नेता भण्डारी दुर्घटनापश्चात् पहिलो पटक गृह जिल्लामा

हिमालय टाइम्स
Read Time = 3 mins

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्रकान्त भण्डारीले देशको विकासको प्रमुख बाधक भ्रष्टाचार भएको बताउनुभएको छ । भ्रष्टाचार देशका लागि ठूलो रोग भएकोे भन्दै नेता भण्डारीले जबसम्म भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिँदैन तबसम्म जनताले आशा गरेअनुसार विकासको प्रतिफल प्राप्त गर्न नसकिने बताउनुभयो ।

गत फागुन ३ गते काठमाडौँस्थित आफ्नै घरमा ग्यास दुर्घटनामा परी सख्त घाइते हुनुभएका गुल्मी क्षेत्र नं १ बाट निर्वाचित सांसद भण्डारी दुर्घटनामा परेको नौ महिनापछि पहिलो पटक गृह जिल्ला गुल्मी आइपुग्नुभएको हो ।

डा भण्डारीले रेसुङ्गा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मुलुक नबनेसम्म भावी सन्ततिका भविष्य पनि नबन्ने भन्दै आफूहरू मुलुक बनाउने अभियानमा लागेको बताउनुभयो । नेपाल संसारको सबैभन्दा राम्रो देश भएको भन्दै उहाँले मुलुक राम्रो बने देश अघि बढ्न सक्ने तर्क गर्नुभयो । गुल्मीलाई नेपालको नमूना जिल्ला बनाउन आफूले कोरेको विकासको गोरेटालाई पूर्णता दिने काममा सधैँ लागिपर्ने उहाँले विश्वास दिलाउनुभयो ।

शनिबार गुल्मीको सदरमुकाम तम्घासमा सुरु हुन गइरहेको कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न डा भण्डारी गुल्मी आउनुभएको हो । दुर्घटनापश्चात् पहिलो पटक पुनर्जीवन पाएर जिल्लामा आउनुभएका उहाँको आगमनले आम जिल्लावासीमा थप खुसी र उत्साह थपिएको कांग्रेसको जिल्ला पार्टी सभापति खिलध्वज पन्थीले बताउनुभयो ।

दोस्रो जिल्ला सम्मेलनमा कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय नेताहरु शनिबार गुल्मी आउने कार्यक्रम रहेको पार्टी सभापति पन्थीले जानकारी दिनुभयो ।

-रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?