पबाट त पीडित भइयो, भइयो । अब सरकारले घाउमा मलम लगाउँला भन्ने आस छ । राज्यले समयमै गाँस र बासको व्यवस्था मिलाओस् ।’
भेरी नदीको किनार । एकातिर नदीको चिसो सिरेटो छ । अर्कातिर लत्ताकपडा भत्किएको घरभित्रै पुरिएकाले एकसरो लगाएको लुगाबाहेक शरीर ढाक्ने केही छैन । रुकुम आठबिसकोट नगरपालिका-१४ छेपारेकी गीता पुनले भन्नुभयो, ‘हाम्रो गाउँका ४० बढी घरमा भूकम्पले क्षति पु¥याएको छ । हामीसँग न खाने गाँस छ, न बस्ने बास छ । जाडो निकै बढेको छ । गाउँ नजिकैको खेतमा खुला आकाशमुनि बसिरहेका छौँ । राहतको नाममा एउटा त्रिपाल पनि पाएका छैनौँ ।’
दुर्गा, हरि र गीताको परिवारको पीडा मात्र होइन, रुकुमको आठबिसकोट नगरपालिका, मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, बाफिकोट गाउँपालिका, त्रिवेणी गाउँपालिकाका चार हजार २३६ घर भूकम्पबाट पूर्णरूपमा ध्वस्त भएका छन् । जहाँका चार हजार २३६ परिवार नै गाँस र बासविहीन छन् ।
जाजरकोटको नलगाडको सिंगो गाउँ चिउरे गाउँ नै भूकम्पबाट प्रभावित भएको छ । सबैभन्दा बढी भौतिक क्षति भएको यस गाउँका १८६ घर परिवारको बास खुला आकाशमुनि छ । यस गाउँमा १३ जनाले ज्यान गुमाएका छन् । गाउँका करिब एक हजार जनसंख्या अहिले विचल्लीमा छ । स्थानीय रतने विकले भन्नुभयो, ‘हामी गाउँका सबै मानिस अहिले गाँस बासविहीन छौँ । हाम्रो पेटमा न चारो छ । न ओत लाग्ने ठाउँ नै छ । चिसो सिरेटोमा बारीको काल्लामा रात बिताउनुपर्ने भयो । हामीलाई खाद्यान्न, त्रिपालसहित ओढ्ने-ओछ्याउने कपडाको व्यवस्थापन भए निकै राहत हुने थियो । सरकारी तथा दातृ निकायहरू राहतको काम सुरु गरे पनि व्यवस्थित भइसकेको देखिँदैन ।’
मृतकको वास्तविक संख्या १५३, मृत्यु हुनेमा महिला र बालबालिका बढी
सरकारले जाजरकोट भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अध्यावधिक गरेको छ । केहीको नाम दोहोरो परेको भन्दै सरकारले मृतकको विवरण अध्यावधिक गरेको हो । यसअघि भूकम्पमा परी कुल १५७ जनाको ज्यान गएको भनिएकोमा हाल उक्त संख्या १५३ यकिन भएको छ । नलगाड नगरपालिकामा घर भएर भेरी नगरपालिकास्थित खलंगा बजारमा मृत्यु भएकाहरूको नाम दोहोरो परेकाले संख्या कम भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार भेरी नगरपालिका र नलगाड नगरपालिकामा दोहोरो पर्दा १०५ जना मृतक संख्या हुन गएकोमा वास्तविक मृतक संख्या १०१ जना मात्रै रहेको प्रहरीले जनाएको छ ।
भूकम्पमा ज्यान गुमाउनेमध्ये धेरै महिला र बालबालिका छन् । जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुने आधा बढी बालबालिका छन् । जाजरकोटमा मृत्यु भएका १०१ मध्ये बालक २७ र बालिका २३ जना रहेको प्रहरीले जनाएको छ । भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिका छन् ।
भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाजरकोटमा मृत्यु भएका १०१ मध्ये ५६ जना महिला र ४५ जना पुरुष छन् ।
रुकुम पश्चिममा मात्रै साढे १६ हजार बढी घरमा क्षति
