काठमाडौं, सुर्खेत । मंगलबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पको इपिसेन्टर जाजरकोटको बारेकोट (रामिडाँडा) पुग्नुभयो । उहाँसँगै नेताहरूको लावालस्कर बारेकोट पुग्यो । राष्ट्रपतिसँगै हुनुहुन्थ्यो रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री वेदराज सिंह, जाजरकोटका प्रदेशसभा सांसद राजीवविक्रम शाहलगायत नेताहरू । उहाँहरूसँगै नेता-कार्यकर्ताको झुण्ड त छँदै थियो । यही मौकामा कर्णालीका कानुनमन्त्री कृष्णबहादुर जिसी, नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही, कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीसमेत रामिडाँडा पुग्नुभयो ।
यसअघि पनि प्रधानमन्त्रीदेखि नेता-कार्यकर्ताको लाम लाग्ने गरेको इपिसेन्टरमा राष्ट्रपति जाँदा पीडित थप प्रभावित बने । केहीबेर भूकम्पपीडितको बिल्लीबाठ भयो । पीडितलाई राख्न बनाइएका टेण्ट हटाएर राष्ट्रपति सवार हेलिकप्टर ल्याण्डका लागि हेलिप्याड बनाइयो । छेउछाउमा बाँकी रहेका पीडितका पाल हलिकप्टरको हावाले उडायो । मंगलबार दिनभर जाजरकोट, रुकुम पश्चिममा राहत ढुवानीको कामसमेत थप्प बन्यो । नेपालगञ्ज, सुर्खेतलगायत जिल्लाबाट अत्यावश्यक राहत सामग्री तथा बिरामीको उद्दारका लागि प्रयोग गरिने दुईवटा हेलिकप्टर दिनभर राष्ट्रपतिलाई घुमाउन प्रयोग गरिए । एक हेलीले राष्ट्रपतिलाई जाजरकोट र रुकुम पश्चिममा घुमायो भने, अर्को हेली राष्ट्रपति पौडेलका लागि आकस्मिक ल्याण्ड बस्यो । भूकम्पपीडित, प्रभावित र केही घाइतेलाई समेत भेट्नुभएका उहाँले सरकारसँग कुरा गर्ने वचन दिएर फर्किनुभयो ।
प्रधानमन्त्रीदेखि राष्ट्रपति र मन्त्रीका लाम प्रभावित क्षेत्रमा पुगे तर, पीडितले अझै राहत पाएका छैनन् । यस्तै, भूकम्प गएको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्मा र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलगायत नेताहरू हेलिकप्टबाट जाजरकोट र रुकुपश्चिम पुग्नुभएको थियो ।
त्यसयता उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री शेरबहादुर बस्नेत, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा, अर्थमन्त्री वेदराज सिंह, कानुनमन्त्री कृष्णबहादुर जिसी जाजरकोट जाने र फर्कने गरिराख्नु भएको थियो ।
हवाई मार्गबाट मात्रै नभई स्थलगत पनि भिआइपीहरू जाजरकोट जाने गरेका छन् । २० कात्तिकमा कर्णालीका सामाजिक विकास मन्त्री खड्का पोखरेल र पर्यटनमन्त्री कृष्ण बिसी सवार गाडीका कारण जाजरकोकोटको रिम्नामा झण्डै तीन घण्टा सडक जाम भएको थियो ।
उक्त जाममा प्रभावित क्षेत्रका लागि राहत बोकेका र छाडेर आएका सवारी साधनहरू रोकिएका थिए । भूकम्पबाट घरवास गुमाएका नागरिकले सुरक्षित छानो खोजिरहेका समयमा भिआइपीका नाममा जाजरकोटमा भइरहेका गतिविधिले राहत ढुवानी तथा वितरणमा समस्या देखा परिरहेको छ । बुधबार नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मासमेत प्रभावित क्षेत्रमा पुग्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि जाजरकोट पुग्नुभएको थियो । अनुगमनको नाममा भिआइपीको लावालस्कर र भइरहेको तामझामले नागरिकहरू थप त्रासमा परेका छन् । भूकम्प गएको पाँच दिनको अवधिमा सुर्खेत विमानस्थलबाट मात्रै ३१ पटक हेलिकप्टर उडान भएको छ । जसमा भिआइपीका लागि भनेर दर्जन बढी पटक हेलिकप्टर जाजरकोट र रुकुम पश्चिमका लागि उडेका छन् । जसले गर्दा पीडामा परेका नागरिकले राहतभन्दा पनि आहात धेरै पाएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।
