नेपालगञ्ज । विश्व प्रतिष्ठित फ्रान्सको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिँड्ने अवसर पाउने पहिलो नेपाली कलाकारको परिचय बनाउनुभएकी अभिनेत्री सुरक्षा पन्त नेपालगञ्ज आउनुहुने भएको छ । यही मंसिर ९ गते आयोजना हुने नवौं धारा नेपालगञ्ज म्याराथनमा ऐक्यबद्धता जनाउन अभिनेत्री पन्त नेपालगञ्ज आउने निश्चित भएको आयोजकले जनाएको छ ।
यसक्रममा म्याराथनको अघिल्लो दिन मंसिर ८ गते हुने नेपालगञ्ज कनक्लेभमा पनि उहाँले सक्रिय सहभागिता जनाउनुहुनेछ । उहाँले ‘के पढ्ने के लेख्ने’ शीर्षकमा प्यानलिस्टका रूपमा सहभागी जनाउनुहुनेछ । अभिनेत्री पन्तलाई बौद्धिक अभिनेत्रीका रूपमा चिनिन्छ । चलचित्र उद्योगमा प्रवेश गर्नुअघि उहाँ सिभिल इन्जिनियरको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँले सिभिल इन्जिनियरिङमा स्नातक तथा एकीकृत पानी स्रोत व्यवस्थापनमा स्नात्तकोत्तर गर्नुभएको छ ।
२०१५ मा आलोक नेम्वाङको चलचित्र ‘अझै पनि’बाट डेब्यु गर्नु भएकी पन्तले धनपति, गोपी, आमालगायत चलचित्रमा अब्बल अभिनय पस्किसक्नुभएको छ । इटालियन फिल्म आठ माउण्टेनबाट उहाँले अन्तर्राष्ट्रिय फिल्ममा डेब्यु गर्नुभएको थियो । उक्त फिल्मले कान्समा जुरी अवार्ड प्राप्त गरेको थियो । यही फिल्मबाट पन्तको चर्चा चुलिएको हो ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगञ्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ ।
क्रियटिभ हृयाण्ड्सको आयोजना एवं क्रियटिभगञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगञ्ज म्याराथनका लागि २०८० भदौ १ गतेदेखि खेलाडी दर्ता खुला गरी जारी राखिएको छ । नेपालगञ्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३औं सभामा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिनुभएको थियो । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार हुनेअपेक्षा छ । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र पाँच किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो शहर नेपालगञ्ज र उदीयमान शहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।
यसवर्ष अघिल्लो वर्षमा चार विधा थप गरी विभिन्न १४ वटा विधामा स्पर्धा समावेश गरिएको छ । स्कुलस्तरीयमा बाहृय जिल्ला र स्कुलस्तरीय दौडमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग-अलग स्पर्धा गराइनेछ । प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष/महिला खुल्ला, पाँच किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ वर्ष उमेर समूह), पाँच किमी कर्पोरेट रन, पाँच किमी ट्राइसाइकल र पाँच किमी वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाहृय जिल्ला गरी अलग-अलग स्पर्धा गराई पुरस्कृत गरिनेछ । बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग-अलग दौड (५ किमी) सञ्चालन गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच