✍️ वीरभद्र आचार्य
कात्तिक २८ गते २०२३ बिहान ३ः३० मा मामाको स्वर्गारोहण भयो भनेर खबर पाएँ । ३ः१५ मा शरीर छोड्नु भएछ । म ५ः३० तिर मामाघर पुगेँ । घरपरिवार र जम्मा भएका सबैको अनुहार मलिन थियो । घरमा एक प्रकारको शून्यताले घेरेको थियो । सुत्ने कोठाको पलङमा मामाको शरीर रामनामीले छोपेको थियो । अन्तिम दर्शनका लागि रामनामी उठाएर अनुहार हेरेँ, शान्त थियो, उज्यालो थियो । उहाँको मुहारमा न त शरीर छोड्नु परेको पिर न परिवारसँगको बिछोडको पिर नै झल्किन्थ्यो न त फेरि हाँसो नै थियो । न कुनै दुःख वा सुखको कुनै झलक नै थियो । या फेरि आगोमा सल्किनै डर नै थियो । मात्र शान्ति थियो । केही बेर मामाको अनुहार हेरेर बसेँ । मेरो मन गह्रौँ भयो, विचारहरू तरंगित भए ।
मामाले त बिहान ३ः३० मा नै शरीर छोडेको सूचना पाएको थिएँ । फेरि यो कसलाई दर्शन गर्दै छु त ? मामा भनेर कसलाई दर्शन गरेँ त ? त्यो ओछ्यानमा लम्पसार भएर सुतेको मृत शरीरलाई केही बेरसम्म हेरिरहेँ, शरीर जस्ताको तस्तै छ तर त्यो शरीरमा के छैन त भनेर घोत्लिएँ । विचार गरेँ, मामा हुनुहुन्न । प्रश्न गरेँ, मामा भनेर मैले कसलाई भनेको रहेछु त ? शरीर जहीँको तहीं छ तर मामाको त स्वर्गारोहण भइसक्यो ।
जबसम्म मेरो शरीरमा चेतन रहिरहन्छ तबसम्म ‘म’ छु, जुन समयमा ‘चेतन’ ले छोड्छ, ‘म’ हुन्न, मात्र एउटा मुढो लास बाँकी रहन्छ । तर, जब म आफूलाई चेतन भन्छु, चेतन त सर्वव्याप्त छ, तर ‘म’ त सीमित घेरामा बाँधिएको छु ।
अब मामा शरीरमा हुनुहुन्न । न त त्यो शरीर अब बोल्न, सुन्न सक्छ, न त चल्न सक्छ, एक मुढोजस्तो भएर लडेको छ । मृत शरीरलाई अब आर्यघाट लग्न हतार छ । म कसरी झुक्किरहेको रहेछु, शरीरलाई मामा भनेर । शरीर त मामाको आवरण मात्र रहेछ । खास मामा भनेर मैले सम्बोधन गरेको त त्यो आवरणभित्र लुकेको चेतनलाई रहेछ, जो आज शरीरको बन्धनबाट मुक्त भएर अनन्तमा विचरण गर्न पुगेको छ । जो अनन्त थियो, केही क्षण शरीरको बन्धनमा थियो, आज फेरि त्यही अनन्तमा गएर मिसिन पुगेको छ ।
मंसिर २१ गते २०८०
