२९ जना अगुवा कृषकहरु मिलेर गाउँलाई नै बनाए आलुमय

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 6 mins

डडेल्धुरा। परम्परागत कृषि प्रणालीमा खेती गरिरहेका डडेल्धुराका किसानहरु नगदे वाली तर्फ आकर्षित भएका छन । मौसम अनुसार धान, गहुँ खेती मात्र गर्ने अमरगढी नगरपालिका वडा नं. ५ सेलागाउँका कृषकहरुले आ–आफ्नो जग्गाजमिनमा नगदे वालीको रुपमा साधारण र मल्चिङ प्लाष्टिक प्रबिधिमा आलु खेती गर्न थालेका हुन ।

अवस्थी परिवार समाजको पहल कदमीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई, आलु सुपर जोन कार्यालय डडेल्धुराले गत आर्थिक वर्षमा जंगली जनाबर बँदेल तथा बाँदरबाट जोगाउन किसानहरुको करिब ११ सय मिटर जग्गामा व्यवस्थित रुपले तारजाली घेरबार लगाई दिएपछि २९ जना अगुवा कृषकहरुले आलु खेती गर्दा गाउँ आलुमय भएको छ ।

कृषिकर्मको बिकल्प नभएको भन्दै परम्परागत खेती भन्दा आधुनिक प्रणाली र प्रबिधिमा खेती गर्दा मनग्गे आम्दानी हुने यस अघिको परिणामले हौसिएका किसानहरुले धान काटेर असोज कार्तिकमा १६ क्विीन्टल बीउ आलु लगाएका छन भने माघमा लाउने आलुका लागि आलु लगाउने क्षेत्रफल पनि बिस्तार गरिरहेका छन ।

आलुका लागि माटो, हावापानी र सिंचाईको सम्भावना पनि अत्यन्त राम्रो भएकोले अमरगढी ५ सेलागाउँमा कार्यालयले लगानी गरेको र किसानहरुले पनि अर्गानिक आलु उत्पादनबाट सोचे अनुरुप प्रतिफल प्राप्त गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई, आलु सुपर जोन कार्यालय डडेल्धुराका कार्यालय प्रमुख ध्रुबराज जोशीले बताउनुभयो ।

कार्यालयले स्थानीय श्री असिग्राम कृषि तथा पशुपालन समूहमार्फत चालु आर्थिक वर्षमा किसानहरुको माग अनुसार बीउ, मल्चिङ प्लाष्टिक र हाते ट्रेक्टरमा पनि ५० प्रतिशत अनुदान दिने बताउँदै किसानको उत्पादनका आधारमा बजारीकरण र भण्डारण लगायतका आवश्यकतामा पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

कृषि कर्म बिस्थापित तथा युवाहरु पलायन भईरहेको बर्तमान समयमा लगाएको वाली सुरक्षित हुने भए पछि युवा लगायतका किसानहरु उत्साहित भएर आलु खेतीमा लागेका छन । दिनप्रतिदिन बाँझो रहदै आएको जग्गा पुनः उत्पादिनशिल हुँदै गएको अवस्थी परिवार समाजका अध्यक्ष तथा समाजसेवी यज्ञराज अवस्थीले बताउनुभयो ।

गाउँमा सबै किसानहरुले आलु लगाउन थाले पछि अपूर्व परिबर्तन आएको बताउँदै गाउँमा एकअर्कामा सदभाव बढेको छ, सहयोग गर्ने भावना विकसित भएको छ, सहकार्य गरेर खेती गर्ने वानीको विकास भएको छ, आलु खेतीकै कारण समय समयमा हुने बैठकले गाउँ समाजमा भईरहने साना मसिना विवाद, मतभेद र समस्याहरु पनि छलफल गरि समाधान उन्मुख भएको उहाँको भनाई छ ।

आलु खेती सँगै किसानहरुले परम्परागत खेती बिस्थापित गर्दै बँदेल, बाँदर लगायत जंगली जनाबरको कारण वर्षौं देखि बाँझो रहदै आएको करिब पाँच सय रोपनी जग्गाको खाली जमिनमा ताजा तरकारी रायो, पालुङ्गो, लसुन प्याज सलगम जस्ता नगदे वाली लगाएर दैनिक आम्दानीको माध्यम पनि बनाउन सक्रिय भएका छन ।

किसानहरुले गरेको लगानी र परिश्रमको अपेक्षित लाभ लिन स्थानीय सरकार अमरगढी नगरपालिका र सम्बन्धित सरोकारवालाको ध्यान गएमा तराई पलायन भईरहेको बसाईसराई रोकिनुका साथै पूर्बाधारको सुनिश्चितता भए दिगो रोजगारीको संभावना बढने युवाहरुले आशा गरेको अमरगढी नगरपालिका वडा नं. ५ का निबर्तमान वडाअध्यक्ष खेमराज पाठकको भनाई छ ।

सदरमुकामको नजिकै विकास र बिस्तार भएको तरकारी पकेट क्षेत्रमा ताजा तरकारी उत्पादनका लागि खेतबारीकै मुहान तर्फ सिंचाई पोखरी भए पनि मर्मतसंभारको अभावमा संचालनमा नआउँदा किसानहरुलाई आलु सिंञ्चित गर्न भने समस्या भएको छ ।

अवस्थी परिवारका २३ जना, पाठक परिवारका ५ जना र ओझा एक जना गरि २९ जना कृषकले आलु खेती सँगै उत्पादन सुरक्षाका लागि कृषक समूहको निर्णय र निगरानीमा घेरबार भित्र दैनिक २ जनाको नियमित पालो पहरा पनि गर्दै आएको श्री असिग्राम कृषि तथा पशुपालन समूहका अध्यक्ष चन्द्रा देवी अवस्थीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?