पश्चिम म्याग्दीका महिलाको आम्दानी स्रोत बन्दै आलु र कोदो

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । मंसिर महिनाको चिसो सिरेठोबाट बच्न टाउकोमा बाख्लो ऊनको टोपी र शरिरमा पछ्यौरी बेरेर हिउँदे आलु लगाउन व्यस्त छन् पश्चिम म्याग्दीको ग्रामीण भेगका महिलाहरु । भर्खरै चाडपर्व मनाएर, धान र कोदो थन्काएका यहाँका महिलाहरुलाई खेतबारी खनजोत गर्ने र आलु लगाउने हतारो छ ।

पश्चिम म्याग्दीको रणबाङ,बाबियाचौर,दरबाङदेखि लिएर निस्कोट,देविस्थान,रुम लगाएतका गाउँको वातावरणमा हेमन्त ऋतुको रौनक छाएको छ । सफा मौसमसँगै यस क्षेत्रका महिलाहरु कोही भर्खरै थन्काएको कोदो केलाउन,सुकाउन र विक्री गर्न व्यस्त छन् भने कोही हिउँदे आलु लगाउन खेतबारीमा पौरख गरिरहेका भेटिन्छन् ।

पश्चिम म्याग्दीका ग्रामीण महिलाहरुको आम्दानीको मुख्य माध्यम भनेको कोदो र आलु हो । वैदेशिक रोजगार,सहर केन्द्रित बसाइँसराइ र अध्ययन वा व्यापार व्यवसाय आदि कारणले गर्दा गाउँ वस्तीहरु युवा विहीन बन्दै गएपछि यहाँको सामाजिक,सांस्कृतिक र आर्थिक क्षेत्र गाउँमा रहेका महिलाहरुकै कारण धानिएको मालिका गाउँपालिका वडा नं ६ दरबाङ बजारका बुद्धिजीवि एवम् पूर्व जनप्रतिनिधि सन्तोष सुवेदीले बताउनुभयो ।

“पछिल्लो समय ग्रामीण क्षेत्रका महिलाहरु स्वरोजगारतर्फ उन्मूख हुँदै गएका छन्,कुनै सीप,इलम वा व्यवसाय नगरीकन गाउँमा महिलाहरु त्यसै बसेका भेट्न सकिदैन” सुवेदीले भन्नुभयो “यस क्षेत्रका महिलाहरु विशेष गरी व्यवसायिक कृषिमा रमाउन थालेका छन्,त्यसमा पनि आलु खेती र कोदोबाट मनग्गे आम्दानी हुने भएपछि यही खेतीमा उनीहरुको रस बसेको छ ।”

पश्चिम म्याग्दीको लेकाली क्षेत्रहरुमा उत्पादन भएको आलु स्वादिष्ट र पोषिलो हुने भएकोले यहाँ उत्पाादित आलुलाई बजारको अभाव छैन । मालिका गाउँपालिका वडा नं २ रुमकी टीका कुमारी विकले यस वर्ष आलु (बर्खेआलु) विक्री गरेर रु ३२ हजार आम्दानी भएको बताउनुभयो । विकले आलु मात्रै होइन विगतका वर्षहरुमा बाँझै छोडेको बारीमा अहिले कोदो खेती गर्नुभयो ।चार वर्ष बाँझिएको जग्गालाई खनजोत गरी मल हालेर रु चार हजार खर्च गरी कोदो रोप्नुभएकी उहाँले सात मुरी कोदो उत्पादन भएको बताउनुभयो । “कोदोको लागि अहिलेदेखि नै सहर बजारबाट अर्डर आइसकेको छ,भकारीमा नथन्क्याउँदै खरिदका लागि ग्राहक आएका छन्” उहाँले भन्नुभयो ।
त्यसै गरी ओखरबोट र देविस्थानमा पनि पछिल्लो समय आलु र कोदो खेती विस्तार भएको छ । गत वर्ष चार मुरी कोदो र आलु विक्री गरेर रु २२ हजार आम्दानी गर्नुभएकी मालिका गाउँपालिका ५की सुकमती बूढाले यस वर्ष आलु विक्री गरेर मात्रै रु १७ हजार भन्दा बढी आम्दानी भएको बताउनुभयो ।

यहाँ उत्पादित आलु प्रतिपाथी रु एक सय पचासदेखि रु दुई सयसम्ममा विक्री हुँदै आएको छ । मालिका गाउँपालिकाका सात वटै वडामा व्यवासायिक रुपमा आलुखेती गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

एकल र समुहगत रुपमा यहाँका महिलाहरुले आलुखेती गरेर मनग्गै आम्दानी गर्न सफल भएका दरबाङका टिकावहादुर सिउथानीले बताउनुभयो ।

आलुसँगै पछिल्लो सयम मालिका गाउँपालिकाका महिलाहरु कोदो उत्पादनतर्फ पनि आकर्षित भएका छन् । सहरबजारबाट कोदोको माग आउन थालेपछि वर्षौदेखि बाँझो रहेको जग्गामा कोदो खेती विस्तार गरिएको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवि घर्ती मगरले बताउनुभयो ।

“कोदो घरेलु मदिरा उत्पादन र सहरबजारमा खानाका लागि प्रयोग हुँदै आएको छ । पछिल्लो समय सहरबजारबाट कोदोको माग अत्यधिक हुन थालेपछि यहाँका किसानहरुले भनेको मूल्य पाएका छन् ” उपाध्यक्ष मगरले भन्नुभयो “गाउँपालिकाले पनि कोदो खेतीलाई प्रोत्साहित गरेको छ, कोदोको मदिालाई ब्राण्डिङगरी बजारीकरणका लागि पनि छलफल भइरहेको छ ।”

आफूले उत्पादन गरेको कृषि उपजले बजार पाए पछि यहाँका किसानहरु पनि खुसी भएका मालिका गाउँपालिका वडा नं १ निस्कोटका वडाअध्यक्ष टंकप्रसाद पुनले बताउनुभयो । महिलाहरु आम्दानीसँग जोडिए पछि गाउँको आर्थिक अवस्था पनि सबल बन्दै गएको स्थानीय जनप्रतिनिधिहरुको भनाइरहेको छ । त्यसका साथसाथै स्थानीय महिलाहरुले वन पैदावरबाट पनि मनग्गे लाभ लिँदै आइरहेका वडाअध्यक्ष पुनले बताउनुभयो । बनमा पाइने रातो च्याउ, जंगलीफलफूल लगाएतका चिजहरुबाट पनि यहाँका महिलाहरु आम्दानी गर्दै आइरहेका उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?