संसद अधिवेशन नचलेको बेलामा के गर्दैछ संसद सचिवालय ?

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । संघीय संसद सचिवालयले संसद अधिवेशन अन्त्य भएको अवस्थामा पनि संसदीय समितिहरुले भने निरन्तर काम गरिरहेका जनाएको छ ।

संघीय संसदको दुवै सदनको अधिवेशन गत कार्तिक १६ गते अन्त्य भयो । सो दिन प्रतिनिधि सभाको दोस्रो अधिवेशन र राष्ट्रिय सभाको चौथो अधिवेशन अन्त्य भएको हो । संसद अधिवेशन अन्त्य भएसँगै नयाँ बानेश्वरस्थित संघीय संसद भवन सुनसान बनेको छ । यता, सांसदहरु र सांसदलाई भेट्न आउने आगन्तुकहरुले सधैँ भीड हुने सिंहदरबार क्षेत्रमा पनि मानिसहरुको चाप निकै कम भएको छ । संसदको अधिवेशन अन्त्य भएको यो बेलामा पनि संघीय संसद सचिवालयले भने प्रशासनिक कामको अलावा पनि संसदीय गतिविधिहरु जारी रहने जनाएको छ ।

शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य भएपनि संसदीय समितिहरुले भने काम गरिरहेका बताउनु भयो । उहाँले यस अवधिमा समितिहरुले समितिमा विचाराधिन अवस्थामा रहेका विधेयकहरुमाथि विस्तृत रुपले छलफल गर्ने बताउनु भयो ।

त्यसैगरी समितिहरुले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रालयले गरिरहेका कामहरुको निगरानी गर्ने, कार्य प्रगति बुझ्ने र आवश्यकता अनुसार निर्देशन दिने कामहरु समेत गर्ने उहाँले जानकारी दिनुभयो । प्रवक्ता गिरीका अनुसार सचिवालयले यसै अवधिमा सफ्टवेयरहरु अपडेट गर्ने, भिडियो तथा अडियो रेकर्डहरुको व्यवस्थापन गर्ने लगायतका कामहरु गर्ने गर्छ । त्यसैगरी वेवसाइटहरुलाई परिस्कृत गर्ने काम पनि यसै समयमा हुन्छ । उहाँले यो बेलामा नीतिगत प्रकारका र क्षमता अभिवृद्धिका कामहरु पनि संघीय संसद सचिवालयले सम्पन्न गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अधिवेशन अन्त्य भएपछि पनि समितिहरु सञ्चालनमै रहेका हुन्छन् । यि अवधिमा समितिमा विचाराधिन विधेयकहरुमाथि समितिमा विस्तृत रुपमा छलफल हुन्छन् । संसदको अर्को काम सरकारको निगरानी गर्नु पनि हो । यो बीचमा समितिहरुले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सरकार अथवा सम्बन्धित मन्त्रालयसँग जानकारी लिने, कार्यप्रगतिको बारेमा बुझ्ने, आवश्यकता अनुसार निर्देश गर्ने लगायतका विभिन्न तरिकाबाट निगरानीको कार्यसम्पादन पनि भइरहेको हुन्छ । त्यसैगरेर सचिवालयले पनि नियमित प्रकृतिका कामहरु, जस्तोः वार्षिक कार्यक्रमहरु यही अवधिमा प्राथमिकता दिएर कार्य सम्पादन गर्छ सचिवालयले । जस्तोः सफ्टवेयरहरु अपडेट, भिडियो व्यवस्थापन, अडियो रेकर्डहरुलाई व्यवस्थापन गर्ने । वेव पेजहरुलाई अझ स्तरिकृत गरेर नयाँ बनाउने काम हुनसक्छ । यस्ता हाम्रा वार्षिक रुपमा स्वीकृत गरिएका विभिन्न कामहरु हुन्छन्, विभिन्न प्रकृतिका कामहरु केही नीतिगत प्रकारका, केही कार्यक्रम आयोजना नै गरेर गर्नुपर्ने हुन्छन् । कतिपय क्षमता अभिवृद्धिका कार्यक्रमहरु हुन्छन् । ति कार्यक्रमहरुलाई सचिवालयले यही समयमा अझ बढी प्राथमिकताका साथ कार्यान्वयन गर्ने गर्दछ ।’

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले समितिहरु सुचारु अवस्थामा रहेको बताउनु भयो । उहाँले कतिपय समितिहरुले अधिवेशन अन्त्य भएको समयमा अनुगमनका कामहरु गर्ने गरेको बताउनु भयो । उहाँले समसामयिक विषयहरुमा सरकारलाई ध्यानाकर्षण गराउने र निर्देशन गराउने कामपनि समितिहरुले गर्नसक्ने र सोही अनुरुप गरिरहेका पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संसद अधिवेशन नभएपनि समितिहरु निरन्तर सुचारु हुनसक्छ । समितिमा विचाराधिन भएका विधेयकहरुको विषयमा छलफलहरु गर्नसक्छ । फिल्डमा गएर अनुगमन गर्नसक्छ । अध्ययन, अनुसन्धानका कामहरु गर्नसक्छ । संसद नहुँदा संसदकै रुपमा समितिले सरकारलाई ध्यानाकर्षण गराउने, निर्देशन दिने, समसामयिक विषयमा छलफल गर्ने, जनताको समस्या, गुनासोहरुमा जनताको ध्यानाकर्षण गराउने लगायत थुप्रै तरिकाले संसद सरहकै कामहरु समितिले गर्न सक्छ । ति कामहरु गरिरहेको पनि छ ।’

सभापति पन्थले अधिवेशन अन्त्य भएको बेलामा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा पनि केन्द्रित हुने गरेका बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?