राहत सामग्री गाडीमा, मन्त्री तथा नेताहरू हेलिकप्टरमा जाँदा नागरिक खुला आकाशमुनि रात बिताउन बाध्य हुनुपरेको भेरी नगरपालिका जाजरकोटका प्रमुख चन्द्रप्रकाश घर्ती बताउनुहुन्छ ।
राहत वितरणमा ढिलाइ भएकोप्रति प्रमुख घर्तीले सामाजिक सञ्जालमा संविधानले दिएको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार नमिच्न भन्दै हेलिकप्टर आतंक बन्द गर्न चेतावनीसमेत दिनुभएको थियो । ‘विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकप्टर आतंक बन्द गर । संविधानले व्यवस्था गरेको स्थानीय विपद व्यवस्थापन समितिको अधिकार मिच्न नखोज,’ घर्तीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
भेरी नगरपालिकामा १५ हजार त्रिपाल आवश्यक रहेको तर, हालसम्म उपलब्ध हुन नसेकोको उहाँको भनाइ छ । तत्काललाई त्रिपाल, टेण्ट तथा कम्बलहरू बाँडिनुपर्नेमा प्रशासनले एकद्वार प्रणालीको लागू गरेपछि नागरिकहरू विचल्लीमा परेको नगर प्रमुख घर्तीले बताउनुभयो ।
जाजरकोट बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अन्य व्यक्तिहरूले हेलिकप्टर प्रयोग गर्नु उत्तम नभएको बताउनुभयो । देश अर्थतन्त्रमा डुबेका बेला हेलीमा धेरै खर्च गर्नुभन्दा भूकम्प पीडितलाई सहयोग गरे राम्रो हुने उहाँको तर्क छ ।
भूकम्प गएको पाँच दिनसम्म पनि बढी क्षति भएका तीन पालिकाका अधिकांश ग्रामीण बस्तीका नागरिकले राहत पाउन सकेका छैनन् । राहत नपाउँदा बालबालिका, गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकहरू बढी प्रभावित छन् ।
प्रदेश सरकार भूमिकाविहीन
कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलन र वितरणका लागि सहजीकरण गर्दै आएको बताए पनि हालसम्म प्रदेश सरकारका तर्फबाट पीडितका लागि कुनै पनि राहत प्याकेज घोषणा गर्न सकेको छैन । राहत वितरण तथा आवश्यक व्यवस्थापनमा प्रदेश सरकार भूमिकाविहीन जस्तै छ । प्रभावित क्षेत्रका लागि राहत ढुवानी तथा वितरणलगायत अन्य व्यवस्थापनमा रक्षामन्त्री पूर्णबहादुर खड्काको सक्रियतामा प्रदेश सरकार भूमिकाविहीन जस्तै छ । खड्काले प्रभावित क्षेत्रमा राहत वितरण, मानवीय उद्धार तथा जनशक्ति खटनपटनलगायत कार्यमा संघीय सरकारको कमाण्ड सम्हालिरहनुभएको छ । खड्काले नेपाली सेनाका हेलिकप्टरलाई प्रभावित क्षेत्रमा खटनपटन गराइरहनु भएको छ ।
प्रभावित क्षेत्रमा आफ्नो उपस्थिति बलियो रहेको दाबी गरिरहँदा प्रदेश सरकारका काम कारबाहीले भने संघीय सरकारका अगाडि प्रदेश सरकार छायामा परेको एक नेताले बताउनुभयो । संघीय सरकारका तर्फबाट रक्षामन्त्री खड्काले समन्वय गर्नु नराम्रो भने होइन तर, भएका स्रोतसाधन खड्काको तजबिजमा चल्दा पीडितले समयमै नपाउँदासमेत प्रदेश सरकारले कुनै भूमिका खेल्न नसकेको चर्चा भइरहेको छ ।
संघीय सरकार अन्य प्रदेश र विभिन्न निकायहरूबाट प्राप्त रकम तथा राहत सामग्रीको संकलन तथा भण्डार गरी सम्बन्धित जिल्लामा पठाउने कार्यमा आवश्यक समन्वय भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रोशनबहादुर शाहीले बताउनुभयो ।
शाहीका अनुसार कोशी प्रदेश, स्थानीय तह, व्यक्ति तथा विभिन्न संघ संस्थाहरूले प्रदेश विपद् कोषमा जम्मा गरेको दुई करोड ४५ लाख रुपैयाँ राहतस्वरूप प्रभावित क्षेत्रका पालिकामा पठाएको छ । प्रदेश सरकारले मंगलबार जाजरकोट, रुकुमपश्चिम र सल्यानका गरी १६ वटा पालिकालाई २ करोड ४५ लाख रकम पठाएको कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार जाजरकोट जिल्लाका सातवटा स्थानीय तहमा एक करोड २० लाख, रुकुमपश्चिका भूकम्प प्रभावित ६ वटा स्थानीय तहमा एक करोड र सल्यान जिल्लाका तीनवटा स्थानीय तहका २५ लाख रकम वित्तीय हस्तान्तरण गरिएको छ ।