भूकम्पका कारण रुकुम पश्चिममा मात्रै साढे १६ हजार घरमा क्षति गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिमा अनुसार जिल्लाका ६ वटा स्थानीय तहमा १६ हजार ५७० घर पूर्ण रूपमा क्षति भएका छन् । नगरपालिका तथा गाउँपालिका प्रमुखहरूले पेस गरेको प्रारम्भिक तथ्यांकअनुसार आठबिसकोटमा सबैभन्दा बढी क्षति भएको छ । त्यसैगरी सानीभेरी गाउँपालिकामा तीन हजार १४६ घर पूर्ण क्षति भएको र ७२२ घर आंशिक रूपमा क्षति भएका छन् । चौरजहारी नगरपालिकामा एक हजार ९८७ घर पूर्ण रूपमा र चार हजार ३७४ घर आंशिक रूपमा क्षति भएको छ । मुसीकोट नगरपालिकाभित्र दुई हजार तीनसय घर पूर्णरूपमा क्षति भएको र तीन हजार पाँचसय घरमा आंशिक क्षति भएको छ । त्रिवेणी गाउँपालिकामा एक हजार ९३५ घर पूर्ण र एक हजार २५८ घरमा आंशिक क्षति भएको समितिले जनाएको छ । त्यसैगरी, बाँफीकोट गाउँपालिकामा १८ वटा घर पूर्णरूपमा क्षति भएको र १०७ वटा घरमा आंशिक रूपमा क्षति भएको गाउँपालिका अध्यक्ष जनककुमार बाँठाले बताउनुभयो । यो तथ्यांक अझै बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो । थप आवास तथा पूर्वाधार संरचनाको क्षतिको विवरण संकलन भइरहेकाले यो संख्या बढ्न सक्ने बताइएको छ ।
घाइते गर्भवतीको पेटबाट मृत बच्चा निकालियो
भूकम्पमा परी घाइते हुनुभएकी एक गर्भवती महिलाको पेटबाट मृत बच्चा निकालिएको छ । भेरी अस्पताल बाँकेमा उपचाररत जाजरकोट नलगाड गाउँपालिका–६, जाजरकोटको १९ वर्षीया गर्भवती महिला जमुना बुढामगरको पेटबाट मृत बच्चा निकालिएको हो । गर्भवती घाइते महिलाको स्वास्थ्य चेकजाँच गर्दा पेटभित्र आठ महिनाको गर्भ रहेको र पेटभित्रै बच्चा मृत अवस्थामा रहेको पाइएपछि औषधिमार्फत मृत बच्चालाई निकालिएको छ । डा.नवीन बुढाथोकी र प्रसूति कक्षका नर्सिङ टिमले उहाँको पेटमा रहेको आठ महिनाको पुरुष मृत बच्चालाई बाहिर निकाल्नका लागि औषधिबाट व्यथा लगाई आइतबार राति सामान्य सुत्केरी गराइएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । घाइते गर्भवती महिलाको बच्चा पेटबाट बाहिर निकाली सकिएपछि थप जाँच तथा उपचार सुरु गरिएको अस्पतालले जनाएको छ । मृत बच्चाको सोमबार बिहान जमिनमा गाडेर शव व्यवस्थापन गरिएको र शव व्यवस्थापनका लागि बाँके युनेस्को क्लबले पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
भूकम्पमै बिलाए ऊर्जा र उपसना
शुक्रबार मध्यरातमा भूकम्प जाँदा गोरखबहादुर सिंहको परिवार खलंगामा मस्त निद्रामा थियो । भूकम्पले घर भत्किँदा उहाँले दुई छोरी र एक आफन्त गुमाउनुभएको छ । भूकम्पमा परी उहाँसहित जेठी छोरी र श्रीमती पनि घाइते हुनुभएको छ । बारेकोट गाउँपालिका–४ जिरी स्थायी घर हुनुभएका सिंह दम्पतीको जिल्ला अस्पताल जाजरकोटमा र उहाँकी छोरीको नेपालगञ्जमा उपचार भइरहेको गोरखका छोरा नवीन सिंहले बताउनुभयो । तर, भूकम्पमा परी दुई बहिनीको दुःखद निधन भए पनि ऊर्जा र उपसनाको सपना भने अधुरै रहेको उहाँ बताउनुहुन्छ । सिंहकी माइली छोरी २१ वर्षीया उपसना सिंह अष्ट्रेलिया जाने तयारीमा हुनुहुन्थ्यो । सम्पूर्ण प्रक्रिया सकेर उपसना यही कात्तिक २६ गतेको भिसाको प्रतीक्षामा बस्नुभएको थियो । कान्छी छोरी १८ वर्षीया ऊर्जा सिंह प्लसटु सकेर एमबिबिएसको तयारी गर्दै हुनुहुन्थ्यो । अष्ट्रेलियामा गएर पढ्दै कमाउँदै घरपरिवारलाई सहयोग गर्ने उपसनाको सपना थियो । भने, एमबिबिएस डाक्टर बनेर समाज सेवा गर्ने ऊर्जाको सपना थियो । तर, उहाँहरू दुवैजनाको सपना भूकम्पले अधुरै बनाइदियो ।
ऊर्जा र उपसनासँगै २५ वर्षीया उहाँकी मामाकी छोरी मेलिना सिंहको पनि सँगै निधन भएको छ । उहाँहरू तीन बहिनीसँगै हुनुहुन्थ्यो । मेलिनाको पनि इञ्जिनियर बन्ने सपना थियो । इञ्जिनियररिङ अध्ययनरत मेलिनाको पनि इञ्जिनियर बन्ने सपना अधुरै रहेको छ । मृतक तीनै जनाको शनिबार परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।
गोरखबहादुर सिंह तीन छोरी, एक आफन्तकी छोरी र श्रीमतीसहित जाजरकोट सदरमुकाम खलंगामा बस्दै आउनुभएको थियो । रातको समय भएकाले तत्कालै उद्दार हुन नसक्दा छोरी गुमाउनुपरेको पीडाले अहिले गोरखबहादुर निकै दुःखी हुनुहुन्छ । हाल घाइते गोरखबहादुरको अवस्था खतरामुक्त भए पनि सन्तानवियोगले सिंह परिवार विक्षिप्त बनेकोे छ । समयमै उद्धार र उपचार हुन सकेको भए छोरीहरूलाई बचाउन सकिन्थ्यो कि ? भन्ने प्रश्नले मनमा कुरा खेलिरहेको गोरखबहादुर बताउनुहुन्छ ।
राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित, आज प्रभावित जिल्लामा जाने
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पपीडितको अवस्था बुझ्न रुकुम पश्चिम र जाजरकोट जानुहुने भएको छ । युरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल आज (मंगलबार) भूकम्प प्रभावित जिल्लामा जानुहुने भएको हो । राष्ट्रपति पौडेलले जनता दुःखमा रहेका बेला भ्रमणमा नजाने भन्दै युरोप भ्रमण स्थगित गरेको उहाँका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो । भ्रमण रद्द गरेर पौडेलले जनताको दुःख बुझ्न प्रभावित क्षेत्रमा जान लागेको उहाँले बताउनुभयो । सरकारले राष्ट्रपतिको युरोप भ्रमण स्वीकृत गरेकै भोलिपल्ट जाजरकोट केन्द्रविन्दु भएर विनाशकारी भूकम्प गएको थियो ।
फेरि पाँच दशमलव आठ म्याग्निच्युडको भूकम्प
जाजरकोटको रामीडाँडा आसपासलाई केन्द्रविन्दु बनाएर अर्को भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सोमबार अपराहृन ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार अपराहृन नौ मिनेटको अन्तरमा चार म्याग्निच्युड माथिका भूकम्पका दुई धक्का पनि मापन गरिएको थियो । ५.८ म्याग्निच्युडको भूकम्पको धक्का गएको नौ मिनेटपछि अर्थात् अपराहृन ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जनाएको छ । ठूलो भूकम्प भएपश्चात् लामो समयसम्म त्यसका पराकम्प आउने गर्छन् ।
भूकम्पको यो धक्कालाई पनि परकम्पका रूपमा लिइएको छ । यो परकम्पले भेरी नगरपालिकामा धेरै घर भत्किएको छ भने केही व्यक्ति घाइते भएका छन् । शुक्रबारको भूकम्पले १२ जनाको मृत्यु भएको भेरी नगरपालिकाको राउतगाउँमा सोमबार चारवटा घर भत्किएको छ । शुक्रबारको भूकम्पबाट जोगिएका धेरै घर सोमबारको भूकम्पले भत्काएको छ । सोमबार शक्तिशाली परकम्प आउँदा ठूलो आवाज आउनुका साथै गाउँभरि नै घर भत्किएर धुलो उडेको देखिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच