नेपालगञ्ज । भारतबाट मुर्रा जातका राँगा नेपाल आइपुगेका छन् । बाँके जिल्लाको जमुनाह नाका हुँदै १५ वटा राँगा बुधबार नेपाल भित्रिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भारत सरकारले नेपाललाई १५ वटा मुर्रा राँगा सहयोगमा उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसो त भारतबाट मुर्रा राँगा ल्याउने प्रयास २०७३ सालदेखि नै हुँदै आएको थियो । तर, भारतले प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा मुर्रा राँगा दिने प्रतिबद्धता गरेको थियो । पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार नेपालगञ्ज आइपुगेका राँगा स्थानीय सीमा नाकामा रहेको पशु क्वारेन्टाइन कार्यालयमा स्वास्थ्य परीक्षणपछि भित्र्याइएको हो ।
ढकालका अनुसार भारतबाट प्राप्त भएका मुर्रा राँगा नेपालको भैंसीको नश्ल सुधार र विकास कार्यमा प्रयोग गरिनेछ । उक्त राँगाबाट तीन वर्षपछि वार्षिक डेढ लाख मात्रा (डोज) वीर्य संकलन गरी कम्तीमा एक लाख भैंसीमा कृत्रिम गर्भाधान गराउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तयारी छ । नेपाल भित्र्याइएका राँगामध्ये पाँचवटा राष्ट्रिय पशु प्रजनन् कार्यालय लाहान, सातवटा पोखरा र तीनवटा राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगञ्जमा राखिने विभागले जनाएको छ ।
विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार मुर्रा राँगाको जमेको वीर्यको माग पाँच वर्षमा दुर्ई गुणा र १० वर्षमा करिब पाँच गुणा बढ्ने अनुमान गरिएको छ । मुर्रा राँगाको वीर्य उत्पादन वृद्धि गरी कृत्रिम गर्भाधानको क्षेत्र विस्तार गरी मुलुकको विभिन्न भागमा भैंसीको नश्ल सुधारमार्फत् दूध र मासुको उत्पादन र उत्पादकत्व वृद्धि हुने सरकारले अपेक्षा गरेको छ । नेपालमा स्थानीय भैंसीको औसत उत्पादकत्व करिब नौ सय लिटर दूध प्रतिबेत रहेको छ । त्यस्तै मुर्रा क्रस ब्रिड भैंसीको औसत उत्पादकत्व करिब एक सय पाँच सय लिटर दूध प्रतिबेत र शुद्ध नश्लका मुर्रा भैंसीको औसत उत्पादकत्व करिब दुई हजार तीन सय लिटर दूध प्रतिबेत छ । भारतमा विकास गरिएको उच्च क्षमतामा मुर्राको औसत उत्पादन तीन हजार लिटरभन्दा बढी छ ।
राष्ट्रिय कृषि गणनाअनुसार पछिल्लो समयमा नेपालमा २९ लाखको संख्यामा भैंसी रहेकोमा उन्नत तथा वर्णशंकर भैंसी २६ प्रतिशतको हाराहारीमा रहेका छन् । हाल नेपालमा १४ लाख ६४ हजार मेट्रिक टन दूध भैंसीबाट र एक लाख ९४ हजार मेट्रिक टन मासु राँगा, पाडा तथा भैंसीबाट उत्पादन भइरहेको विभागले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच