इलाममा ढकमक्क फूले सयपत्री

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । इलाममा ढकमक्क फूलेका सयपत्री फूलहरुले तिहारलाई स्वागत गरिरहेका छन् । उज्यालोको पर्व तिहारमा सबैभन्दा बढी प्रयोग हुने सयपत्री फूलको इलाममा व्यवसायीक खेती हुन थालेको छ ।

इलामका किसानले लगाएको सयपत्री फूल यतिबेला बारीमा ढकमक्क फूलेर बजार लैजान तयार भएका छन् । तिहार पर्वमा माला उनेर लगाइने सयपत्री फूल विशेष गरि कार्तिक महिनामा फुल्ने गर्दछ । तिहारमा दिदी वहिनीहरुले दाजुभाइलाई टीका लगाएर सयपत्री फूलबाट तयार गरिएको माला लगाइदिने गर्दछन ।

पछिल्ला केही वर्षयता इलाममा व्यवसायिकरुपमा सयपत्री फूलखेती हुनेक्रम बढ्दै गएको छ । पारिलो घाम लाग्ने ठाउँमा राम्रोसँग फुल्ने सयपत्री फूल रोपेको तीन महिनामा फुल्ने गर्छ । सौन्दर्य र सुगन्धित सयपत्री फूलका अनेकन विशेषता छन् । तिहारमा पूजाआजा गर्न, घर सजावट गर्न र भाइटिकामा दाजुभाइका लागि माला बनाउन सयपत्री फूलको प्रयोग हुने गर्दछ । तर यसपटक भने फुलको माग बजारमा नभएको फुलखेती गर्ने इलाम गोदकका किसान मनबिर थापाको भनाई छ । लक्ष्मी पुजा गरिसकेपछि साँझमा चेलिबेटीहरुले खेलिने भैलो र गोवर्धन पुजाको दिन पुरुषहरुले खेलिने देउसीमा पनि सयपत्री फुलको नाम लिइन्छ । छाटो समयमा राम्रो आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षणसमेत बढ्दै गएको हो । बाह्रै महिना फूल्ने भएपनि तिहारमा सयपत्री फूलको विशेष महत्व रहने इलाम गोलाखर्कका बिरेन्द्र चौहानको भनाई छ ।

तिहारका वेला बजारमा बनाइएका मालाभन्दा आफ्नै घरमा फुलेका, आफ्नै हातले टिपेर–गाँसेर बनाएका माला दाजुभाइलाई लगाइदिँदाको खुसी छुट्टै हुने गरेको छ  । तिहारलाई फुलहरुको पर्बक साथै दिदीबहिनी र दाजुभाइको सम्बन्धलाई मजबुत बनाउने चाडको रुपमा समेत लिने गरिन्छ । तिहारमा विशेष गरि साथीभाइ जम्मा भएर मिलिजुली देउसी भैली खेल्दै रमाइलो गरि मनाउने पर्व भएकाले पनि तिहारको रौनक बेग्लै हुने गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?