भूकम्पबाट सबैभन्दा बढी प्रभावित जाजरकोटको भेरी नगरपालिकामा २५ लाख, नलगाड नगरपालिकामा २५ लाख, बारेकोट गाउँपालिकामा २५ लाख, कुशे गाउँपालिकामा २० लाख, छेडागाड नगरपालिकामा १० लाख र शिवालय गाउँपालिकामा पाँच लाख रकम पठाइएको छ ।
यस्तै, रुकुमपश्चिमको आठबिसकोट नगरपालिकालाई २५ लाख, सानोभेरी गाउँपालिकालाई २५ लाख, चौरजहारी नगरपालिकालाई २० लाख र त्रिवेणी गाउँपालिकालाई २० लाख रकम पठाइएको हो । भूकम्पबाट प्रभावित सल्यानका तीन पालिकाहरू दार्मा गाउँपालिकामा १५ लाख, वनगाड र बागचौर नगरपालिकालाई पाँच लाखका दरमा रकम पठाइएको मन्त्रालयले जनाएको छ ।
एकलाख ८० हजार प्रभावित
जाजरकोटमा गत शुक्रबार गएको भूकम्पबाट करिब एकलाख ८० हजार नागरिक प्रभावित भएका छन् । जिल्लामा कुल ३४ हजार ५०१ घरधुरीका एकलाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । जिल्लामा नौ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित बनेको छ । प्रशासनको तथ्यांकअनुसार जिल्लाका सात स्थानीय तहका नौ हजार ९७४ घर पूर्णरूपमा भत्किएका छन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ । जाजरकोटमा मात्रै भूकम्पबाट १०१ जनाको मृत्यु भएको छ ।
सरकारको कामबाट जनता निराश छन् : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प प्रभावित क्षेत्रको अवस्थाबारे सरकारलाई जानकारी गराएको छ । रास्वपा सभापति रवि लामिछानेले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी गराउनुभएको हो । उहाँले सरकारलाई १४ बुँदे सुझावसमेत दिनुभएको छ । प्रभावित क्षेत्रमा चाहिएका सामग्री तत्काल पुर्याउन र गुणस्तरीय त्रिपाल आवश्यक रहेको उहाँले सुझाव दिनुभएको छ । सरकारको कामबाट प्रभावित निराश रहेको भन्दै आमजनसमुदायमा सरकार रहेको प्रत्याभूति दिलाउन उहाँले आग्रह गर्नुभयो ।
राहत सामग्री वितरणमा एकरूपता नभएको पनि उहाँको भनाइ छ । प्रशासन कार्यालयमा राहत थुप्रिए पनि प्रभावितले नपाएको उहाँले बताउनुभयो । लामिछानेले राहतमा दलीयकरण गरिएको पनि बताउनुभएको छ । ‘दलगत हिसाब अथवा त्यस ठाउँका जनप्रतिनिधि जुन पार्टीका हुन्, त्यही पार्टीका समर्थकले मात्रै राहत पाएको गुनासो आमसमुदायले गरेका छन्, ‘उहाँले सुझावमा भन्नुभएको छ, ‘राहतमा राजनीति नगरिदिनु भनी सम्बन्धित सबैको ध्यानाकर्षण गर्नुपर्ने देखिएको छ ।’ छलफलमा प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिनुभयो ।
चिनियाँ राहत हस्तान्तरण
चीनले भूकम्प प्रभावितका लागि ल्याइएको राहत सरकारलाई हस्तान्तरण गरेको छ । बुधबार चिनियाँ राजदूत छन् सोङले चीनबाट आएको राहत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत् आएका झण्डै ३० करोड मूल्य बराबरको सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गर्नुभयो । नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुवै मुलुक एकअर्काको दुःखमा साथमा रहेको र यो दु्रत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । त्यसक्रममा राजदूत सोङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जलि र पीडामा परेका जनतामा समवेदना व्यक्त गर्नुभयो । नेपाल र नेपाली जनताको दुःखमा आफ्नो देशको सधैँ साथ सहयोग रहने र राष्ट्रपति सी चीनफिङले समेत पत्र पठाएर त्यो समवेदना जाहेर गरेको उहाँले बताउनुभयो । चीनले दुईवटा एयरक्राफ्टबाट चार हजार ६ सय ब्लांकेट र ६ सय टेण्ट आएको छ । यसअघि केरुङ नाका हुँदै चिनियाँ सरकारले झण्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पठाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच