चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

फाइल तस्बिर

रासस
Read Time = 3 mins

धुलिखेल । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० चण्डेनीमण्डन स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै उहाँले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने  बताउनुभयो ।

“वर्षाैँ देखि रोकिएको काम अब सुरु गर्छौं”, मन्त्री बस्नेतले भन्नुभयो- “पढाइसँगै रोजगारीको व्यवस्था पनि यहीँ गर्छौं ।” एकातिर गाउँमा महिला स्वास्थ्य स्वयंसेविका सधैँभरि स्वयंसेवी भएर बस्नुपरेको र अर्कोतिर लाखौँ रुपैयाँ खर्च गरेर पढेका चिकित्सक र नर्स विदेश पलायन भइरहेको अवस्थामा सरकारले त्यसलाई व्यवस्थित गर्ने उहाँले बताउनुभयो । वर्तमान अवस्थामा मुलुकमा ४८ हजार नर्स र पाँच हजार चिकित्सक आवश्यक रहेको मन्त्री बस्नेतको भनाइ थियो ।

“हालसम्म ३१ हजार नर्स र झण्डै एक हजार मात्र चिकित्सकको दरबन्दी रहेको छ”, उहाँले भन्नुभयो । सो अवसरमा मन्त्री बस्नेतले स्वास्थ्यचौकीका लागि आवश्यक पर्ने उपकरण दुई महिनाभित्रमा उपलब्ध गराउने बताउनुभयो ।

कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले विकट बस्तीका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन चण्डेनीमण्डनको चण्डेनीडाँडा र ज्याम्दीको रामपुरमा स्वास्थ्य केन्द्र स्थापना गरी भवन, स्वास्थ्यकर्मी र औषधीको व्यवस्थापन नगरपालिकाले गर्दै आएको बताउनुभयो । जोगिटारस्थित स्वास्थ्यचौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति गरी आवश्यक दरबन्दी र उपकरण व्यवस्थापन गर्न उहाँले मन्त्री बस्नेतसित आग्रह गर्नुभयो ।

नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले भूकम्पपछि स्वास्थ्यचौकी भवन जीर्ण भएपछि कोरियाको रेडक्रसको सहयोगमा निर्माण गरिएका दुई भवनबाट सेवा दिँदै आएकामा अहिले भारत सरकारको सहयोगमा नयाँ सुविधासम्पन्न भवन निर्माण गर्न सफल भएको बताउनुभयो । सो अवसरमा भवन निर्माणका लागि आवश्यकपर्ने जग्गा दान गर्ने विष्णुमणि नेपाल, पिताम्बर नेपाल र रामप्रसाद नेपाललाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?