श्रमिक संघ, संगठन सरकारप्रति आक्रोशित

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । श्रमिक संघ, संगठनहरुले जलवायु परिवर्तनसम्बन्धि छलफलमा सहभागी नगराएको उल्लेख गर्दै सरकारप्रति असन्तुष्टि जनाएका छन् ।

नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेस (एनटियुसी), एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)लगायतका सरोकारवाला संघ, संगठनहरुले जलवायु परिवर्तनका लागि श्रमिकहरु सबैभन्दा धेरै मारमा पर्दा पनि उनीहरुको समस्या समाधानका निम्ति छलफलमा समेत सहभागी नगराइएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

शनिवार ललितपुरमा आयोजित सरोकारवालाहरुसँगको छलफलमा बोल्दै सत्तारुढ काँग्रेस निकट एनटियुसीका अध्यक्ष योगेन्द्रकुमार कुँवरले जलवायु परिवर्तनले ल्याउने विपद् न्युनिकरणका लागि श्रमिकहरुको एजेण्डा अघि बढाउनका लागि सरकारसँग घनिभुत छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनको मारमा परेका श्रमिकहरुको एजेण्डालाई अघि बढाउनुपर्नेमा सरकार एक्लै हिँड्न खोजेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

अध्यक्ष कुँवरले भन्नुभयो, ‘हामी कोप २८ मा आफ्नो एजेण्डाहरु तय गर्नका लागि सरकारलाई फोर्सफुल्ली दबाब दिने कि नदिने ? श्रमिकको एजेण्डालाई पनि सरकारको एजेण्डा बनाउन किन कोशिस नगर्ने ? यो कोणबाट पनि हेर्नु प¥यो । हामीले खाली कार्यक्रमका लागि कार्यक्रम मात्रे हेरेर भएन । सरकारलाई नै यस विषयमा दबाब दिनुप¥यो । मलाई लाग्छ–पोलिसीमा समस्याहरु छैन । हाम्रो समस्या एक्सनमा हो ।’

एमाले निकट जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले सरकारले आफूहरुलाई जलवायु परिवर्तन सम्बन्धि छलफलमा सहभागी समेत नगराइएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले जलवायु परिवर्तनको अवसर न्युनिकरणका लागि जनताको घरदैलोमा चेतना फैल्याउने काम पनि श्रमिक संघ, संगठनहरुले नै गर्नुपर्ने अवस्था आएको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अहिलेसम्म बनेका जुनसुकैको सरकार भएपनि श्रम एजेण्डालाई बोक्न सकेको छैन भन्ने हाम्रो मान्यता हो । हामीले श्रम मन्त्रालयमार्फत प्रयत्न ग¥यौं, वन मन्त्रालयमार्फत प्रयत्न ग¥यौैं । सरकार धेरै निकायहरुका घच्घच्यायौं । तर पनि माग पेस गर्दा वा ज्ञापन पत्र दिँदा एकदम उत्साहित बनाउने काम गर्छन् । व्यवहारमा केही पनि हुँदैन । भर्खरै हामीले मिडियामार्फत सुन्यौ–एउटा ठूलो होटलमा छलफल भयो, त्यहाँ पनि हामीलाईं उपेक्षा गरियो । हामीलाई निम्तो गरिएन । ठिक छ । निम्तो नगरीकन पनि हाम्रा मुद्दाहरु उठेको भए सहज ढंगले लिईन्थ्यो होला । तर उपेक्षित मानिसहरुलाई कसले टेर्ने भन्ने हिसावले हामीले त्यो रुपमा लियौं । त्यसकारणले अब त्यसको लागि रोइकराई भन्ने भन्दा पनि हाम्रो तर्फबाटनै आफ्नो काम गर्नुपर्छ । अरुको आलोचना गर्ने भन्दा पनि हामी आफैँले केही गर्नुपर्छ भन्ने मान्यताका साथ हामी अगाडि बढ्यौं । त्यसै कारण आज हामीले आधा दिनको कार्यक्रम राख्यौं । जलवायु परिवर्तनको एजेण्डा, श्रमिकहरुको एजेण्डालाई अव हामीले जनताको तहमा पु¥याउन चाहन्छौं । नीतिगत तहमा मात्रै सीमित रहिरहेको अवस्थामा अव यसलाई हामी जनजनमा पु¥याएर जनताले आफ्नो सानो काममा सुधार गर्दा पनि कसरी यसको न्युनिकरण गर्न सकिन्छ ?’

यता, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)का अध्यक्ष जगतबहादुर सिंखडाले जलवायु परिवर्तनबारे श्रमिकहरुको एजेण्डा जलवायु परिवर्तन सम्बन्धि राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा स्थापित गराउनका लागि सरकारसँग छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले सरकार श्रमिक र राजगारदाताबीच घनिभुत छलफल भएर मात्रै जलवायु परिवर्तनले श्रमिकहरुमा आएको समस्या समाधान गरेर अघि बढ्न सकिने पनि बताउनु भयो ।

अध्यक्ष सिंखडाले भन्नुभयो, ‘सरकार एकलौटी दौडिन्छ कहिलेकाहीँ टाप लगाएको घोडा जसरी । अब यसमा रोजगारदातालाई धेरै सरोकार छैन । कसरी पैसा कमाउने भन्ने मात्रै चासो देखिन्छ । जलवायु परिवर्तनले धनी, गरिव सबैलाई हान्दो रहेछ । भुकम्प आउँदा सबै एउटै छानामुनि बस्नुप¥यो । यसले सरकार, उद्योगपति, गरिव सबैलाई छोड्दो रहेनछ । यो विषयमा सरकार, श्रमिक र रोजगार दाता भएर अगाडि बढ्नुपर्ने जस्तो देखिन्छ ।’

अध्यक्ष सिंखडाले विपद्ले सबैलाई समस्यामा पार्ने भएकाले मिलेर ती समस्या समाधानका लागि अघि बढ्नुपर्ने पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?