भूकम्प प्रभावित दुई जिल्लाका अधिकांश विद्यार्थीलाई खुला चौरमै राखेर पढाउने तयारी

नन्दराम जैशी
Read Time = 7 mins

सुर्खेत । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा भूकम्पले क्षति पु-याएका विद्यालयका विद्यार्थीलाई खुला चौरमा राखेर पढाउने तयारी गरिएको छ ।

तिहार तथा छठ पर्वका लागि २५ कात्तिकदेखि बन्द रहेका देशभरका सामुदायिक विद्यालयसहित भूकम्प प्रभावित क्षेत्रका विद्यालय पनि मंगलबार देखि पठनपाठन सञ्चालन हुँदैछ ।

१७ कात्तिकको राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट यी दुई जिल्लाका अधिकांश विद्यालयमा पूर्णदेखि आंशिक क्षति भएपछि पठनपाठमा समस्या देखिएको हो ।

शनिबार सम्पन्न जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटको बैठकले भूकम्पबाट आंशिक क्षति भएका विद्यालयमा सम्बन्धित स्थानीय तह र विद्यालय व्यवस्थापन समितिसँगको समन्वयमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ ।

भूकम्पले बढी क्षति पु¥याएको जाजरकोटको भेरी नगरपालिका र नलगाड नगरपालिकाले जोखिममा रहेका विद्यालयमा सुरक्षित स्थान छनोट गरी कक्षा संचालन गर्ने निर्णय गरेका हुन् । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयहरूलाई पालिकासँगको समन्वयमा पठनपाठन चलाउन भनिएको बताउनुभयो । उहाँका अनुसार, भेरी नगरपालिकाका ५६ वटा विद्यालयमा १२ हजार सात सय विद्यार्थी अध्ययनरत छन् ।

यस्तै, नलगाड नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बलवीर विकले सोमबारदेखि नै सबै विद्यालयमा पठन पाठन सुरु भएको बताउनुभयो । उहाँका अनुसार, अति जोखिम भएका विद्यालयका प्रशासन शाखा खोलेर सिकाइ केन्द्र स्थापना गर्ने काम सम्पन्न भएपश्चात् मात्र पठनपाठन सुरु गर्ने योजना छ ।

एक साताभित्र सम्पूर्ण विद्यालयमा टेन्ट र त्रिपालबाट भएपनि पठनपाठन सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । नलगाड नगरपालिकामा ७१ विद्यालय रहेकोमा ५४ वटामा क्षति पुगेको छ । यता रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाले अस्थायी टहराबाट पठनपाठन सुरु गर्ने जनाएको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख इन्द्रबहादुर विष्टका अनुसार विभिन्न दातृ निकायको सहयोगमा निर्माण गरिएका अस्थायी टहराबाट नगर क्षेत्रमा रहेका सम्पूर्ण विद्यालयमा पठपाठन सुरु गर्न लागिएको हो । आठबिस नगरपालिकामा ६४ वटा विद्यालय रहेकोमा ५२ वटा विद्यालयमा पूर्णदेखि आंशिक क्षति पुग्दा दुई सय ५२ कक्षा कोठा प्रभावित भएका छन् ।

यस्तै, भूकम्पका कारण जाजरकोटमा ७५ हजार आठ सय ५३ विद्यार्थीमध्ये २२ हजार सात सय ५९ र रुकुम पश्चिममा ५७ हजार आठ सय ३४ मध्ये १७ हजार तीन सय ५१ जना गरी झण्डै ४० हजार विद्यार्थी प्रभावित भएको जनाइएको छ । जाजरकोट जिल्लामा चार सय २३ र रुकुमपश्चिममा तीन सय १३ वटा विद्यालय छन् ।

यीमध्ये दुई सय आठ विद्यालयमा भूकम्पका कारण पूर्ण क्षति पुग्दा चार सय १८ विद्यालय भवनमा आंशिक क्षति पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । भूकम्पका कारण ६७ विद्यार्थीको मृत्यु भएको छ । भने ७१ जना विद्यार्थी घाइते भएका थिए ।
जसमा जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको थियो भने ३५ जना विद्यार्थी घाइते हुँदा रुकुमपश्चिममा ३५ विद्यार्थीको मृत्यु र ३६ विद्यार्थी घाइते भएका थिए । भूकम्पका कारण एक जना शिक्षकको मृत्यु, दुई जना घाइते र एक जना कार्यालय सहयोगीको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

भूकम्पपीडित महिलालाई सहयोग गर्न साँगीतिक साँझ

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित महिलाहरुको सहयोगार्थ साँगीतिक साँझ हुने भएको छ । ज्योति फाउण्डेशनको आयोजनामा यही कार्तिक १५ गते साँगीतिक साँझको आयोजना गरिएको हो ।

भुकम्प प्रभावित क्षेत्रका महिलाहरुको सहयोगार्थ सुर्खेतमा साँगीतिक साँझको आयोजना गर्न लागिएको फाउण्डेशनकी अध्यक्ष ज्योति कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार कलाकार तिलक सिंह पेला, राज सिग्देल र शिशिर योगीले साँगीतिक साँझमा विभिन्न प्रस्तुतिहरु राख्नुहुनेछ ।

‘उज्यालो होस् कर्णाली जन्माउने कोख, कर्णाली हुर्काउने काख र कर्णाली बोक्ने काँध, अनी अन्तत उज्यालो होस् पुरै कर्णाली’ भन्ने मुल उद्देश्यका साथ साँगीतिक साँझको आयोजना गर्न लागिएको अध्यक्ष कटुवाल बताउनुहुन्छ ।

उक्त साँगीतिक साँझमा भूकम्प प्रभावित महिलाहरुको सहयोगका लागि एकहजार देखि दुईहजारसम्म टिकट दर तोकिएको छ । कार्यक्रम कार्तिक १५ गते शुक्रबार बेलुका ४ बजे सुर्खेत सभाहलमा कार्यक्रमको हुने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?