दाङका करिव दुई सय खानेपानीका योजनाहरु अलपत्र

Read Time = 4 mins

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १९ को पाँचपोखरीको खानेपानी योजना चार बर्षदेखि अलपत्र छ । स्थानिय दम्ती खोलाबाट तीन चरणमा लिफटिङ गरेर पानी पाँच पोखरीस्थीत ट्याङकीसम्म ल्याउनुपर्ने भएपनि बजेट अभावको कारण देखाउदै खानेपानी योजना अलपत्र परेको हो ।

उता बंगलाचुली गाउँपालिका वडा नं. ६ का विभिन्न बस्तीहरुमा खानेपानी सुविधा पु¥याउने उद्देश्यले २०७५ सालमा बंगलाचुली खानेपानी योजनाको निर्माणको काम पनि अघि बढ्न सकेको छैन् । दुई बर्षभित्र निर्माण सक्नुपर्ने काम प्रयाप्त बजेट नहुँदा चार बर्षसम्म पनि निर्माण हुन नसकेको स्थानीयहरु बताउँछन् ।

यी दुई प्रतिनिधिमुलक खानेपानीका योजनाहरु हुन । प्रयाप्त बजेट नहुँदा जिल्लाका दुई सय बढी खानेपानी योजनाहरु समयमा निर्माण हुन सकेका छैनन् । बजेट अभावकै कारण करिव ६÷७ बर्ष अघि सुरु भएका योजनाहरु लामो समयसम्म निर्माण सम्पन्न नहुँदा अलपत्र पर्ने अवस्थामा रहेका छन् । कतिपय योजनाहरु निर्माण पुरा नहुँदै खानेपानीका लागि निर्माण गरिएको संरचनाहरु भत्किन थालेका छन् ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका अनुसार जिल्लामा करिव ३ सय २५ बढी खानेपानी योजनाहरु रहेका छन् । तीमध्ये करिव दुई सय खानेपानीका योजनाहरु प्रयाप्त बजेट अभावका कारण समयमै निर्माण हुन नसकेका योजनाहरु रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर बसन्तकुमार दुलालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार तीन सय बढी योजनामध्य ५३ वटाको ८० प्रतिशत, ३७ वटाको ५० देखि ८० प्रतिशत र ७६ वटा योजनाहरुको करिव ५० प्रतिशत काम भएका छन् । तर बजेट अभाव,डुब्लिकेशन र कतिपय योजनाहरु पार्ने तर ठाउँ नै पत्ता नलाग्दा १ सय १९ योजनाहरुको काम नै सुरु नभएको सूचनाअधिकारी दुलालले बताउनुभयो । उहाँले भन्नुभयो,‘खानेपानीका लागि योजनाहरु छन््, तर लागत स्टिमेट अनुसार बजेट न्यून बिनियोजन हुन्छ, जसका कारण योजनाहरुको काम नै सुरु हुन सकेका छैनन् । त्यसमध्ये कतिपय योजना तँ कागजमा छन्,कुन ठाउँमा काम गर्ने पत्तै लाग्दैनन् ।’

जिल्लामा संघीय सरकार अन्तर्गतका १ सय ८ र प्र्रदेश सरकारअन्तर्गत २ सय १२ वटा खानेपानी योजनाहरु रहेका छन् । प्रदेशअन्तर्गत सघन खानेपानी विकास कार्यक्रमअन्तर्गत २ सय ३१ वटा,खानेपानी आयोजना मर्मत सुधार तथा विस्तार कार्यक्रमअन्तर्गत ५ वटा, सरसफाईतथा ढल व्यवस्थापन कार्यक्रम ४ वटा, खानेपानी आयोजना गुणस्तर अभिवृद्धि तथा श्रोत संरक्षण कार्यक्रममा ३ वटा, जलवायु अनुकूलित बृह्त खानेपानी आयोजनामा २४ वटा, खानेपानी तथा सरसफाई सहलगानी कार्यक्रमअन्तर्गत १ वटा र तराई मधेश खानेपानी सुधार कार्यक्रमअन्तर्गत ५२ वटा खानेपानी योजनाहरु रहेका छन् । तीन सय बढी योजनाहरुमध्ये अधिकांस योजनाहरु करोडभन्दामाथिका रहेपनि बजेट बिनियोजन गर्दा पाँच हजार, दश हजार बजेट  छुट्याएको  छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?