कोरियाले आइटीदेखि क्याफे क्षेत्रमा विदेशी कामदार लिँदै, दक्ष श्रमिकलाई ई-९ भिसा

हिमालय टाइम्स
Read Time = 7 mins

रमेश भारती/हिटा
काठमाडौं । दक्षिण कोरियाले विदेशी कामदार भित्र्याउने दायरा फराकिलो बनाउँदै लैजाने भएको छ । सन् २०२४ देखि कोरिया सरकारले सूचना, प्रविधि, होटल र क्याफेका लागि पनि विदेशी कामदार लिने भएको छ । कोरिया सरकारले हालै गैरव्यावसायिक वैदेशिक कामदार (ई-९) भिसामा परिमार्जन गरी कामदार अभाव भएका अन्य क्षेत्र तथा कम्पनीहरूलाई विदेशी कामदार भित्र्याउन दिने निर्णय गरेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत सूचना तथा सञ्चार (आइटी), रेष्टुरेण्ट, क्याफे, यातायात, डिपार्टमेन्टल स्टोर र होटलमा समेत विदेशी कामदार लिने कोरिया सरकारले निर्णय गरेको हो । यी क्षेत्रमा वार्षिक ५० हजार रोजगार सिर्जना गरेर विदेशी कामदार भित्र्याउने तयारीसमेत भएको कोरियन सञ्चारमाध्यमले जनाएका छन् ।

सूचना तथा सञ्चार (आइटी), रेष्टुरेण्ट, क्याफे, यातायात, डिपार्टमेन्टल स्टोर र होटलमा सन् २०२४ देखि विदेशी कामदार लिनका लागि तयार हुन कोरियाको श्रम तथा कानुन मन्त्रालयले रोजगारदाताहरूलाई निर्देशनसमेत दिएको छ । कोरिया सरकारले जनशक्ति अभावलाई सम्बोधन गर्न रोजगार अनुमति उद्योग विस्तार गर्नेका लागि सबै क्षेत्रमा विदेशी कामदार लिने निर्णय गरेको नेभर समाचार संस्थाले जनाएको छ ।

ई भिसाको सुविधा
कोरियाले उद्योग तथा कृषि क्षेत्रमा मात्र नेपाली कामदारलाई अनुमति दिँदै आएको थियो । २०२४ देखि सूचना तथा सञ्चार (आइटी), रेष्टुरेण्ट, क्याफे, यातायात, डिपार्टमेन्टल स्टोर र होटलका लागि पनि नेपाली कामदार जान पाउने भएका छन् । ई-९ भिसा दक्ष विदेशी कामदारले कोरियामा काम गरेको आधारमा रोजगारदाता कम्पनी दिने श्रमिक भिसा हो । कोरियामा सात वर्षमाथि काम गरेका विदेशी कामदारले ई-९ भिसा पाउने त्यहाँको श्रम कानुनमा व्यवस्था छ । हाल ई-९ भिसा प्राप्त गरेका विदेशी श्रमिकले उद्योग, निर्माण, मस्त्यपालन, कृषि र पशुपालनमा मात्र रोजगारीको सुविधा पाउँदै आएको थिए ।

आगामी वर्षदेखि ई-९ भिसा पाएका विदेशी कामदारले सेवा उद्योग, फोहोर प्रशोधन, रिसाइकल सामग्री संकलन तथा बिक्री तथा फ्रिजिङ भण्डारण र प्रकाशन आदि क्षेत्रमा रोजगारी गर्न पाउने कोरियाका सञ्चारमाध्यमले गतसाता नै प्रकाशित गरेको समाचारमा उल्लेख गरिएको छ ।

कोरियाले जारी गर्दै आएको ई-९ भिसाअन्तर्गत रेष्टुरेण्ट, क्याफे, सुविधा स्टोर र होटलजस्ता सेवा उद्योगमा नेपाली कामदारले पनि अवसर पाउने भएका छन् । हालसम्म कोरियामा कार्यरत नेपाली कामदारले ई-७ भिसा मात्र पाउँदै आएका थिए । कोरियामा कार्यरत सात हजार जति नेपाली कामदारलाई कोरियन कम्पनीहरूले ई–७ भिसा दिएको कोरियास्थित नेपाली दूतावासले जनाएको छ ।

इपिएसअन्तर्गत रोजगारीका लागि कोरिया पुगेका नेपाली कामदारले ई-९ भिसा भएका नेपालीले ई-७ भिसा परिवर्तन गरेर अन्य क्षेत्रमा काम गर्दै आएका छन् । हाल कोरियामा दक्ष नेपालीले ई-७ भिसा प्राप्त गरेर यस्ता क्षेत्रमा काम गर्दै आएको दूतवासले जनाएको छ । कोरिया सरकारले यही वर्षदेखि सेवा उद्योगमा लोडिङ र अनलोडिङका लागि मात्रै केही ई-९ भिसा भएका विदेशी कामदारलाई काम गर्ने अनुमति दिँदै आएको थियो ।

कोरिया रोजगारीमा जाने कामदारले कोरियन भाषा पास गरेपछि कोरियाको मूलका विदेशी नागरिकले एन-२ भिसा जारी गरेर यस्ता क्षेत्रमा काम गर्ने अनुमति पाउँदै आएका छन् । कोरियामा अध्ययन गर्ने विदेशीले डी-२ भिसामा हप्ताको ३० घण्टा मात्र आंशिक काम गर्न अनुमति लिएर सेवा क्षेत्रमा काम गर्दै आएका छन् ।

कोरियाले नेपालसहित दक्षिणपूर्वी एसियाका विदेशी कामदारलाई ई-९ भिसा जारी गरेर सीमित क्षेत्रमा मात्र काम गर्ने अनुमति दिँदै आएको थियो । २०२४ देखि भने, यी भिसाको सुविधा थपेर सबै क्षेत्रमा विदेशी कामदारलाई अवसर दिने भएको हो । कोरियाले यही वर्षदेखि नेपालबाट पानीजहाज र निर्माण क्षेत्रमा दुई हजार पाँच सय कामदार लिन भाषा परीक्षाका लागि खुलाएको छ । कोरियाले आगामी वर्षदेखि सूचना तथा सञ्चार (आइटी), रेष्टुरेण्ट, क्याफे, यातायात, डिपार्टमेन्टल स्टोर र होटल क्षेत्रमा पनि नेपाली कामदारका लागि आवेदन खुलाउने वैदेशिक रोजगार विभागले जनाएको छ । हाल कोरियामा ४५ हजारभन्दा बढी नेपाली कामदार रोजगारीमा कार्यरत रहेको र १० हजारभन्दा बढी जाने तयारीमा रहेको विभागको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?