मेरा मित्र दीपक खड्काका पिताजीको देहान्त भएकोले पशुपति आर्यघाट पुगेको थिएँ । त्यहाँ लस्करै बनेको चिताहरूमा लास जलिरहेको देखेँ । लास जलिरहेको थियो लासको वरिपरि घाटमा आउनेमा आफन्तहरू कोही दुःखी देखिन्थे, कोही गफमा मस्त थिए । चिताको आगोबाट धुवाँ निस्किरहेको थियो । पुरा वातावरणमा लास पोलेको गन्ध थियो । ती लासहरू जलिरहेको दृश्यले मेरो मनमा अनायास एउटा विचार तरंगित हुन गयो । किन त्यो लासलाई आगोको लप्काले पोलिरहेको अनुभव छैन ? त्यही शरीर हो । जीवन छँदासम्म आगोले पोल्ने, लास भएपछि नपोल्ने ।
सँगै हिँडिरहेको मित्रलाई प्रश्न गरेँ हामी जीवित अवस्थामा शरीरमा आगोको एउटा झिल्को परे पनि पोलेको अनुभव हुन्छ, पीडा बोध हुन्छ तर त्यही शरीर हो जब लासमा परिणत हुन्छ चितामा दन्किरहेको आगोले पनि पोलेको हुँदैन । किन ? उसको जवाफ थियो जीवित शरीरमा प्राण हुन्छ आगोले त्यो प्राणलाई पोल्छ । साधारण भाषामा उसको जवाफ ठीक थियो । प्राण रहुन्जेल शरीरलाई पीडा हुने हो प्राणले छोडेपछि पीडाको अनुभूति नहुने । तर, मलाई उत्तर चित्त बुझेन । प्रश्न उठ्छ कसलाई पोल्छ त ? अनेक तर्क वितर्कहरू गरेँ । शरीरलाई कि दिमागलाई कि, प्राणलाईलाई ? पोल्न त ‘म’ लाई पोल्छ । ‘म’ दिमाग भनौँ भने लासमा पनि दिमाग त यथावतै हुन्छ नै । तसर्थ ‘म’ दिमाग त पक्कै होइन ।
दुईवटा पत्थर घर्षण हुँदा आगो निस्किए झैँ, पुरुष र प्रकृतिको घर्षणबाट जीवको उत्पत्ति हुन्छ । दुवै ऊर्जा आदि कालदेखि रही आएको छ र विश्व ब्रहृमाण्डको सृष्टिको आधारशिला भएको छ । यो भन्नु नै सनातान विश्वास अनुसार शिवको नरनारेश्वर रूप हो ।
के ‘म’ प्राण हो त ? प्राण भनौँ भने हाम्रो शरीरमा प्राण अक्सिजनले धानेको हुन्छ । मृत शरीरमा जति अक्सिजन पम्प गरे पनि शरीर बिउँझिँदैन । भनेपछि ‘म’ को हुँ त ? विचार फुर्दै गयो र अन्त्यमा सोचेँ, ‘म’ अंग्रेजीमा अवारनेस हुँ अर्थात् नेपाली भाषामा, म ‘चेतन’ हुँ । जबसम्म मेरो शरीरमा चेतन रहिरहन्छ तबसम्म ‘म’ छु, जुन समयमा ‘चेतन’ ले छोड्छ, ‘म’ हुन्न, मात्र एउटा मुढो लास बाँकी रहन्छ । तर, जब म आफूलाई चेतन भन्छु, चेतन त सर्वव्याप्त छ, तर ‘म’ त सीमित घेरामा बाँधिएको छु । प्रश्न खडा हुन्छ, ‘म’ लाई कसले यो शरीरमा बाँधेको छ त ? किन ‘म’ चेतन भएर पनि सीमित घेरामा बाँच्न बाध्य छु ?
मंसिर २२ गते २०८०
आज बिहानको हिँडाइमा पनि तिनै प्रश्नहरू दोहोरिइरहे, जीवन भनेको के हो त ? के हो त्यो जसले हामीलाई जीवित बनाएको छ ? उत्तर खोज्दै जाँदा, जीवन भनेको ऊर्जा हो जसले यो मुढोजस्तो शरीरलाई चल्न मद्दत गर्छ । सुरुमा त सोचेँ यो ऊर्जा खाना र हामीले लिने प्राण वायु बाट आउँछ । फेरी सोचेँ, हो ऊर्जाको स्रोत यी त हुन् तर यी नै सम्पूर्ण होइनन् जस्तो लाग्यो । यसले त शरीर र दिमागलाई तन्दुरुस्त राख्न र चल्न हल्नमात्र मद्दत गर्छ । मृत जीवको शरीरमा जति खाना हाले पनि, या फेरि जति प्रण वायु पम्प गरे पनि बिउँझिँदैन, भने त्यो ऊर्जा के हो त जसले हामीलाई जीवन प्रदान गरिरहेको छ ? सोच्दै जाँदा यहाँ ऊर्जाको स्रोत पक्कै खाना त हो नै, हाम्रो जीवन रहनुमा त्यसबाहेक अहं भूमिका चेतनले खेलिराखेको हुँदोरहेछ जस्तो लाग्यो ।
जीवनको सुरुवात नै चेतन ऊर्जा–जो शान्त प्रकृतिको छ, र गतिशील ऊर्जा-जो चलायमान छ, को संयोगबाट भएको छ । अर्थात् सांख्य दर्शनले प्रतिपादन गरेजस्तो पुरुष र प्रकृतिको संयोगबाट विश्व ब्रहृमाण्डको सृष्टि भएको छ । एक नभए अर्कोको अस्तित्व रहँदैन । अर्को शब्दमा भन्दा शिव (चेतन ऊर्जा) र शक्ति (चलायमान ऊर्जा) को संयोगबाटै जीवनको सुरुवात भएको छ । जस्तै दुईवटा पत्थर घर्षण हुँदा आगो निस्किए झैँ, पुरुष र प्रकृतिको घर्षणबाट जीवको उत्पत्ति हुन्छ । दुवै ऊर्जा आदि कालदेखि रहिआएको छ र विश्व ब्रहृमाण्डको सृष्टिको आधारशिला भएको छ । यसो भन्नु नै सनातान विश्वासनुसार शिवको नरनारेश्वर रूप हो ।
हरेक जीवमा शिव र शक्तिको समिश्रण भएको हुन्छ जुन एक आपसको विपरीत छन् तर एक नभई अर्कोको अस्थित्व रहँदैन । चिनको ऐतिहासिक दर्शनशास्त्रको एउटा विश्वास, ‘यिङ’ र ‘याङ’ को अर्थ पनि यही नै हुन जान्छ । यो पृथ्वी पनि दुई ध्रुुवको कारण अडेको छ । कुनै पनि वस्तु वा जीव पूर्ण हुन दुई ध्रुुवको आवश्यकता पर्दछ । मनुष्यमा अध्ययन गर्ने हो भने, कसमा कति मात्रामा शिवतत्व छ र कसमा कुन मात्रामा शक्तितत्व छ त्यस व्यक्तिको मेटाबोलिक गतिले निक्योल गर्दछ ।
मैँले बाँचुन्जेल दुई ध्रुुवको अथवा चेतनको पनि र शरीरको पनि अनुभव गरिनै रहेको हुन्छु, सुखको पनि अनुभूति हुन्छ दुःखको पनि, पीडाको पनि । प्रश्न चिसोको अनुभव कसलाई हुने, अथवा पानीको स्वाद कसले थाहा पाउने हो ? हो चेतनलाई आगोले जलाउन सक्दैन, तलवार ले काट्दैन, घाउ चोटले दुख्दैन । मृत शरीरलाई आगोले पोल्दैन, तलबारले दुख्दैन तर त्यही चेतन र शरीर जब एक हुन्छ किन आगोले पोल्छ, तलबारले काट्छ, घाउ चोटले दुख्छ ? यो दुखाई शरीरलाई पनि होइन, चेतनलाई पनि होइन, कसलाई हो त ? यो अनुभूति चेतनको हो वा शरीरको हो ? तसर्थ चेतन र जीवको अन्तर सम्बन्ध के हो ? फेरि पनि प्रश्न उठ्छ, ‘म को हुँ ?’
ॐ विशुद्धाय नमः ॐ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच