सडक र वस्तीका कारण निस्कोट बराहा तालको पर्यावरण र सिमसार क्षेत्र नासिँदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 11 mins

म्याग्दी । भिरोलो जमिनमा पूर्वतर्फ मोहोडा भएको गाउँ हो निस्कोट । दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदी माथि बनेको पक्की पुल तरेपछि सुरु हुने निस्कोट गाउँ म्याग्दीको मालिका गाउँपालिका वडा नं १ मा पर्छ ।

पुल तरेपछि ठाडै उकालो मोटरबाटोबाट सवारी साधनमार्फत डेढ घण्टामा निस्कोट गाउँको शिरानमा रहेको आर्कषक बराहा तालमा पुगिन्छ । यो तालमा धौलागिरि र निलगिरि हिमालको छायाँ स्पष्टै देखिन्छ । प्रशस्तै मिथक र किंवदन्ती रहेको यो ताल प्राकृति सुन्दरताले युक्त हुनुका साथै जैविक विविधता र सिमसार महत्वले समेत महत्वपूर्ण रहेको छ ।

समुद्री सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा अवस्थित बराह तालको सिमसार क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । तालदेखि करिव ७० मिटरको दुरीमा पूर्वतर्फ वस्ती विस्तार हुँदा तालको मौलिक स्वरुप नासिदै गएको छ । तालको सिरानमा रहेको जंगल हुँदै मोटरबाटो खनेपछि माथिबाट बगेर आउने गेगर र माटोले ताल पुरिनुका साथै यहाँको सिमसार क्षेत्र नासिदै गएको स्थानीय ज्ञानेस पुन मगरले बताउनुभयो ।
प्राकृतिकरुपमा बनेको यो तालको भू बनोट देख्नेहरुलाई अचम्मै बनाइदिने खालको छ । पहाडको टुप्पोमा रहेको यस तालमा विहानी पख धवलागिरि र निलगिरि हिमालको छायाँ ऐना हेरेजस्तै स्पष्टै देख्न सकिन्छ । यहाँबाट क्षितिज (आकाश र धर्ती जोडिएजस्तो देखिने ठाउँ) मा देखिन्छ हिमाल । गाउँको सिरानमा र जङ्गलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहोर हुँदैन । यहाँ जङ्गलका पात पतिङ्गर परिहाले भने पनि पन्छीले चुच्चोले टिपेर बाहिर फ्याँक्ने गर्दथे । तर पछिल्ला चार वर्षयता यहाँका रैथाने चराहरु देखिन छोडेका र ताल सफा गर्ने चराहरु पनि कम हुँदै गएका निस्कोट माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम् स्थानीयवासी बुद्धिबहादुर पुनले बताउनुभयो ।

“ताल वरपरको क्षेत्रमा वस्ती विस्तार हुँदा यस तालको अस्तित्व नै संकटमा परेको छ, सार्वजनिक जग्गामा यहाँका केही स्थानीयले अतिक्रमण गरी घर बनाएर वस्न थालेपछि तालमा फोहोर बढ्नुको साथै तालको क्षेत्र पनि साँघुरिदै गएको हो” स्थानीय प्रताप पुनले भन्नुभयो “तालको सिरान र जंगलमा घुम्ती नै घुम्ती बनाएर मोटरबाटो बनेपछि यस तालको सिमसार क्षेत्र पनि नासिएको छ,चिस्यान घटेको छ । यहाँका चराहरु देखिन छोडेका छन् । यही अवस्था रहिरहेमा यो तालको अस्तित्व नै खतरामा छ ।”

“कुनै फोहोर वा जंगलका रुखहरुबाट झरेर पातहरु यो तालमा परेमा चराले सफा गर्ने गर्दथे । तर पछिल्लो समय यातायातका साधनहरुको पहुँचसँगै मानिसहरुको भीडभाड बढेपछि यहाँ पाइने चराहरु बसाइँ सरेर अन्यत्र गएका छन्” पुनले भन्नुभयो ।

“आँखै अगाडी हिमाल । तालमा तिनै हिमालको छायाँ लोभलाग्दो दृश्य हेर्न पाइन्छ यहाँ” तालको अवलोकनका लागि पहिलो पटक निस्कोटमा आउनुभएका पर्वत कुश्माका बलराम श्रेष्ठले भन्नुभयो “बराह तालको जैविक विविधता र सिमसार संरक्षणका लागि स्थानीय तहको ध्यान जान आवश्यक छ ।”

रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ताकर्षक बराह तालमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको भीड लाग्ने गरेको स्थानीय हेमस्टे (घरवास) संचालिका रामकुमारी पुनले बताउनुभयो ।

झण्डै दुई रोपनीको क्षेत्रफलमा फैलिएको यो तालबाट मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालको लर्कन देखिन्छन् । बराह तालमा पुगेका पर्यटकहरु यहाँको प्राकृतिक सुन्दरता र जैविक विविधतामा रमाउने गर्दछन् । यो ताल एक सय १३ मिटर लम्बाई,६५ मिटर चौडाइमा फैलिएको छ । वर्खाको समयमा करिव २० मिटर गहिराइ हुने यो ताल हिउँदको समयमा भने पानीको सतह घटदा ८देखि १० मिटर गहिराइमा रहने पुनले जानकारी दिनुभयो ।

बराह ताल क्षेत्रबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गुर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, माना पाथीलगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृश्यको प्रत्यक्षरुपमा अवलोकन गर्न सकिन्छ । बराह तालमा वन जङ्गल र हिमाल देखिने प्रतिविम्ब (छाया) समेत आकर्षकरूपमा देखिने गर्दछ ।

हिमालको वरिपरि लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ । पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृष्यले त्यहाँ पुग्नेलाई अचम्मित बनाउँछ ।

निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराह तालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमिमा पारेर फोटो र सेल्फी खिच्न भनेर त्यहाँ जाने गरेका छन् । वन जङ्गलको बिच भागमा ताल रहे पनि त्यसमा कुनै पातपतिङ्गर हुँदैनन् । पातपतिङ्गर परेमा चराले सफा गर्ने गरेको स्थानीयको भनाइरहेको छ ।

बराह तालमा बिहान सबेरै दुईवटा जलहाँस जलक्रिडा गर्न आउने गरेको स्थानीयवासीले अनुभव सुनाउँछन् । तर पछिल्लो समय ती जलहाँसहरु देखिन छोडेको उनीहरुको भनाइ छ । छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्वको तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ । निस्कोट गाउँको डाँडाबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँको आकर्षक दृश्य देखिन्छन् । निस्कोट गाउँ पर्यटनका साथसाथै कला र संस्कृतिमा पनि धनी छ । मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख यानीमाया, सुनीमाया, सालैजोजस्ता गीतहरु सुन्न पाइन्छ । बराह ताल र निस्कोट गाउँको सुन्दरताले पर्यटकको मन लोभ्याइरहन्छ ।

बराह ताल मुख्य आकर्षणको रुपमा रहेको निस्कोटमा पछिल्लो समय स्वदेशी पर्यटक भ्रमण गर्नका लागि पुग्ने गरेका छन् । बराह तालको पर्यटन प्रवर्द्धन गर्नका लागि यहाँको जैविक विविधताको संरक्षण गरी पर्यावरणीय शुद्धता कायम गर्न पालिकामार्फत आवश्यक पहल गरिने मालिका गाउँपालिका १ निस्कोटका वडाध्यक्ष टंकप्रसाद पुनले बताउनुभयो ।

अध्यक्ष पुनका अनुसार मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि दक्षिण भागमा पर्ने निस्कोट गाउँको सीमाना म्याग्दीको मंगला गाउँपालिका र बागलुङ जिल्लासँग जोडिएको छ । निस्कोटको पहिचान बोकेको बराहा तालको संरक्षणका लागि गण्डकी प्रदेश सरकारबाट प्राप्त रु चार लाख बजेटले ताल वरिपरि पर्खाल लगाइएको छ । यहाँको सीमसार क्षेत्र संरक्षणका लागि पालिकाले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

कुल १७.३ वर्ग कि.मी मा फैलिएको निस्कोटमा जम्मा १९ सय ९४ जनसंख्या रहेको छ । जसमध्य महिलाको संख्या एकहजार २६ र पुरुष नौ सय ६८ रहेको उहाँले जानकारी दिनुभयो । निस्कोटमा मकै, कोदो, गउँ, जौँ, राम्रो हुन्छ । यहाँ पुग्ने पर्यटकलाई घरवास सेवा उपलव्ध छ । यहाँ स्थानीय उत्पादनका खानाका परिकार दिइन्छ । विशेषगरी श्रावण महिनामा निस्कोटमा रहेको बराह तालको दृृष्य निकै नै रमणीय देखिने वडाअध्यक्ष पुनले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?