काम नगर्ने निर्माण कम्पनी विरुद्ध धनगढी उपमहानगरको जरिवाना

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 7 mins

कैलाली । धनगढी उपमहानगरपालिकाले ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीलाई जरिबाना तोक्ने निर्णय गरेको छ । धनगढी उपमहानगरपालिकाको २८ औँ कार्यपालिका बैठकले लामो समयदेखि योजना ओगटेर राख्ने निर्माण कम्पनीलाई दैनिक जरिबाना लगाउने निर्णय गरेको हो ।

उपमहानगरपालिका अन्तर्गत सञ्चालित विभिन्न दश वटा योजनामा ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीलाई जरिबाना लगाउने र कार्यप्रगतिको समयसीमा तोक्ने निर्णय गरिएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर १६ मा रहेको सुखानी गुरही खोलामा मोटरेवल पुल निर्माण गर्न ३ करोड २ लाख ५४ हजार ५१७ रुपैयाँमा २०७८ कात्तिक १६ मा ठेक्का सम्झौता भएको थियो ।

२०८० असोज मसान्तमा काम सक्ने गरी ठेक्का पाएको टेडी मित्र जेभीले हालसम्म ३० प्रतिशत मात्रै काम गरेको छ । यस्तै, वडा नम्बर ६ मा रहेको सुकुटी नालामा पक्की पुल निर्माण गर्न २ करोड २८ लाख ७२ हजार २७३ रुपैयाँमा २०७८ कात्तिक १४ मा टेडी मित्र तेज जेभीसँग ठेक्का सम्झौता भएको थियो । २०८० असोज मसान्तमा काम सक्ने सम्झौता भए पनि हालसम्म केबल ३० प्रतिशत मात्रै काम भएको छ ।

यी दुबै योजनामा उपमहानगरपालिकाले माघ मसान्तसम्म ¥याफ्ट फाउन्डेसन, चैत मसान्तसम्म अबन्टमेन्ट र २०८१ असार १५ मा डेक स्ल्याब सक्नुपर्ने समय निर्धारण गरेको छ । तोकिएको समयभित्र तोकिएको काम नगरे निर्माण कम्पनीले क्षतिपूर्ति तिर्नुपर्ने छ । धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा चार वटा विद्यालय भवन निर्माण गर्न २०७७ पुस १४ मा ठेक्का सम्झौता भएको थियो । चारै वटा विद्याल भवन निर्माण गर्ने ठेक्का बडा तेडी डुणे कन्स्ट्रक्सनले हात पारेको थियो ।

कम्पनीले वडा नम्बर १३ मा रहेको जनता राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर १२ मा रहेको दुर्गा आधारभूत विद्यालय र शारदा माध्यमिक विद्यालय वडा नम्बर १४ मा रहेको पञ्चोदय माध्यमिक विद्यालयको भवन निर्माण गर्ने ठेक्का पाएको थियो । कम्पनीले हरेक विद्यालय भवन निर्माण गर्न ८६ लाख २० हजार ४८२ रुपैयाँ ८५ पैसामा ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार सबै विद्यालयको काम २०७९ पुस मसान्तमा पूरा हुनुपर्ने हो । तर, कम्पनीले जनता राष्ट्रिय माध्यमिक विद्यालयमा ४५ प्रतिशत, दुर्गा आधारभूत विद्यालयमा ७५ प्रतिशत, पञ्चोदय माध्यमिक विद्यालयमा ६५ प्रतिशत र शारदा माध्यमिक विद्यालयमा भने ५ प्रतिशत मात्रै काम गरेको छ ।

उपमहानगरपालिकाले पटकपटक म्याद थप गर्दा पनि काम सम्पन्न नगरेकाले अन्तिम पटकका लागि २ सय दिन थप गरेको छ । यो अवधिमा निर्माण कम्पनीलाई प्रति दिन सम्झौता रकमको शून्य दशमलव शून्य ५ प्रतिशत जरिबाना लगाउने निर्णय भएको छ । पाँच विद्यालयमध्ये धनगढी – ९ स्थित भवानी माध्यमिक विद्यालय भवन निर्माण गर्न २०७८ कात्तिक ७ मा प्रतिष्ठा–दुनिला–किरण–जेभीले ठेक्का पाएको थियो ।
कम्पनीले २०८० असार १५ मा सम्पूर्ण काम सक्ने हिसाबले १ करोड ५७ लाख ४ हजार ५ रुपैयाँ ९ पैसामा ठेक्का पाएको हो । तर, हालसम्म ६५ प्रतिशत मात्रै प्रगति भएको छ । उपमहानगरपालिकाले निर्माण कम्पनीलाई अन्तिम पटक २ सय दिनको समय थप गर्दै सम्झौता रकमको शून्य दशमलव शून्य ५ प्रतिशत जरिबाना असुल्ने निर्णय गरेको छ । कम्पनीहरूले जरिबानासहित थप भएको दुई सय दिन भित्र काम सम्पन्न नगरे ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । उपमहानगरले संकटग्रस्त योजनाको सूचीमा तीन वटा सडक योजना पनि समावेश गरेको छ । वडा नम्बर ३ को चटकपुर–राजघाट सडक, वडा नम्बर ६ को जाई–जाली सडक र वडा नम्बर–१२ को चक्र खड्काको घरदेखि डम्बर साउँदको घरसम्मको सडक निर्माण गर्न २०७७ असार १४ मा ठेक्का सम्झौता भएको हो ।

एडभेन्चर मल्ल जेभीले ३ करोड ४७ लाख ८० हजार १९२ रुपैयाँ ३६ पैसामा ठेक्का पाएको चटकपुर–राजघाट सडकको काम हालसम्म ६० प्रतिशत भएको छ भने तेडी–मणिलेख जेभीले २ करोड ८७ लाख ५५ हजार ९७७ रुपैयाँ ६ पैसामा ठेक्का पाएको जाई–जाली सडकको प्रगति ७५ प्रतिशत छ । यसैगरी, तेडी निर्माण सेवाले नै २ करोड २४ लाख ६४ हजार १५३ रुपैयाँ ५२ पैसामा वडा नम्बर १२ को सडकको ठेक्का पाएकोमा हालसम्म ८० प्रतिशत प्रगति भएको छ । यी सडक निर्माण सम्पन्न गर्न थपिएको दुई सय दिनमा हरेक निर्माण कम्पनीले ठेक्का रकमको शून्य दशमलव शून्य ५ प्रतिशत जरिबाना उपमहानगरपालिकालाइ बुझाउनुपर्ने छ ।

जरिबानासहित थपिएको दुई सय दिनमा पनि काम सम्पन्न नगरिए ठेक्का सम्झौता तोड्न उपमहानगरले प्रक्रिया अगाडि बढाउनेछ । यश हिसाबले सबैभन्दा बढी ठेक्का रकम रहेको चटकपुर–राजघाट सडक निर्माणको ठेक्का पाएको एडभेन्चर जेभीले दैनिक शून्य दशमलव शून्य ५ प्रतिशतका दरले औसत १४ हजार जरिबाना तिर्नुपर्ने छ । अन्य कम्पनीहरूले पनि यही दरमा सम्झौता रकमको शून्य दशमलव शून्य ५ प्रतिशतका हिसाबले जरिबाना असुल गरिने उपमहानगरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?