पर्यटन प्रवर्द्धन गर्न प्रथम फालेलुङ पर्यटन महोत्सव हुँदै

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 3 mins

पाँचथर । सिमापार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाँचथरको फालेलुङ गाँउपालिका-४ थाप्लिटारस्थित सिर्लिङ्गेमा ‘प्रथम फालेलुङ पर्यटन महोत्सव २०८०’ संचालन हुने भएको छ ।

महोत्सवका लागि नेपाल भारतको सिमा छुट्याएको एक नम्बर जंगे पिलर रहेको तीनसिमाना नजिकैको स्थान छानिएको हो ।

सिमापार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सिमाक्षेत्रमा महोत्सवको तयारी गरिएको आयोजक तीनसिमाना जन सेवा समाज नेपालले बुधबार फिदिममा पत्रकार सम्मेलन गरी जनाएको हो । मंसिर २५ गतेदेखि तीन दिनसम्म महोत्सव सञ्चालन गर्ने तयारी छ ।

‘प्राकृतिक तथा जैविक विविधताबाट आर्थिक उपार्जन गरौँ, पर्यटन प्रवर्द्धन गरी फालेलुङलाई समृद्ध बनाऔँ’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको हो । तीन हजार तीन सय ३२ मिटरको उचाईमा आयोजना गर्न लागिएको महोत्सवमा आन्तरिक र बाह्य गरी पाँच हजार पर्यटकहरु सहभागी गराउने आयोजकको लक्ष्य रहेको समाजका अध्यक्ष योगेन्द्र सावदेन (लेन्जो) ले जानकारी दिनुभयो ।

पर्यटकीय स्थलहरुको प्रवर्द्धन र विकास गर्ने, जैविक तथा प्राकृतिक वस्तुहरुको प्रचार प्रसार गर्ने, आन्तरिक तथा बाह्य पर्यटनमा टेवा पुर्‍याउने, जातजाति, भाषा, धर्म तथा सँस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सवको तयारी गरिएको हो ।

महोत्सव स्थलबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने छ । यहाँबाट सगरमाथा, कुम्भकर्ण, कञ्चन्जंघालगायतका आठ वटा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । फालेलुङ गाँउपालिका प्रवर्द्धक रहेको महोत्सव सम्पन्न गर्न आठ लाख खर्च लाग्ने अनुमान छ ।

महोत्सवमा स्थानीय कला संस्कृति र झाँकीहरु प्रदर्शन गर्ने तयारी छ । त्यस्तै गरी चौँरीजन्य बस्तुहरुको स्टल र स्थानीय उत्पादनहरु महोत्सवमा प्रदर्शन गरिने सावदेनले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?